
ऊ खासै दुःखी त थिइनँ । तैपनि खै किन हो आफ्नो नामको पछाडि यही शब्द झुण्ड्याउन मन पराउँथी । मान्छे सानै भए पनि धेरै ठूला ठूला कुरा गर्न सिपालु थिई । पढाईमा पनि कहिल्यै ऊ तेस्रो भइनन्, प्रथम र द्वितीयमा नै उसको प्रतिस्पर्धा चलिरह्यो । सायद उपन्यास र पत्रपत्रिका अनि साथी सङ्गतको असरले होला कक्षा सातको अन्तिम परीक्षा दिनु भन्दा पहिले नै उसले प्रेमपत्र लेख्न जान्ने भएकी थिई । त्यतिबेला प्रेमका धेरै भावहरु पत्र मार्फत प्रकट हुन्थे । ऊ उमेशलाई असाध्यै मन पराउँथी । जीवनका हरेक सपना ऊ उमेश कै साथमा देख्थी । उमेश विनाको जीवन ऊ सपनामा पनि कल्पना गर्न सक्तिनथी । उमेशलाई एकदिन मात्र पनि नदेख्दा उसको जीउमा घाम लाग्दैनथ्यो । खै के के हराएको जस्तो हुन्थ्यो । उमेशको छायाँ देख्दा मात्र पनि ऊ यति धेरै फुरुङ्ग हुन्थी कि भोक तिर्खा सबथोक बिर्सिन्थी । उसका अङ्ग प्रत्यङ्ग रोमाञ्चित भएर कल्पनाको सागरमा पौडी खेलीरहेका हुन्थे । ऊ त्यही संसारमा हुन्थी, दुनियाँ विर्सन्थी । १२÷१३ वर्षे कलिलो उमेरदेखि नै उसको मनमा उमेशप्रतिको प्रेम अगाढ थियो ।
उमेश गाउँको सामान्य परिवारमा जन्मे हुर्केको एउटा सुन्दर, सुशील र मिलनसार किशोर थियो । कसैसँग झै–झगडा नगर्ने, चाहिएको कुरा मात्र बोल्ने र मीठो बोल्ने उस्का विषेशता नै थिए । को सँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान थियो उमेशलाई । उसको बोली बचन र बानी व्यहोराको विषयमा गाउँका ठूलाबडाहरू पनि चर्चा गर्थे । हुन त उमेश सानोतिनो बदमासी गर्दै नगरेको भने होइन तर उसका बदमासीहरू कसैले कहिल्यै चाल पाएनन् । पढाई सामान्य भएपनि गाउँका केटाहरू बीच टाठो बाठो गनिन्थ्यो । सोझो अर्थमा भन्नुपर्दा ऊ कहिल्यै कसैको आँखामा बिझाएन । ऊ त्यतिबेला कक्षा सातमा पढ्दै थिई जब उमेशलाई पहिलो प्रेम पत्र लेखेकी थिई र साथी योगेशलाई पु¥याउन लगाएकी थिई । साँझपख थामबारीमा बसेर उमेशले उक्त पत्र पढ्यो । उसलाई के गरुँ के नगरुँ जस्तो भयो । त्यतिबेला स्कुलतिर एक किसिमको प्रेमपत्र लेख्ने लहर नै चलेको थियो । अनि कसको लभ को सँग प¥या छ, थाहा नपाउने पनि कमै हुन्थे । उमेशलाई किन किन यो कुरा उचित लागेन । पत्रवाला योगेशलाई अब देखि यसो नगर्नु रे भन्देस् भन्दै चिठी च्यातेर फाल्यो ।
उमेश र ऊ एउटै गाउँका भएको हुनाले दिनहुँजसो भेटघाट भइ नै रहन्थ्यो । चाडपर्व आउँदा गाउँमा हुने साँस्कृतिक कार्यक्रमहरूका नायक नायिका नै थिए उनीहरू । तिहारमा देउसी भैलो खेल्दा रात बिरात गाउँका अप्ठ्यारा बाटाहरू र खाल्डा खाल्डीमा उमेशले नै उसको हात समाएर लड्नबाट जोगाउँथ्यो । उमेशले उसको हर कुरामा साथ र सहयोग दिन्थ्यो । उसका आमा बाबुले पनि उमेशलाई धेरै माया र विश्वास गर्थे । सायद उमेश सँगैको उनीहरूको अभागी छोराको झझल्को उमेशको अनुहारमा देख्ने कोशिस गर्थे उनीहरू । घरमा परिआएको सानोतिनो समस्याहरू पनि उनीहरू उमेशलाई भनेर राय सुझाव माग्थे । यस्तै कारणले पनि