2025 July 14/ 04:57: 39am

प्रकाश भूर्तेल 
             पछिल्लो समयमा झोला र झोले शब्द बडो चर्चामा छ । गत शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्ना कार्यकर्ताहरु विभिन्न ठाउँमा र सामाजिक सञ्जालमा ‘झोले’ भनी आलोचित हुनुपरेको गुनासो सुनेपछि त्यसको बचावट स्वरुप आफू एमालेको ‘झोले’ भएको सगौरव प्रस्तुत् गर्दै कार्यकर्ताले बोक्नुपरेको अपहेलनाको भारीको बोझ कम गर्नुभयो । त्यतिमात्र नभई सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्दै पोस्टर बनाएर एमाले नेता तथा कार्यकर्तामाथि लागेको आरोपको प्रतिवाद समेत गर्नुभयो । त्यसपछि एकपछि अर्को शीर्ष नेतादेखि प्रदेश जिल्ला नगर र वडा तहका नेता सम्मले त्यसलाई फेसबुकमा पोष्टर सहित आफ्नो समर्थन शेयर गर्ने लहर चल्यो । लगत्तै फेसबुकमा आफ्नो तस्वीर राखी ‘म झोले हो’ भन्ने पोष्ट एकपछि अर्को देखन थाल्यो । तर त्यसका विरुद्धमा फरक विचार दिने जो कोहीले आँट गरेनन् कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्षको बोली र अभियान भएकोले त्यसको विरुद्धमा फरक विचार राखेर आलोचित हुनुभन्दा समर्थन गरेर अभियान अगाडि बनाउन सजिलो लाग्यो सायद धेरैलाई । तर त्यसैबीच मैले चाहिँ तत्काल फेसबुकमा प्रधानमन्त्रीको ‘म झोले हो’ भन्ने भनाईप्रति असहमति जनाउँदै फरक धारणा समेटिएको विश्लेषणात्मक लेख पोष्ट गरें । प्रधानमन्त्रीको अभिव्यक्ति पछि फट्टाफट् आफूलाई सगर्व झोले हो भन्ने नेता तथा कार्यकर्ताको स्वीकारोक्ती सामाजिक सञ्जालमा  आइरहेका बेला संभवतः मेरै फेसबुक पोष्ट होला जो सबैभन्दा पहिला फरक धारणा सहित सामाजिक सञ्जालमा दरिलो रुपमा उभियो । 
             कुनैपनि संगठनमा व्यक्तिका फरक विचार पनि हुन्छन्, फरक धारणा राख्न पाइन्छ, राख्नुपर्छ र त्यसलाई पनि सम्मानका साथ हेरिनुपर्छ भन्ने सन्देश स्वरुप मैले आफ्ना फरक धारणालाई लेखको रुप दिएको थिएँ । लेख अलि लामै भएपनि फरक विचार बोकेको ‘म झोले होइन’ शीर्षकको लेख भएकोले धेरैले पढेछन् । कतिले समर्थनको कमेन्ट गरे । कतिले प्रधानमन्त्रीकै ‘झोले’ शब्दको व्याख्यालाई बुझाउँदै ‘म झोले नै हो’ पनि भने अनि कतिले अरुका सहित्य रचनाबाट झोलेको अर्थ बुझाए भने विस्तारै कतिले आफू झोले होइन भन्ने लेख र भनाईहरु समेत पोष्ट गर्न थाले । हुँदैजाँदा यो विषयमा आम जनमानस र कार्यकर्ताका धारणा विभाजित भयो  । कतिले खरो समर्थनमा त्यसको बचावट गरे त कतिले शब्दको अर्थ, आशय र प्रचलन केलाई ‘झोले’ लाई व्यक्तिको प्रवृत्तिसँग जोडेर तथ्य र तर्कपूर्ण ढंगले असहमति जनाए । एकातिर झोले शब्द ब्राण्डको रुपमा विकसित हुँदैगयो भने अर्कोतर्फ यसका असहमतिका लेख, आवाज र भिडियो छ्यापछ्याप्ती भए । हुँदैजाँदा ‘झोले’ शब्दलाई एकातिर आलोचना, अर्कातिर गौरवका साथ लिन थालियो । 
