धुलिखेल/धुलिखेल नगरपालिका स्थित देविस्थानमा नेपाल हच पियोनी बगैंचाको उद्घाटन गरिएको छ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान, मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत तथा अन्य प्रतिनिधिमण्डल, स्थानीय जनप्रतिनिधि, होटल ब्यवसायी संघका पदाधिकारीहरु तथा तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
सोहि अवसरमा दुबै देशका प्रतिनिधिहरुले बगैचा उद्घाटनको शिलालेख अनावरण गरेका थिए भने राजदुत लगायतका प्रतिनिधिहरुले पियोनीको विरुवा रोपण गरेका थिए । चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठानको एन्जल स्पेसल फन्डका उपमहासचिव तथा हेजे सिटीका प्रतिनिधि फेङ वेइजीले सम्बोधन गरेका थिए ।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङले दुई देश बीचको सम्वन्ध, पियोनी फुल र त्यसको महत्व तथा बगैचा निर्माणले दिने सुन्दरतका विषयमा धारणा राखेका थिए । कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलले पियोनी संस्कृतिसँग सम्बन्धित सांस्कृतिक तथा सिर्जनात्मक सामग्री उपहारस्वरूप प्रदान गरेका थिए ।
समारोहमा नेपाली बालबालिकाका लागि परोपकारी स्वास्थ्य सहायता कार्यक्रम पनि सार्वजनिक गरिएको थियो । शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठान र त्यसको एन्जल स्पेसल फन्डले उक्त कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचारको आवश्यकता भएका तीनदेखि पाँच जना बालबालिकालाई छनोट गरी चीनको शान्दोङ प्रान्तमा निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइने योजना रहेको छ । छनोट गरिएका बालबालिकालाई उपचारका लागि सन् २०२७ को अप्रिल महिनामा शान्दोङ लैजाने छ ।
सहभागीहरूले पियोनी फूलको चित्र बनाउने, परम्परागत कागज काट्ने कला सिक्ने तथा सुगन्धित साना झोलासम्बन्धी शैक्षिक प्रश्नोत्तरीमा सहभागी हुने अवसर पाउनेछन् । बगैँचामा सांस्कृतिक प्रदर्शन तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो । पियोनी संस्कृति तथा सिर्जनात्मक सामग्रीमा आधारित प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा पेओनी संस्कृतिसँग सम्बन्धित सामग्री तथा अन्य सांस्कृतिक वस्तुहरू प्रस्तुत गरिएको थियो ।
बगैचा अनावरण समारोहमा सांस्कृतिक कार्यक्रम, मित्रता उपहार आदानप्रदान, हस्तकला प्रदर्शनी तथा बालबालिकाका लागि स्वास्थ्य सहायता कार्यक्रम समेटिएको थियो । यसले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्थानीय समुदाय, विद्यार्थी तथा बालबालिकालाई प्रत्यक्ष लाभ पु¥याउने लक्ष्य राखेको छ । बगैचा निर्माणसँगै संरक्षण र त्यसको निरन्तरताका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने होटल ब्यवसायी संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । कार्यक्रममा नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले स्वागत गर्दै दुई देश र नगरपालिकासँगको सम्वन्धलाई अझै सृदृढ बनाउनु पर्ने बताएका थिए ।