होला ऊ उमेश प्रति आकर्षित भएको । उसका तन मन अब उसका नियन्त्रणमा थिएनन्, स्वतःस्फुर्त रूपमा उमेशतिर खिँचिइरहेका हुन्थे । उमेशले पनि उसलाई धेरै माया गथ्र्यो तर जुन नजरले उसले उमेशलाई हेर्थी त्यो नजरले उमेशले कहिल्यै हेर्न सकेन । सधै भेटघाट भएपनि उसले कहिल्यै मुख फोरेर यो कुरा भनेकी थिइनँ, उसको प्रेम प्रस्ताव केवल पत्रमा नै सिमित थियो, जसलाई उमेशले खासै चासो दिँदैनथ्यो ।
समय बित्दै गयो, ऊ पनि कक्षा चढ्दै गई । तर उमेशलाई पत्र लेख्न छाडिनँ । यो समयावधीमा ऊ चिठी लेख्ने कलामा पनि पोख्त हुँदै गएकी थिई । कहाँ कहाँबाट कस्ता कस्ता शब्दहरू बटुलेर प्रेमपत्रमा फूलबुट्टा भर्थी । यतिबेलासम्म ऊ सानो तिनो कवियित्री पनि बनिसकेकी थिई । चिठीमा मुक्तक, सायरी र कविताहरूले पनि विशेष स्थान पाउन थालिसकेका थिए । एकदिन उमेशले योगेशलाई साह्रै हपार्यो तँ किन ब्यर्थै हुलाकी बन्छस् हँ ? तँलाई थाहा छ यार मलाई यो सब मन पर्दैन, प्लीज अबदेखि यो चिठी ल्याउने काम नगर र उसलाई पनि भन्दे चिठी नलेख्न भनेर । उमेशको अनुहारमा रिस र हैरानीका लहरहरू सँगसँगै दौडिरहेका थिए । मलाई के भन्छौ, उसैलाई भनन । नभए एउटा सानो कागजमा लेखेर पठाइदेऊ आइन्दा यसो नगर्नु भनेर । योगेशको कुरा पनि उमेशलाई ठीकै लाग्यो । त्यसै रात उमेशले पहिलो पत्र लेख्यो । साँझ योगेश उमेशको घरमा आयो । तिमीले के लेखेका थियौ त्यस्तो । बिचरी हिँजोदेखि खाना न पानी भएर घरमा रुँदै बसेकी छे । योगेशको कुराले कता कता गल्ती पो गरिएछकी भन्ने हुन्छ उमेशलाई । मैले आज मेरो घरमा बोलाएको छु, तिमी पनि आउँछौ त्यहीँ कुरा गर्नु भनिदिएको छु । राम्ररी सम्झाउनु यार् । उमेशले के गर्ने के नगर्ने निर्णय गर्नु पहिले नै योगेश त्यहाँबाट हिँडिसकेको थियो ।
राति खाना खाएर उमेश योगेशको घरमा गयो । केही छिनपछि ऊ पनि आई । श्रृङ्गारबिनाको अनुहार मलीन छ, सायद दिनभर रोएर होला उसका आँखा सुन्निएका थिए । नाक रातो न रातो भएको थियो । अनुहारमा कत्ति पनि कान्ती थिएन । आँखाका डीलबाट ठूल्ठूला आँशुका ढिक्काहरू खस्लान् खस्लान् भै देखिएका थिए । उसको मुहार औँशीको रातभन्दा पनि अँध्यारो देखिएको थियो त्यो बेला । योगेश र उमेश मात्र भएको कोठाभित्र छिर्न ऊ अलि अनकनाई । योगेशले उमेशलाई आँखाको इशाराले कतै बाहिर एकान्तमा जाने सल्लाह दियो । उमेश उठ्यो अनि आऊ भन्दै अघि लाग्यो, ऊ पछि पछि आई । केही पर पुगे पछि उमेश उभियो, उसलाई एक पटक हेर्यो । उमेशले केही भन्न नपाउँदै उसको आँखाका डीलमा रहेको आँशुको बाँध भत्कियो । ऊ सुँक्क सुँक्क गर्दा गर्दै उमेशको छातीमा टाउको जोतेर डाँको नै छोडेर रुनथाली । तपाईले यसरी लत्याउनुभयो भने मेरो जीवन जिउनुको कुनै अर्थ छैन । मलाई तपाईको केही चाहिएको छैन केवल माया भए पुग्छ । एक पटक माया गर्छु भने पनि सारा जीवन यत्तिकै बिताउन सक्छु । किन यति धेरै निष्ठुरी बन्नुहुन्छ ? म तपाईसँग केवल माया माग्दैछु । प्लीज् तपाई नभए म बाँच्न सक्तिनँ । मलाई जीवन दिनुहोस् । नत्र म आफै गलत निर्णय गर्न सक्छु । उमेशलाई असहृय हुँदै गयो, उसले यो भन्दा अघि अरु केही सुन्न सकेन । आफ्नो दायाँ हातका औँलाहरू कतिखेर उसको मुख थुन्न पुगेछन्, उमेशलाई पत्तै भएन । अरुबेला जतिसुकै कठोर बने पनि उमेशले उसको आँखामा आँशु देख्न सक्दैनथ्यो ।