             प्रधानमन्त्री ओलीले ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कयौं गुणा उत्तम चरित्र हो । म नेकपा एमालेको झोले हो, म यो देशको झोले हो, झोला राम्रा कुरा बोक्न बनेका हुन् । दलाली कुरा हालेर बोक्छन् झोलामा । राम्रा कुरा बोक न झोलामा । म जनताको झोला बोक्ने, राष्ट्रको झण्डा बोक्ने, परिवर्तन बोक्ने झोले हुँ । मैले सामन्तको झोला बोकेको छैन । मैले ईतिहासलाई बाङ्गोटिङ्गो भनेर मर्काएको छैन ।’ भनेर आफ्नो अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीको व्याख्या र आशय स्पष्ट र गहिरो थियो तर विषयको गहिराइमा नपुगी कतिपय नेता तथा कार्यकर्ताले फेसबुकमा पोष्टर शेयर गर्न हतार गर्नथाले । यहि त एक हिसाबले अन्धभक्ति हो कि आफ्नो नेताले भनेको कुरामा तत्काल ताली बजाउने र त्यसको गहिराईमा नपुगी सतही बुझाईमा समर्थन जनाईहाल्ने । यस्तो पाराले कहिलेकँही नेताले दिएका गलत अभिव्यक्तिको खण्डन गर्नुपर्ने विषय वा परिस्थितिमा पनि हतार गरी नेताले भनेपछि ठिकै होला भनेर समर्थन गरिदिंदा मनले नमानी नमानी त्यसकै बचावटमा खुब मेहनत गर्नुपर्ने अवस्था पनि आइपर्छ कतिलाई ।
             प्रधानमन्त्रीज्यूले “म झोले हो“ भनिंदिदा पार्टीका सुरुवाती वा तल्लो तहका कार्यकर्तालाई तत्कालका लागि थोरै भएपनि मलमपट्टी त भयो होला तर त्यो सर्वोच्च तह र केन्द्रिय तहबाट मन्त्री प्रधानमन्त्री भैसकेकाहरुले सहज रुपमा भनेजस्तो र स्वीकारे जस्तो सजिलो पनि छैन । नेपाली राजनीतिमा एमालेका कार्यकर्तालाई मात्र होइन हरेक पार्टीका कार्यकर्तालाई गालीगर्दा ‘झोले’ भन्ने चलन छ, यसलाई अपमानजनक शब्दका रुपमा प्रयोग गरिंदै आएको छ त्यो माथिल्लो तहका नेतालाई प्रयोग गरिएको हुँदै होइन त्यसैले माथिका नेताले आफूलाई झोले हो भन्नलाई सजिलो छ । माथिल्ला तहका नेताले एक किसिमले पद, सम्मान र अवसर पाइसकेका हुन्छन् र त्यो ठाउँबाट ‘म झोले हो’ भन्न र बोल्न असजिलो छैन, खुशीनै लाग्छ होला जसरी सफलता प्राप्त गरिसकेको व्यक्तिलाई संघर्षका कुरा सुनाउन आनन्द लाग्छ र त्यसमा गर्व हुन्छ । तर त्यही कुरा संघर्षका दौरान उसलाई भन्न असजिलो लाग्छ र लुकाउँछ पनि । त्यसैले प्रधानमन्त्रीज्यूले बोल्दैमा र स्वीकार्दैमा त्यो शब्द फेरिपनि सम्मानित र सर्वस्वीकार्य हुन्छनै भन्ने छैन । किनकि, ‘झोले’ शब्द सुन्दा त्यसमा मिठास छैन, कर्णप्रिय अझै छैन । पार्टीका प्रदेश, जिल्ला वडा र टोलसम्मका सामन्य नेता कार्यकर्ताले खुशीसाथ ‘म झोले हो’ भन्ने, आफूलाई झोले भएकोमा गर्व गर्ने र अरुले आफूलाई ‘झोले’ भनेको सुन्दा खुशीमान्ने अवस्था त्यति सजिलै बन्दैन । 
              झोले शब्दको व्याख्या जसरी गरेपनि यो कुनै सामान्य अर्थ बोकेको शब्द मात्र होइन, ‘झोले’ एउटा प्रवृत्ति हो । सधैं नेताका पछिमात्रै लाग्ने, सधैं पार्टीका झोला बोकेर हिँड्ने तर आफू अगाडि बढ्न नसक्ने, पार्टीमा सहि र गलत छुट्यान नसक्ने, नेताका गलतका विरुद्धमा बोल्न नसक्ने, आफ्नो नेताको अन्धभक्त हुने, गल्ती ढाकछोप गर्ने, नेताका घरघर धाउने, क्षमता र योग्यता नभई पावरका भरमा आफ्नो काम गरिदिन नेतालाई