2026 May 25/ 11:04: 00am

होम चौंलागाई
    सिन्धुपाल्चोक प्राकृतिक हिसाबले मनोरम जिल्ला हो । यहाँ ईन्द्रावती, भोटेकोसी, सुनकोसी, झ्याँडी, ढाँडखोला लगायतका दर्जन साना ठूला खोलानाला छन् ।  यति मात्र नभएर सिन्धुपाल्चोक वन जंगल र पाखा पखेराको मनोरम जिल्ला पनि हो । मेलम्ची, बाह्रबिसे, सुकुटे, चौतारा देखि टिम्बु, तिपेनी, साँगाचोक, लामोसाँघु, जलबिरे, अँधेरी, नवलपुर, तातोपानी लगायतका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थालहरु रहेका छन् । हेलम्बु, शेर्माथान, पाँचपोखरी, पाल्चोकी भगवती लगायत धेरै संख्यामा विभिन्न गुम्बा, तीर्थाटन सहितका धेरै पर्यटकीय मनोरम स्थलहरु रहेका छन् ।
    जलवायु परिवर्तनको अध्ययनस्थल भनेर चिनिने गुफाडाँडा सिन्धुपाल्चोकको अर्को पहिचान हो । यी र यस्ता यावत स्थान र सम्भावनाहरुको खानीको रुपमा चिनिने सिन्धुपाल्चोक प्राकृतिक सम्पदाको हिसाबले असाध्यै महत्वपूर्ण जिल्ला हो । भूकम्प र पराकम्पनको दर्जनौं प्रहार बेहोरेको सिन्धुपाल्चोकलाई केहि वर्ष अघि जुरे पहिरोले समेत निमोठेको थियो । जुरेको पहिरोले राम्ररी तङ्ग्रन नपाउँदै भुकम्प लगायतका विभिन्न खालका प्राकृतिक प्रकोप ब्यहोर्दै आएको सिन्धुपाल्चोक यस पटक कल्पनै गर्न नसकिने बाढी र पहिरोको मारमा परेको छ । वर्षायाम अर्थात मनसुनको शुरु राम्ररी नहुँदै असार १ गते रातीको बाढी र पहिरोले सिन्धुपाल्चोकको १ नं. क्षेत्र नराम्ररी प्रभावित हुन पुग्यो । असार १ गते अपरान्ह ४ बजेतिर सामान्य बाढी र पहिरोको लक्षण देखिएको खोला रात परेपछि एक्कासी लेदो र दुर्गन्ध सहित हेलिन थाल्यो । साँझ ६ बज्दा नबज्दै दोलालघाट, सिपाघाट लगायत सुनकोसी आसपासबाट मेलम्चीमा ठूलो बाढी आयो रे भन्दै फोन आउन थाल्यो । सबैतिर हल्ला खल्ला भयो । ईन्द्रावती नदि आसपासका गााउ ँभेगका मान्छेहरु हेर्न भन्दै खोला झर्न थाले । मेलम्चीमा हताहती र भागदौड बढ्यो ।
    मेलम्ची माथीका हेलम्बु, तारामाराङ्ग, ग्याल्थुम, चनौटे, क्यूल र अम्बाथान एकाएक बेखबर हुन पुग्यो । पाँचपोखरी, थामपाधाप, तिपेनी, याँङ्ग्री, लार्के लगायतको ठाउँमा पनि । हल्लाखल्ला र आपत विपत्मा रात बित्यो । भोलिपल्ट विहान ६ बजेतिर हिंगुवापाटी हुँदै सिपाघाट, एक्लेबेसी, फड्केशवरी, सिन्धुखोला, बाहुनेपाटी, ढकालखहरे हुादै मेलम्ची पुग्दा नियाल्न सकिने दृश्य नै देखिएन । वारीपारीको खेतहरुको तिब्र कटान, खोलै भरी काठदाउरा, ग्याँस सिलिण्डर, दर्जनौं गाईभैंसीको लास, उफ्रिपाफ्री गरिरहेका र किनारा लागिरहेका माछाहरु, घरहरुबाट बगेका विभिन्न भाँडाकुँडाहरु र लेदोले बग्नै नसकेको ईन्द्रावती देख्दा मन थाम्न सक्ने स्थिति नै थिएन । माछा फर्ममा काम गर्ने कामदारहरु सहित विभिन्न मानिसहरुको किनार लागेको लाश, मानिसहरुको मलिन मुहार, बाँच्नको लागि ५ तले घरबाट सामान निकाल्दै सुरक्षित छाप्रोहरुमा सार्दै गरेको लत्ता कपडा र मालसामान भनेरै साध्य छैन । 
    ५ तले घरको देखिएको मात्र एक तला, खोलाको बिचमा पारी रेस्क्यूको आशामा बसेका पाँचौ तलाका मानिसहरु, करोडौं लगानीमा बन्दै गरेको विशाल पार्टी प्यालेसको दृश्य, विभिन्न फर्महरुको विनाश, हार्डवेयर पसलका वडा वडा टयांकीहरुको छचल्की, तिपेनी र नवलपुर जानेपक्की सहितका झोलुङ्गे पुलहरुको खण्डहर दृश्य, हाइवे तथा पक्की सडकको कटान, रेटिएका धानखेतहरु खै कसरी लेखौं । सरसर्ती ईन्द्रावती किनारको सिपाघाटदेखि मेलम्ची बजारसम्म पुग्दा कतै मन राख्ने ठाउँ नै भेट्न सकिएन । सम्भव भएसम्म टिम्बु वा मेलम्ची खानेपानीको मुहान अम्बाथानसम्म जाने सोच बनाएर तय भएको यात्रा मेलम्ची बजारबाट माथी लाग्न सकेन । रेटिरहेको सडकका किनाराहरु, खण्डहर भई भत्किएका पुलहरु, दबिएका महलहरु देख्दैमा मन त्यसै अत्तालिन पुग्यो । 