सानैदेखि उसलाई एउटा रोग थियो । धेरै रोयो भने ऊ बेहोश हुन्थी, सायद उसको मन कमजोर भएर होला । चाहेर पनि उमेशले आफूलाई सम्हाल्न सकिरहेको थिएन । उसलाई डर लागिरहेको थियो कतै मेरो कारणले कुनै अनर्थ त हुने होइन ? उसको आँशुको अगाडि उमेश मैन भएर पग्लियो । उमेशको मनले भन्दै थियो यो केटी साह्रै नै जिद्दी छे, यदि तैँले अहिले यसको साथ दिइनस् भने यो जे पनि गर्न सक्छे । त्यसैले प्रेम नगरे पनि दयाको भीख दे यसको जीवनको खातिर । यो केटीलाई मर्न न दे उमेश । नत्र तँलाइ ठूलो पाप लाग्छ जुन तैँले जीन्दगीभर प्रायश्चित गरे पनि पखालिने छैन । उमेशले उसको आँशु पुछि दियो अनि बिस्तारै उस्को कपाल सुम्सुमाउँदै भन्यो । धत् लाटी, यति सानो कुरामा पनि यत्रो महाभारत गरिहाल्नुपर्छ त ? उमेश एस.एल.सी.पास भएपछि सदरमुकाममा क्याम्पस पढ्न गयो । शहरमा उसका नयाँ नयाँ साथी सङ्गीनीहरू बन्दै गए । ऊ पनि गाउँमा एस.एल.सी.को तयारी गर्न थाली । पढाईमा त ऊ उमेश भन्दा दुई कदम अगाडि नै थिई । उमेशले पनि क्याम्पसमा राम्रै उन्नति गरिरहेको थियो । ऊ पनि राम्रो अङ्क ल्याएर एस.एल.सी.पास गरी । त्यसपछि उसले सि.एम.ए.पढ्ने इच्छा परिवार समक्ष जाहेर गरी । उसका परिवारले पनि एकपटक उमेशलाई सोध्न भुलेनन् । आखिर ऊ सि.एम.ए. पढ्न अर्कै जिल्लातिर लागी । भौतिक दुरी केही टाढा भएपनि उस्ले उमेशलाई आफ्नो ह्रदयदेखि कहिल्यै टाढा राख्न सकिनँ ।
उमेशले यता आइ.कम. पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौं जाने भयो । केही समयपछि ऊ पनि कम्प्युटर सम्बन्धि अध्ययन गर्ने बहानामा काठमाडौं पुगी । उमेश सँग पुनः भेटघाटको शिलशिला शुरू भयो । उसलाई थाहा थियो उमेश उ देखि टाढा भएपछि धेरै चरनहरू चरिसकेको छ, धेरै थरी स्वाद चाखिसकेको छ । उमेशले जतिसुकै गल्ती गरे पनि उसले कहिल्यै खै गरिन । झन् मेरै मायामा केही कमी भएर पो हो की भनेर अझ धेरै माया गर्न थाली । उमेशले पनि उसलाई माया गर्ने अभिनय गर्न छाडेको थिएन । नयाँ वर्ष दिन । गोदावरीमा सधैभन्दा धेरै भीडभाड थियो । कोही पिकनिकमा झुमिरहेका थिए त कोही एकान्तमा प्रेमी प्रेमिकाहरूको ओँठ चुमीरहेका थिए । कतै खुट्टा हाल्ने ठाउँ छैन । वैशाख महिनाको गर्मीले थकित र गलित युवाहरूलाई गोदावरीले शीतलता प्रदान गरिरहेको थियो । ऊ पनि उमेशसँग त्यहाँ गएकी थिई । धेरैबेर उनीहरू त्यहाँ बसे । जीवन र भविश्यका बारेमा धेरै कुराहरू गरे । ऊ अब परिपक्व भइसकेकी थिई । आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने भइसकेकी थिई । विवाह पछिका योजना र छलफलहरूमा नै त्यो दिन बिताए उनीहरूले ।