बिन्ति बिसाउने, पदका लागि नेताको दौराको फेर समात्ने, आफूमा क्षमता विकास नगर्ने, पार्टीको दर्शन सिद्दान्त विचारका बारेमा अध्ययन नगर्ने, वैचारिक दासत्व स्वीकार गर्ने, सीमित घेराभित्र बस्न रुचाउने... लगायतलाई  झोले प्रवृत्ति हो भन्ने बुझाई स्थापित छ आम नेपाली समाजमा । नेतामा ती चिज हुँदैन त्यसैले यो शब्द नेताका लागि बनेकै होइन । यो पार्टीमा लाग्ने तल्लो तहका कार्यकर्तालाई गालीगर्दा र होच्याउँदा बढी प्रयोग गरिन्छ ।
              प्रधानमन्त्रीको ‘झोले’ शब्दको व्यख्याले हरेक पार्टीका कार्यकर्तालाई थोरै राहत त दियो होला तर ढिलो भयो । धेरै अगाडि आउनुपथ्र्यो ’झोले’ को यो व्याख्या, किनकि नेपाली राजनीतिमा ‘झोले’ भन्न थालेको तीन दशक बढी भैसक्यो, व्याख्या ढिलो आयो, राम्रै मान्नुपर्छ कम्तिमा ढिलै भएपनि आयो । तर अचम्म के छ भने झोलेको यही अर्थ चाहिँ प्रधानमन्त्रीले लगाइसकेपछि मात्र आफूले बुझ्ने र हिजो कसैले झोले भन्दा रिसाउने व्यक्ति आजको परिभाषा सुनेपछि एकाएक खुशी हुने र गर्वगर्ने अवस्था चाहिँ साँच्चै अनौठो हो नै । भएकै कुरापनि हामीलाई अरुले सिकाइदिनुपर्ने । यसअघि पनि त यो व्याख्या कसैले गरिदिएको भए हुन्थ्यो । तर नेपाली राजनैतिक परिवेशमा ‘झोले’ प्रधानमन्त्रीज्यूको हालैको व्याख्या जस्तो रुपमा बुझिएको अवस्था चाहिँ छैन, त्यो अर्थमा प्रयोग हुने गरेको पनि होइन । यसलाई व्यक्तिको प्रवृत्तिसँग जोडेर प्रयोग गरिएको छ । र हरेक व्यक्तिको प्रवृत्ति उसैमा भरपर्ने कुरा हो । यहाँ बुझ्नु के जरुरी छ भने पार्टीमा लाग्ने सबै झोले हुँदैनन्, झोला बोक्ने सबैलाई झोले भन्न पनि जरुरी छैन । माथि उल्लेखित ‘झोले’ का विशेषता वा प्रवृत्ति भएका व्यक्तिलाई चाहिँ झोले भन्दा ठिकै होला, सबैलाई भन्न जरुरी छैन । व्याख्य आ–आफ्नो होला, प्रधानमन्त्रीज्यूले आफ्ना कार्यकर्तालाई अरुले होच्याएर भन्ने झोले शब्दलाई सहज रुपमा “म पार्टी, देश र जनताको हितमा झोला बोकेर हिड्ने झोले हो” भनेर बोलिदिनुभयो र कार्यकर्ताले बोकि राखेको अपहेलनाको भारी आफूले पनि बोकेर सहज बनाइदिनुभयो । यत्ति आँटचाहिँ यसअघि कसैले गरेनन् यसका लागि उहाँ धन्यवादका पात्र हुनुहुन्छ नै । 
              तर यहाँ पछिल्लो व्याख्या अनुसार ‘झोले’ शब्दप्रतिको आम मान्छेको बुझाई र दृष्टिकोण तत्काल बदलिनेवाला चाहिँ छैन । कुनै एउटा दल विशेषले स्वीकारेर वा व्याख्या गरेर यसप्रतिको आम बुझाई फेरिन्छ जस्तोपनि लाग्दैन । तसर्थ व्यक्तिले आफ्नो आस्था र रुची अुनुसारको पार्टीमा लाग्दा झोले भन्छन् कि भनेर डराउनु वा लाज मान्नु पर्दैन, निर्धक्क लाग्दा हुन्छ किनकि कसैले झोले भन्दैमा झोले हुँदैन मान्छे । झोले त  व्यक्ति होइन प्रवृत्ति हो, झोले नभइकनँ पनि पार्टीमा योगदान दिन सकिन्छ । प्रधानमन्त्रीले भन्दैमा ‘झोले’ शब्दलाई खुशीसाथ स्वीकार्नुपर्छ, आत्मसात गर्नुपर्छ र गर्व गर्दै ‘म झोले हो’ भन्दै हिड्नु पर्छ भन्ने जरुरी लाग्दैन र त्यो भनेजति सजिलो पनि छैन किनकि आफूले आफैंलाई ‘म झोले हो’ भन्नु र अर्को व्यक्ति त्यो पनि फरक पार्टीको व्यक्तिले आफूलाई झोले भनेको सुन्नु र झेल्नुमा आकाश जमिनको फरक पर्दछ । कल्पना गर्नुस् त भोलिदेखि कसैले बोलाउँदा नाम र सम्बन्ध नभनी ‘ओ झोलेजी!’ भनेर बलाउँदा हाम्रो प्रतिकृया कस्तो होला?? हामीले पक्कै पनि सहर्ष स्वीकर्दैनौं होला । 
