2026 May 25/ 10:57: 41am

    मे १ अर्थात मे दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरका मजदुर एक हांै भन्ने अभियान त्यसबेला देखि चलाईयो जतिबेला मजदुरहरु संगठित थिएनन् । असंगठित मजदुरहरुका कारण पुँजीपतिहरुले श्रम शोषण गरिरहेका थिए । मजदुरहरुलाई तल्लोस्तरको ब्यवहार गरिरहेका थिए । उनिहरुको हक र अधिकार कुण्ठित गरिरहेका थिए । उनिहरुकै श्रम र पसिनाबाट धनी भएकाहरुले पनि मजदुरहरुलाई दिने अधिकार कटौती गरेका थिए । जब मजदुरहरु संगठित भए । उनिहरुका हक र अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरमा नै पेशागत आधारमा संगठनहरु गठन हुन थाले । त्यसपछि राज्य सत्ताले मजदुरहरुका आवाज सुन्ने, संगठित हुन पाउने अधिकार स्थापित गर्ने, स्वतन्त्रता सहितको प्रतिनिधित्व र उनिहरुको स्वास्थ्य उपचार लगायतका विषयमा ध्यान दिन थाले । नेपालमा जारी भएको संविधान २०७२ ले समेत मजदुरहरुको अधिकारका लागि स्पष्ट ब्यवस्था गरेको छ । तर पनि कार्यान्वन भने अझै कठिन र फितलो छ । 
    संसारभरी वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा श्रमसँग सम्बन्धित रहेर मनाउने गरिएको छ । मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ । तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको आजको दिवसलाई प्रजातान्त्रिक रुपमा अझ महत्व र उत्कर्षका साथ हेरिएको छ । १९ औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ । यसै शताब्दीको शुरुवात सँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन् । यि उधोग अनि औधोगीकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व अनि श्रमको उचित मुल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्वपूर्ण छ । १९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रमसँग समबन्धित मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यसदिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको संझना स्वरुप मे १ मनाउन थालिएको हो ।
    संसारभरीका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे । मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको थियो । नेपालका हरेक परिवर्तनमा नेपाली मजदुरहरुको सहयोग र समर्थन रहेको छ । २००७ साल देखि २०४६ साल अनि २०६३ सालसम्मको आन्दोलनमा मजदुरहरुको सक्रिय सहभागिता थियो । श्रमको परिभाषा फराकिलो भएको छ । विदेशमा गरेको श्रमबाटै आउने विप्रेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ । मजदुरहरुका लागि नेपाल सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेको छ । त्यहाँ अनिवार्य सहभागिता जनाउँदा मजदुरहरुले उपचार लगायतका विभिन्न खालका सेवा प्राप्त गर्नेछन् । अहिले कामका लागि विश्वका जुनसुकै मुलुक पुग्न सक्ने अवस्था छ । पहिले श्रमका नाममा नेपालीहरु विदेशिने गरेका थिए । अहिले अध्ययनका नाममा श्रमका लागि विदिशिने क्रम बढिरहेको छ । मुलुकको अर्थतन्त्र नै श्रमिकहरु विदेशिएका कारण सहज बनिरहेको छ । सरकारका निकायहरुले मजदुर केन्द्रित कार्यक्रम तथा मजदुर भित्रको परिभाषामा विभिन्न क्षेत्रलाई समेटेको छ । अतः आजको दिनलाई मजदुरहरु खुशी हुने दिन हो । देशभरका मजदुरहरु एक हुँदा जस्तो सुकै बलियो र शक्तिशाली ब्यक्ति र संस्था समेत झुकेको इतिहासलाई मनन गर्नु आवश्यक छ ।