देशभर डेँगु संक्रमण फैलिरहँदा त्यसका असर र त्यसबाट हुने क्षति न्युनीकरणका लागि सरोकारवाला निकायहरुले र ब्यक्ति, परिवार स्वंयले पनि सचेतना अपनाउनु आवश्यक देखिएको छ । ब्यक्तिका घरमा, उद्योग तथा कलकारखानामा, समुदायले टोलमा जमेको पानी, पानी जम्न सक्ने क्षेत्रको पहिचान गरेर लामखुट्टे नियन्त्रण गर्न सकिएन भने गत वर्षहरुमा भन्दा यो वर्ष डेंगुको संक्रमण र त्यसले पु¥याउने असरको दर उच्च हुने प्रक्षेपण गरिएको छ । जिल्लाको हकमा धेरै बसोबास भएको बनेपा र बनेपामा रहेका विभिन्न खालका उद्योग, ब्यवसाय तथा संरचनामा जम्न सक्ने पानी र त्यहिबाट लामखुट्टे फैलन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा स्थानीय सरकारले नागरिकहरुलाई सचेत गराउनु आवश्यक छ ।
स्थानीय सरकारले डेंगुको लक्षण देखिएका नागरिकहरुको पहिचान र परिक्षण, उपचारमा सहजता तथा लामखुट्टे खोज र नष्ट गर भन्ने अभियानलाई तिब्र बनाउन पर्छ । जिल्लाको हकमा चालु आर्थिक वर्षको २०८२ जेठ दोश्रो सातासम्म ६ सय ९५ जनामा डेंगु संक्रमण देखिएको छ । पुरुष ३ सय ६७ र महिला ३ सय २८ जनामा संक्रमण देखिएको हो । हालसम्म काभ्रेपलाञ्चोक जिल्लामा २ हजार १ सय १५ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण गत वर्ष दुई ब्यक्तिले ज्यान गुमाएका छन् । कोभिड महामारी भन्दा पनि कडा खालको दुखार्ई तथा त्यसले पु¥याउने असरबाट बच्न नागरिकले अपनाउनु पर्ने सुरक्षा उपाय महत्वपूर्ण पाटो हो । आर्थिक वर्ष २०८०÷०८१ मा काभ्रेमा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा महिला १ सय ३५ र पुरुष १ सय १६ गरी २ सय ५१ जनामा डेंगु संक्रण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷०८० मा ६ सय ८२ जनामा डेंगु संक्रण भएको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा भने ४ सय ८७ जनामा संक्रमण देखिएको थियो ।
चालु वर्षको १० महिनामा सबैभन्दा धेरै बनेपा नगरपालिकामा संक्रमण देखिएको छ । बनेपामा २ सय ५० जनामा संक्रमण भएको छ । पाँचखालमा ११२, धुलिखेलमा १११, पनौतीमा ९६, मण्डनदेउपुरमा ४९, भुम्लुमा ३७, नमोबुद्धमा १५, रोशीमा १२, बेथान्चोकमा ५, तेमालमा ३, महाभारतमा २, चौरीदेउरालीमा २ र खानीखोलामा १ गरी ६ सय ९५ जना संक्रमित भएका छन् । अघिल्लो वर्ष पनि जिल्लामा सबैभन्दा बढी बनेपा नगरपालिकामा डेंगु संक्रमण देखिएको थियो । जिल्लाका ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यद्यपि आर्थिक वर्ष २०७९÷०८० को तुलनामा जिल्लामा डेंगु संक्रणको दर उल्लेख्य घटेको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा ६ सय ८२ जनामा डेंगु संक्रण भएको थियो । डेंगु नियन्त्रणका लागि पालिकाहरुले पनि सचेतना सहितका विविध कार्यक्रम गर्दै आइरहेका छन । आर्थिक वर्ष २०७८÷०७९ मा भने ४ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३ वर्षको तथ्यांकलाई हेर्दा डेंगु संक्रमणदरमा उतारचढाव देखिएको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । त्यसैले लामखुट्टेको टोकाईबाट बच्नु नै संक्रमणबाट बच्ने उत्तम उपाय हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । बनेपामा भएको अध्ययनले डेंगी भेक्टर सर्भे गरेका स्थानहरु डेंगी रोगको संक्रमणको उच्च जोखिममा छन्, एडिस लामखुट्टेको लार्भा÷प्युपा सूचकाङ्क न्युनतम सीमा भन्दा बढी छन् । औंलो, कालाजार, हात्तीपाईले र जापानीज इन्सेफ्लाईटिस सार्ने भेक्टरहरुको उपस्थिति रहेको छ । उक्त रोगबाट बच्न सचेतना पहिलो प्राथमिकतामा पर्नु आवश्यक छ ।





