2026 May 25/ 10:55: 26am

    दैनिक दुर्घटनाका कारण नागरिकहरुको ज्यान जाने, अपाङ्गता हुने र करोडौको सम्पत्ति क्षति हुने तथ्याङ्कलाई न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रमहरु आयोजना भए पनि तत्काल हुने दुर्घटनाबाट नागरिकहरुको ज्यान बचाउन गरेको प्रयत्न धुलिखेल अस्पतालले ब्यवहारमा देखाउने गरी इमरजेन्सी ट्रमा सेन्टरको शुभारम्भ गरेको छ । दशक अघि देखि निरन्तरको प्रयत्न र प्रयासलाई अस्पतालले सफल अवतरण गरेको छ । त्यो पनि मित्रराष्ट्र जापानको पूर्ण सहयोगमा पूर्वाधार र उपकरण सहितको ब्यवस्थापन नेपाल र नेपालीका लागि हौसलापूर्ण मात्रै होईन नयाँ जीवनका लागि महत्वपूर्ण उपहार पनि हो । नमुना स्वास्थ्य सेवा उपलब्ध गराउँदै दैनिक २ हजार भन्दा धेरै विरामीलाई प्रत्यक्ष सेवा दिएको अस्पतालको यो अर्काे नयाँ सेवा हो । जुन अत्यावश्यक थियो । धुलिखेल अस्पतालले जापान, नेपाल र स्थानीय सरकारको समेत सहयोगमा उपलब्ध गराउन सफल भयो ।
    जापान सरकारको ३.८७९ विलियन जापानिज ऐन खर्च हुने ट्रमा सेन्टरको निर्माण जापानको टोडा को–अपरेसन टोकोयोले गर्नेछ । जापान इन्टरनेशनल एजेन्सी नेपाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त उपस्थितिमा निर्माण कम्पनी छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरिएको हो । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु सिटी स्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालका बेडहरु सहित निर्माण सम्पन्न पछि अस्पताललाई हस्तान्तरण हुनेछ । गुणस्तरीय सेवाका लागि अस्पतालका अन्य सेवाहरुमा ट्रमा कोशेढुङ्गा सावित हुनेछ । विकाशिल र विकान्सोमुख देशहरुमा सडक दुर्घटना र यस कारणले हुन जाने जनधनको क्षति दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यहरुले देखाउँदै आएको छ । पछिल्लो अध्ययन अनुसार २० वर्ष देखि ४० वर्ष समुहका व्यक्तिहरुको मृत्युको पहिलो कारण सडक दुर्घटना रहेको पाइन्छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पनि नेपालमा प्रत्येक ४ घण्टामा एक जनाको मृत्यु सडक दुर्घटनाको कारण भईरहेको देखिन्छ । अझ विशेष गरी हाम्रो देश नेपालमा रुख, भिर, पाखाबाट लडेर हुने घाइतेहरुको संख्या पनि धेरै ठुलो छ । चोटपटक पछि घाइतेले शारीरिक र मानसिक क्षति व्यहोर्नुको साथै समग्रमा राष्ट्रलाई नै अपूरणीय क्षति पुगिरहेको हुुन्छ । यो भयावह समस्या संसारभरी प्रकोपको रुपमा देखा पर्दै आएको छ । बेलैमा यी समस्याको पहिचान गरी रोकथाम र उपचारको व्यवस्था गर्न हामी सबै सजग हुनु पर्ने टड्कारो आवश्यकता छ । 
    यीनै वस्तुगत तथ्यहरुलाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले अरनिको राजमार्ग र वि.पि राजमार्ग (सिन्धुली वर्दिवास) ले ओगटने विशाल भू–भागको जनतालाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा सन् २०१४ मा सम्बन्धित निकायहरु मार्फत् र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल (जाईका) लाई प्रस्तुत गरेको थियो । प्रस्तावना अनुसार विभिन्न चरणको स्थलगत निरीक्षण, बैठक, संवाद र समन्वयपछि सन् अक्टोबर २०२३ र मे २०२५ मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल को–अपरेशन एजेन्सी नेपाल  र अर्थ मन्त्रालयले ३.८७९ विलियन जापानिज ऐन बराबरको १०० शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएको थियो । जापान इन्टरनेशनल को–अपरेशन एजेन्सी नेपाल (जाईका) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधीको उपस्थितिमा, अप्रिल २०२५ मा टोडा को–अप्रेसन, टोकियो जापानलाई निर्माण कार्यको लागि छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरीएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएकाहरुबाट भएकाहरुले हेर्ने र उदाहरण बन्न धुलिखेल अस्पतालबाट सिक्न देशबासीहरुलाई गरेको सम्बोधनले धुलिखेलले प्राप्त गरेको अर्काे उपहार विकासमा विश्वास र एकता हो ।