मकवानपुर जिल्लाको एउटा विकट पहाडी पालिकाजहाँ राज्यको उपस्थिति नागरिकता बनाउँदा र भत्ता बुझ्दा मात्र महसुस हुन्छ । त्यहीँ मेरो जन्म भयो । त्यो गाउँ नक्सामा त देखिन्थ्यो, तर नीति र कार्यक्रमहरू प्रायः कागजमै सीमित हुन्थे । सडकको पहुँच ढिलो आयो, स्वास्थ्य चौकीमा औषधि अपूरो हुन्थ्यो र महिलाको जीवन भने परम्परा र मौनताबीच अड्किएको थियो । त्यही मौनतामा हुर्केकी म सानैदेखि काम र जिम्मेवारीसँगै बढें ।
आमाले सिकाउनुभएको एउटा कुरा थियो । छोरी, दुःख लुकाउन होइन, सहेर अगाडि बढ्न सिक । त्यो शिक्षाले मलाई बलियो बनायो, तर समाजले महिलालाई बलियो बन्ने अवसर दिन्छ कि दायित्व मात्र थोपर्छ भन्ने प्रश्न सधैं मनमा घुमिरह्यो । विद्यालय टाढा थियो, नियमित पढाई सम्भव भएन तर लेखपढ गर्ने इच्छा भने कहिल्यै मरेन । युवावस्थामा परिवारको आर्थिक अवस्था कमजोर हुँदै गयो । कृषि उत्पादनले वर्षभरि धान्दैनथ्यो । यही बाध्यताले मलाई रोजगारीको खोजीमा काठमाडौँ पु¥यायो । शहरमा आएपछि मैले थाहा पाएँ ग्रामीण महिला सस्तो श्रमको रूपमा मात्र देखिँदा रहेछन् । न्यून ज्याला, असुरक्षित काम र भविष्यविहीनता । त्यहीँ सिलाई–कटाई सिक्ने क्रममा उहाँसँग भेट भयो मेरो श्रीमान् । उहाँ पनि गाउँबाटै शहर छिर्नुभएको, सपना बोकेर ।
हाम्रो भेट प्रेमकथा मात्र थिएन, त्यो दुई संघर्षशील जीवनको सहयात्रा थियो । विवाहपछि रोजगारीका कारण हामी काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बसाइँ स¥यौं । पनौती सुगम थियो । विद्यालय नजिक, अस्पताल पुग्न सजिलो र स्थानीय सरकार पनि तुलनात्मक रूपमा सक्रिय । हामीले भविष्यका योजना बुन्दै थियौं । दुई सन्तान जन्मिए छोरा र छोरी । त्यो समय मेरो जीवनको सबैभन्दा स्थिर चरण थियो । तर स्थीरता दीर्घकालीन हुँदैन रहेछ । श्रीमान्को स्वास्थ्यमा समस्या देखिन थाल्यो । सुरुमा सामान्य ज्वरो, थकान र तौल घट्नु । सरकारी अस्पतालमा जाँच गरियो । प्रारम्भिक चरणमै रोग पहिचान हुन सकेन । यो हाम्रो मात्र होइन, देशकै स्वास्थ्य प्रणालीको साझा कमजोरी हो । प्राथमिक तहमा क्यान्सर जस्ता जटिल रोग पहिचान गर्ने क्षमता अझै कमजोर । पछि रिपोर्ट आयो–क्यान्सर। त्यो शब्दले हाम्रो घरको भित्तामा ठोक्किएर प्रतिध्वनि बनायो। उपचारका लागि काठमाडौंका सरकारी अस्पताल धायौं । सरकारको क्यान्सर उपचार सहयोग कार्यक्रमबारे थाहा पाइयो तर प्रक्रिया जटिल थियो । सिफारिस, कागजात । स्वास्थ्य बीमा कार्यक्रममा हामी आबद्ध थियौं, तर सबै खर्च कभर भएन । निजी औषधि, परीक्षण र यात्राको खर्चले हामीलाई ऋणको दलदलमा धकेल्यो ।
उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । भाग्य भनौ वा दैवको लिला । उहाँ जागिर छाडेको एक महिना पछि विरामी हुनुभयो । अब श्रीमान्को पनि जागिर सकियो । श्रीमान् श्रीमती सहित परिवारसँगै बस्ने रहर थियो । गाउँमा रहनु भएका बुबा आमालाई पनि शहरमा ल्याउने योजना थियो । ४ आना जग्गा जागिरको पैसामा ऋण थप गरेर खरिद गरेका थियौं । उहाँको उपचारका क्रममा त्यो सबै सकियो । बच्चाहरुका लागि भए पनि भाडामा बसेर भए पनि पढाउनु मेरो कर्तब्य हो । सायद नेपाली सेनामा राष्ट्रियता सहितको नेपालीपन छ । मेरो श्रीमान् विरामी भएको सुन्ने वित्तिक्कै नेपाली सेनाको अस्पतालले उपचारमा पूर्ण सहयोग ग¥यो । उहाँहरुको अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा अन्यत्र लैजानुपर्ने बाध्यता थियो । तर पनि उहाँहरुको सहजीकरण र ब्यवस्थापकीय समन्वयले जीवनमा मैले श्रीमान् त गुमाएँ तर उहाँले विताउनु भएको उर्जाशील समयको संगठन कमाउन पुगें । त्यहि संगठनको साथ र सहयोग जीवन बाँच्ने अर्काे आधार खडा भयो ।
केमोथेरापीका दिनहरू केबल उपचारका दिन थिएनन्, ती राज्यको क्षमता र सीमाको परीक्षा पनि थिए । डाक्टरहरू समर्पित थिए तर भीड अत्याधिक । म एउटी श्रीमती मात्र होइन, केयरगिभर, कागजात बोकेकी सेवाग्राही र दुई सन्तानकी आमा थिएँ । अन्ततः क्यान्सरले उहाँलाई अल्पायूमा नै हामीबाट खोस्यो । त्यो क्षण केवल पारिवारिक क्षति थिएन, त्यो आर्थिक, सामाजिक र मनोवैज्ञानिक पतनको सुरुवात थियो । म विधवा बनेँ एक शब्द जसले समाजमा पहिचानभन्दा बढी पूर्वाग्रह बोकेको हुन्छ । उपचार गर्दा लागेको खर्चको ऋण, उहाँले अल्पायुमा नै छाडेर जानु भएको असिम प्रेम र सद्भाव, दुई सन्तानको दायित्व केवल सामान्य लाग्ला तर असिमित थिए । श्रीमान्को निधनपछि सामाजिक अवरोधहरू प्रस्ट देखिए । काम खोज्दा भरोसा गरिएन । केहीले सहानुभूतिका नाममा निर्णय थोपरे । अब तिमी एक्ली, गाउँ फर्कतर म पनौतीमै बस्ने निर्णयमा अडिग रहेँ, किनकि यहाँ बच्चाहरूको भविष्य थियो ।
सबै मान्छे राम्रा पनि हुँदैनन् । केहि नराम्रा मान्छेहरुको दुर्वचनले जीवन बाँच्ने आधार बन्दो रहेछ । मान्छेको सहि गति र मति पनि त्यसकारण हुँदो रहेछ । शत्रुहरुले हरेक पाईलामा आलोचना गर्थे । एक्ली, पोई टोकुवा, जोसँग पनि अब विवाह गरेर जान सक्छे । दुई सन्तानको विचल्ली पो हुन्छ कि ? यस्ता कयन भनाईहरु मैले खेप्नु परेको थियो । काम परेर सँगै कोहि पुरुषसँग हिड्दा पनि आरोप लगाउने, कोहिसँग बोल्यो भने पोईल गएकै जस्तै गरी हल्ला गर्ने । अचम्मको समाज रहेछ । गणतन्त्र आओस् कि अरु कुनै तन्त्र मान्छेको सोचमा भने परिवर्तन नहुँदासम्म संकट नै रहेछ । झन् अहिलेको खुल्ला अवस्थामा मान्छेका ब्यक्तिगत चाहना, स्वतन्त्रता भन्दा पनि त्यहि पुरानै कुरीती कु–सँस्कारले डेरा जमाईरहेको छ ।