उमेशलाई बिस्तारै आफ्नो गल्तीको आभाष हुँदै गयो । उमेशलाई आफैप्रति घृणा लाग्न थाल्यो–कति स्वार्थी भएछ ऊ । कसैको जीवनसँग खेलबाड गर्ने अनुमति उस्को मनले दिन छाडिसकेको थियो । ऊ कति धेरै विश्वास गर्थी उमेश लाई तर उमेश भने खेलौना जस्तै सम्झेर उस्लाई प्रयोग गरिरहेको छ । एकदिन उमेश उसको कोठामा गयो । त्यो दिन उमेश अरु दिन भन्दा एकदमै गम्भीर देखिन्थ्यो । तिमीले मलाई जति माया दियौ, म जीवनभर पनि त्यति माया दिन सक्तिन होला । म तिम्रो लागि योग्य छैन । मैले आफूले आफैलाई तिमीसँग तुलना गरेर हेरेँ, तिमी कति महान छौ । म कति नीच छु । मैले तिमीमाथि धेरै अन्याय गरेको छु । म पापी हुँ । मलाई तिमी कहिल्यै माफ नगर है किनकि म त्यही पापको पीडाबोधले जीन्दगीभर जल्न चाहन्छु । तपाईलाई आज के भएको छ ? के कुरा गरेको यस्तो मैले त केही बुझिन नि ! साँच्चै नै उसले त्यतिबेलासम्म केही कुराको मेसो पाउन सकेकी थिइन । उमेश खुल्दै गयो–मैले तिम्रो पवित्र मायाको अपमान गरेको छु । म अपराधी हुँ तिम्रो । यही अपराधबोधले मेरो छाती जलिरहेको छ । म तिम्रो हुन लायक छैन । मलाई फोहर नालीको किरा सम्झेर विर्सिदेऊ । उमेशले उसँग आँखा जुधाउन सकिरहेको थिएन ।
तपाईलाई भुल्न सक्ने भए धेरै पहिले नै भुलिसक्ने थिएँ नि । प्लीज यस्तो कुरा नगर्नुस् । उसका आँखामा अझै पनि आशाका केही किरणहरू बाँकी थिए । नाई मलाई तिमीले भुल्नैपर्छ । सधैभरी मैले तिमीलाई केवल पीडा दिएँ । तिमी त्यसमा मायाको मल्हम लगाउँदै गयौ । म जस्तो तुच्छ व्यक्ति तिमीजस्ती महान नारीको पति भएको सुहाउँदैन । हेर जीवन लामो छ, तिमीले एक से एक सुशील केटा भेट्न सक्छ्यौ । म जस्तासँग तिम्रो त्यो सुन्दर जवानी खेर नफाल । उसलाई लाग्यो उमेश ऊ देखि टाढिने बहाना बनाइराखेको छ । विगतमा पनि उमेशका थुप्रै गल्तीहरूलाई उसले आँशु पिएर सहेकी थिई । प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने कुरा उस्ले राम्ररी बुझेकी थिई । यसमा तपाईको कुनै दोष छैन । गल्ती मेरै हो । मैले जबरजस्ती तपाईलाई आफ्नो बनाउने कोसिस गरेँ । तपाईले मलाई माया गर्नुहुन्न भन्ने कुरा त मलाई पहिलेदेखि नै थाहा थियो । तैपनि एक दिन त बगेको खोला पनि र्फकन्छ रे भन्दै म तपाईको प्रतिक्षा गरिरहेँ । तपाईलाई म अब धेरै बाँधेर राख्न सक्तिन, जानुस् तपाई मुक्त हुनुहुन्छ । यति भन्दा उसको गला धेरैपटक अबरुद्ध भएको थियो । आखिर जे हुनु थियो त्यो भएरै छाड्यो । उमेशले अन्तिम पटक उसको निधारमा चुम्बन गरेर हिँड्यो । ऊ जडवत् भई, केही बोल्न सकिनँ न त उमेशलाई रोक्न नै सकी । उसको जीवनमा आँधी आयो, सारा आकाश झरेर उसलाई थिचेजस्तो लाग्यो । पाईताला मुनीको जमीन भासिसएजस्तो लाग्यो । आज उसको संसार विलीन भएर कतै शुन्यमा हराएजस्तो लाग्यो ।
त्यो प्रेम अलग भयो । भावना एक भयो । आज पनि लाग्छ सायद सच्चा प्रेम त्यहि मात्रै हो । आजकालका प्रेमहरु त शारिरीक सम्वन्धका स्वार्थ मात्रै थिए । र छन् पनि ।
बलराम शर्मा
काठमाडौ