    सडकका कारण न तारामाराङ्ग टिम्बु जान सकिन्थ्यो न त तिपेनी र त्यस माथीका ठाउँहरुमा नै । यति भएर मेलम्ची आसपास र ईन्द्रावती नदि किनारमा शान्ती छाउन सकेको छैन । पीडा बोध एकठाउँमा त छँदैछ । मेलम्ची खोलामा बगेको सिमेन्ट ढलान जस्तो लेदोले पुनः त्यो नदी फुट्ने र पानीको वहाब अझै बढ्नै त्रासदी कायम छ । माथील्लो भेगमा पहिरो नरोकिएकोले नदि किनारमा शतर्कता अपानाउनुको बिकल्प छैन । गरिखाने सामान्य परिवारका मान्छेहरु खोला किनारबाट उठिबास भएका छन् । कोरोनाले घर भित्र बस्ने पर्ने बेलामाका घरबार विहिन मानिसहरु भिडभाडका साथ भागदौडमा लाग्नु पर्दा असाध्यै ठूलो पीडामा बाँच्न बाँध्य देखिन्छन् । खोला वाढीले ल्याएको दूरर्गन्ध र विपद्को भिडभाडले विभिन्न महामारीको समस्या उत्पन्न भएको छ । विपद्मा मौका ठान्ने केहि नरपिशाचहरुका कारण चोरी चकारीका घटन बढ्ने समस्या देखिन थालेको छ । त्यति मात्र नभएर उद्धार तथा राहत वितरणमा लाग्ने भन्दा खोला किनारमा बसेर बगेको सामान लिन बस्नेको ठूलो भिड भाड देख्न सकिन्छ । कसैले ग्याँस सिलिण्डर बोकेका, कसैले दाउरा ओसारी थुपारेका, कसैले विभिन्न मालसामान लिई मख्ख परेको दृश्य देख्दा पिडाको विचमा हीनता बोध महसुश गर्न सकिन्छ । 
    जे होस् सिन्धुपाल्चोकबाट विपद् र पीडाकै विचमा के सिक्नु पर्दछ भने खोला किनारनका बस्ती असुरक्षित मात्र हैनन् कालका अखडा समेत हुन् । सकेसम्म गाउँ भेग र पहाडमा बस्ती बसाल्ने वेसी र खोलाको छेउछाउमा खेती गर्ने प्रबन्ध मिलाउनतिर ध्यान दिनुपर्ने देखिन्छ । पानीको अभावका कारण भूकम्पपछि वेसी झरेका मानिसहरु वाढी पहिरोको शिकार बन्न पुगेको छन् । राज्यले बेलैमा एउटा खालको निती तय गरेर गाउँमा बसोबास र बेसीमा खेतीपातीको बन्दोबस्त नमिलाउने हो भने नेपालका धेरै भूभागमा यस्तै विपद् र नियतिको शिकारमा सोझा साझा जनता परिरहने छन् । राज्यले यस्तो खालको विपद्को सामना गरिहनु पर्ने छ । यसको अलावा वर्षैदेखि भैरहेको उत्खनन् सहितको ईन्द्रावती नदी दोहनमा राज्यको ध्यान बेलैमा नपुग्ने हो भने आज मेलम्ची र त्यस माथीका जनता पीडामा भएभन्दा विकराल स्थिति नदि किनारको शीर देखि तिरसम्मै ब्यहोर्नु पर्ने छ । बाहुनेपाटी, सिपाघाट, चण्डेनी, ज्याम्दी, दोलालघाट हुँदै नदि किनार आसपासका सबै जनताले सुख पाउने छन् । बेलैमा साचौं । 
    पीडा पर्दा रुने र पछि त्यसभन्दा ठूलो गल्ती गर्ने प्रवृत्तिबाट माथी उठेरै विपद्को व्यवस्थापन गर्न सकिन्छ । याँग्रि र लार्के मेलम्चीमा मिसाउने कुरा, मेलम्ची खानेपानी योजना र त्यसको खोल्ने बन्द गर्ने नियमित प्रकृया, नदीको दोहन र यसको निकास माथीको अतिक्रम नरोकेसम्म विपद्को व्यवस्थापनको स्थायी सम्भावनै छैन । हार गुहार र राहत तथा रेस्क्यूले जिन्दगी चल्दैन । मेलम्चीमा अरबौंको क्षति भएको छ । आँखाको डीग नपुग्ने महलहरु ढलेका छन् । दुइचार दिन प्राप्त हुने राहात र सान्त्वनाले माथी उठ्न सकिन्न । त्यसको लागि दीर्घकालीन सोच र बिचारकै आवश्यक्ता पर्दछ । जय सिनधुपाल्चोक ! जय मेलम्ची !