स्थानीय सरकारको ढोका ढकढक्याएँ । एकल महिला परिचयपत्र बन्यो । सामाजिक सुरक्षा भत्ता सुरु भयो । सन्तानका लागि छात्रवृत्ति प्राप्त भयो । यी कार्यक्रमहरूले मेरो जीवन फेरिदिएनन्, तर बाँच्ने आधार दिए । यही नै कल्याणकारी राज्यको न्यूनतम अर्थ होपूर्ण समाधान होइन, तर सहारा । आर्थिक आत्मनिर्भरता बिना सम्मान सम्भव छैन भन्ने बुझेर म फेरि काममा फर्किएँ । सीपमूलक तालिम, सहकारी ऋण र महिला उद्यम कार्यक्रम । यी सबै सरकारी तथा अर्धसरकारी संरचनासँग जोडिएँ । सानो टेलरिङ्ग पसल खोलें । आज त्यो पसल केबल आम्दानीको स्रोत होइन, महिलाहरूको भेटघाट र सशक्तीकरणको केन्द्र बनेको छ । बच्चाहरूलाई मैले पीडालाई पाठ बनाइदिएँ । सरकारी विद्यालयको गुणस्तर सुधार कार्यक्रम, छात्रवृत्तिर शिक्षकहरूको साथले उनीहरू अघि बढिरहेका छन् । छोरीले भन्छे आमा, म ठूली भएर डाक्टर बन्छु । म सोच्दछु यदि राज्यले स्वास्थ्य प्रणाली बलियो बनाएको भए, सायद उसले बुबा गुमाउनु पर्दैनथ्यो । म आफ्नो कथा सार्वजनिक रूपमा भन्न थालेकी छु । महिला समूह, वडास्तरीय सभार सहकारी बैठकहरूमा । केवल म पीडित होइन, सरोकारवाला हुँ । क्यान्सर उपचारको विकेन्द्रीकरण, स्वास्थ्य बीमाको विस्तार, एकल महिलाका लागि सहज ऋण र सामाजिक पूर्वाग्रह विरुद्ध अभियान यी मेरा माग मात्र होइन, नीति सुझाव हुन् । मेरो भोगाईको पीडाको कथा व्यक्तिगत भए पनि यसको अर्थ सामूहिक छ । मकवानपुरको विकट गाउँदेखि पनौतीको सुगम बस्तिसम्मको यो यात्रा राज्य, समाज, र महिलाको साझा परीक्षा हो । पीडाबाट पुनर्निर्माण सम्भव छ, तर त्यसका लागि भावनासँगै नीति पनि चाहिन्छ ।
नेपालको संविधानले महिलालाई समान अधिकार दिएको छ । सामाजिक सुरक्षा ऐन, स्वास्थ्य बीमा कार्यक्रम, क्यान्सर उपचार सहयोग कोष, एकल महिला भत्ता, बालबालिकाका लागि छात्रवृत्ति । यी सबै कागजमा हेर्दा प्रगतिशील देखिन्छन् । तर यी नीतिहरू एउटा महिलाको जीवनमा कति सहज रूपमा पुग्छन् भन्ने प्रश्न अझै उत्तरको खोजीमा छ । श्रीमानको निधनपछि म अचानक ‘घरमूली’ बनेँ। तर घरमूली हुनु अधिकारभन्दा बढी जिम्मेवारी बन्यो । घरधुरी करदेखि विद्यालयको अभिभावक बैठकसम्म, समाजले मलाई शंकाको आँखाले हेथ्र्यो। विधवापन केवल व्यक्तिगत पीडा होइन, सामाजिक वर्गीकरण रहेछ । क्यान्सर उपचारका क्रममा मैले सरकारी स्वास्थ्य संरचनाको दुई अनुहार देखें । एकातिर, समर्पित चिकित्सक र स्वास्थ्यकर्मी; अर्कोतिर, भीड, ढिलाइ र स्रोतको अभाव । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भए पनि सबै खर्च धान्न सक्ने अवस्था थिएन । क्यान्सरजस्तो दीर्घरोगका लागि बीमाको सीमा अपर्याप्त देखियो । प्राथमिक तहमा समयमै परीक्षण, प्रदेशस्तरमै क्यान्सर उपचार केन्द्र, र औषधिको निरन्तर उपलब्धता भएको भएसायद परिणाम फरक हुन सक्थ्यो । यो केवल एउटा परिवारको कथा होइन, हजारौँ नेपालीको यथार्थ हो ।
श्रीमान्को निधनपछि मैले पहिलोपटक स्थानीय सरकारलाई नागरिकको आँखाले नियालें । वडा कार्यालय, सामाजिक शाखा, महिला तथा बालबालिका इकाई यी सबै संरचनाहरू उपयोगी त रहेछन्, तर सीमित । एकल महिला परिचयपत्र पाएपछि सामाजिक सुरक्षा भत्ता सुरु भयो । सन्तानका लागि छात्रवृत्ति आयो । यी राहत थिए, समाधान होइनन् । भत्ता जीवन धान्न पुग्दैन, तर आत्मसम्मान जोगाउन मद्दत गर्छ । स्थानीय सरकारले सीपमूलक तालिम र सहकारीमार्फत ऋणको पहुँच दिएको थियो । यही संरचनाको सदुपयोग गर्दै मैले आत्मनिर्भरता तर्फ पाइला चालें ।
सिलाई–कटाई मेरो सीप थियो, तर उद्यम बनाउने आत्मविश्वास थिएन । सहकारीको वित्तीय साक्षरता तालिमले त्यो आत्मविश्वास दियो । सानो ऋण, स्थानीय बजार, र महिलाबीचको सहकार्य यी नै आधारमा टेलरिङ्ग पसल सञ्चालनमा आयो । आज त्यो पसल केवल आम्दानीको स्रोत होइन, महिलाहरूको सुरक्षित स्थान बनेको छ । यहाँ दुःख साटिन्छ, सीप सिकाइन्छ, र भविष्यका योजना बुनिन्छन् । छोराछोरीको भविष्य मेरो सबैभन्दा ठूलो चिन्ता हो । सरकारी विद्यालयको गुणस्तर सुधार कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्तिले राहत दिएको छ । तर मनमा प्रश्न उठ्छ यदि स्वास्थ्य प्रणाली बलियो भएको भए, उनीहरूले बुबा गुमाउनुपर्ने थियो ? छोरीको सपना छ—डाक्टर बन्ने । त्यो सपना केवल व्यक्तिगत आकांक्षा होइन, राज्यप्रतिको प्रश्न हो । के राज्यले उनलाई त्यस्तो बन्ने अवसर दिन सक्छ ?
फेरी म विगत पुग्न खोज्छु । क्यान्सर उपचारको विकेन्द्रीकरण र बीमा कभरेज विस्तार, एकल महिलाका लागि सहुलियत ऋण र उद्यम सहायता, सामाजिक सुरक्षा कार्यक्रमलाई जीवनयापनयोग्य बनाउने सुधार, स्वास्थ्य र सामाजिक सेवामा ‘केयरगिभर’ को पहिचान, सामाजिक पूर्वाग्रह विरुद्ध निरन्तर जनचेतना अभियान निरन्तर सञ्चालन हुनु आवश्यक छ । म आफूलाई अब पीडित मात्र ठान्दिनँ । म नीतिको प्रभाव र सीमाको साक्षी हुँ ।
रमा सुन्दास
पनौती, काभ्रे