              प्रधानमन्त्रीज्यूले झोलेको अर्थ सहित सकारात्मक व्याख्या गर्नुभएको छ । झोलेको व्याख्यात्मक टिप्पणी गर्नुभएको छ । पार्टीका तल्लो तहका कार्यकर्ताले बोकेको अपहेलनाको भारी आफूले पनि बोकिदिएर उनिहरुलाई सहज बनाईदिनुभएको छ । उहाँले आफूले ‘म झोले हो’ भनेर त्यसै भन्नुभएको छैन अर्थ सहित भन्नुभएको छ । यस भनाईलाई धेरैले सामान्य रुपमा हेरे जस्तो लाग्यो र तत्काल स्वीकारी म पनि झोले हो भन्न हतार गरे । अन्य नेता तथा कर्यकर्ताले आफूले अहिलेसम्म राम्रै गरेको रहेछु ठानी तुरुन्त समर्थन मात्र जनाएनन् आफू झोले भएकोमा गर्वका साथ स्वीकार गर्न समेत पछि हटेनन् । तर कुरोको चुरो अर्कै छ, हाम्रा प्रधानमन्त्री ज्यादै चतुर, त्यसमाथि बुद्धिजीवीहरुको सम्मेलनमा बुद्धिजीवीहरुका बीचमा बोलेको बौद्धिक अभिव्यक्तिको सुनाईमा सकारात्मक व्याख्या लागेर सतही रुपमा बुझी नेता तथा कार्यकर्ताले स्वीकार्न हातार गरे । यसलाई त्यसरी मात्रैपनि नहेरौं, अलिकति गहिरो भाव बुझ्न यसलाई थोरै चिरफार गरौं– 
             झोला झोलानै हो, झोला बोक्नेलाई झोले भनिन्छ पनि सत्य हो । कसैले झोलामा पुस्तक बोकोस्, हतियार बोकोस्, लागु ओैषधी बोकोस्, खानेकुरा बोकोस् वा जडिबुटी बोकोस्, नाम झोले नै हुन्छ । हो, बुझ्नुपर्ने कुरा यहिँनेर हो कि झोला बोक्ने सबै झोले नै हुन् तर प्रधानमन्त्रीको आशय त्यस झोलामा राम्राकुरा बोकेको छ भन्ने विश्वासमा पार्टीका झोले भन्दा गर्व गर्नु भनिएको हो । जोकोही वा जेसुकै झोलामा हालेर बोक्नेलाई त्यो परिभाषा उपयुक्त हुँदैन त्यसैले पार्टीभित्रैका पनि सबैले म झोले (सकारात्मक) हो भन्ने अधिकार रहँदैन । सही चिज झोलामा बोकेका वा बोक्ने मात्र पार्टीका सच्चा झोले हुन् बाँकी त माथि उल्लेख गरिएको आम बुझाईवाला उही कच्चा झोले । झोले भन्नुभन्दा नि पार्टी देश र जनताका सिपाही वा पहरेदार भनेर चिनाउनु चिनिनु बढी न्यायपूर्ण हुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मैं भि चौकिदार’ भन्नु र यहाँ हामीले ‘म झोले हो’ भन्नु फरक हो । शब्दमा एकार लागपछि गाली गरेको, होच्याएको वा अपहेलना गरेको बुझाई छ आम नेपाली समाजमा त्यसैले यसलाई अर्थ नबिग्रिने सभ्य व्याख्या चाहिन्छ होला । हाम्रो प्रयास त सदैव आफूमा गलत झोले प्रवृत्ति छ भने छोड्ने वा आफूलाई सुधारेर पार्टी र बहुदलीय व्यवस्थाप्रति ईमानदार, बफादार भई योगदान दिनमा चाहिँ हुनुपर्छ होला । झोले हो वा होइन को बहस भन्दा बढी कस्तो झोला हो के हालेर बोकेको हो र बोक्नुपर्ने हो चाहि बढी महत्वपूर्ण र आवश्यक कुरा हो ।