2026 November 27/ 08:01: 57pm

    धुलिखेल/प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण र स्वतन्त्र न्यायपालिकाको प्रत्याभूतिका लागि नेपाल पत्रकार महासंघ फेरी आन्दोलित भएको छ । बुधबार देशभरका पत्रकारहरु एकैसाथ आन्दोलित भए । जिल्ला प्रशासन कार्यालय अघि पत्रकारहरुले सामुहिक गिरफ्तारी दिने गरी ब्यानर बोकेर प्रर्दशन गरे । 
    धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा पत्रकारहरु आन्दोलनमा सहभागि भएका थिए । अध्यक्ष विनोद न्यौपानेले केन्द्रको घोषित आन्दोलनको कार्यक्रम अन्र्तगत विभिन्न चरणका आन्दोलन शुरु गरिएको बताए । आन्दोलनमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु, विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
    नेपाल पत्रकार महासंघले सरकारसँग विभिन्न १६ बुँदे माग अघि सारेको छ । महासंघको धुलिखेलमा आयोजना गरेको सरोकारवालासँगको सम्मेलन तथा बैठकले प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र सूचनाको हक संरक्षणका विषयमा गहन छलफल गर्दै १६ बुँदे प्रस्ताव पारित गरेको हो । बैठकमा महासंघका पदाधिकारी तथा पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायी, प्रेससँग सम्बन्धित संघ–संगठनका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता थियो । संविधान तथा प्रचलित कानुनले प्रत्याभूत गरेका मौलिक र कानुनी हक संकुचित, नियन्त्रित तथा निर्देशित हुँदै गएको भन्दै सरकारलाई संविधानको अक्षरशः पालना गर्न र गराउन माग गरेको छ ।
    महासंघले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गरेको छ । मिडिया काउन्सिल विधेयक तथा प्रस्तावित आमसञ्चार विधेयक सरोकारवालासँग व्यापक छलफल, परामर्श र सहमतिपछि मात्र विधायिकी प्रक्रियाबाट अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यममाथि सरकारी निर्देशनमा भइरहेको भनिएको गैरकानुनी हस्तक्षेप, निर्देशन र नियन्त्रण तत्काल बन्द गर्न पनि महासंघले माग गरेको छ ।
    पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, त्यसका लागि प्रेस काउन्सिल तथा प्रहरी प्रशासनमार्फत केरकार, धम्की र दबाब दिने कार्य रोक्नुपर्ने महासंघको माग छ । सम्मेलनले सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गराउने तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने कार्यको घोर निन्दा गरेको छ । त्यस्ता घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरिएको छ । समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने तथा मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार उपकरण नियन्त्रणमा लिने कार्यको अन्त्य गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। सञ्चार उपकरणमा रहेका तथ्याङ्क मेटाउने वा हटाउन बाध्य पार्ने सरकारी रवैयासमेत अन्त्य गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
    पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द वा संकुचित गर्ने कार्यप्रति विरोध जनाउँदै महासंघले त्यस्ता सुविधा निरन्तरता दिन माग गरेको छ । सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकार पुनर्बहाली गर्न माग गरेको छ । सरकारी स्वामित्वका सञ्चारमाध्यम गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारलाई बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएको भन्दै महासंघले उनीहरूलाई पुनर्बहाली गर्न माग गरेको छ ।
    प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमलाई संघीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै महासंघले प्रदेश संरचनामार्फत नै दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन माग गरेको छ । डिजिटल विभाजनको वर्तमान अवस्थामा निःशुल्क सूचना प्रवाह गरिरहेका एफएम रेडियोमाथि लगाइएको दोहोरो तथा तेहोरो कर प्रणाली अन्त्य गर्न पनि प्रस्ताव गरिएको छ । महासंघले संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावलीअनुसार सूचनाको हक कार्यान्वयनमा भूमिका निर्वाह गर्ने सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोमा आपत्ति जनाएको छ । सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
    त्यस्तै, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न, अदालतमाथिको राजनीतिक हस्तक्षेप तथा दबाब अन्त्य गर्न र संवैधानिक सर्वोच्चता कायम गर्न सरकारसँग माग गरिएको छ ।
    बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हननका विषयमा उपचारका लागि अदालत प्रवेश गर्ने न्यायका याचकका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा सुनुवाइमा ढिलाइ गर्ने कार्य रोक्न पनि महासंघले आग्रह गरेको छ । प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नहुने व्यवस्था भएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न बाध्य नहुने महासंघले घोषणा गरेको छ । त्यस्तो अवस्था आएमा महासंघ आफैँले आचारसंहिता जारी गरेर अघि बढ्ने प्रस्तावमा उल्लेख छ ।  विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता तथा निर्वाध र भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकार संरक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । सम्मेलनबाट पारित १६ बुँदे प्रस्तावमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको महासंघले जनाएको छ ।