2026 May 26/ 03:03: 16pm

काभ्रेपलाञ्चोक जिल्लाका २६.२७ प्रतिशत नागरिक जिल्ला बाहिर छन् । स्वदेश भित्र अनुपस्थित नागरिकहरुको संख्या ९५ हजार ६ सय २४ छ । २६ हजार ६ सय ८१ घर परिवारका नागरिक बाहिर छन् । १५ हजार १ सय ९४ घर परिवारका १९ हजार ८ सय ५८ जना विदेशमा छन् । जनसंख्या क्रमशः घट्दो क्रममा रहेको, भएको जनसंंख्या पनि शहरीकरणका कारण गाउँ रित्तो हुँदैछ । गाउँमा बजेट, विकास अनि रित्ता बस्ति । शहरमा बढ्दो जनसंख्या तर विकासका योजनामा आफ्ना पालिका भित्रका नागरिकहरु मात्रै हेरेर गरिने योजना । असन्तुलन विकास र बजेटलाई संशोधन आवश्यक छ । 
    राष्ट्रिय जनगणना, २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या ३,६४,०३९ जना रहेको छ भने जिल्लामा कूल मतदाता संख्या ३,१२,३१६ रहेको छ । स्थानीय तह अनुसार जनसंख्या र मतदाता संख्यामा चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र नमोवुद्ध नगरपालिकाको जनसंख्या पालिकाहरुको मतदाता संख्या भन्दा कम रहेको छ । जनसंख्या र मतदाता संख्या विच फरक पर्नुको मुख्य कारण तथ्याङ्क संकलनका क्रममा अपनाईएको परिभाषा र विधि नै हो । कुनै निश्चित समयमा निश्चित सिमाना भित्र अक्सर बसोवास (वर्षभरीमा जो व्यक्ति जहाँ धेरै समय बसोवास गर्दछन्) गर्ने सबै उमेरका व्यक्तिहरुको गणनाबाट त्यस स्थानको जनसंख्या निकालिने गरिन्छ भने १८ वर्ष पूरा भई सकेका व्यक्तिको स्थायी बसोवासको आधारमा मतदाता संख्या निकालिने गरिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या भन्दा धेरै मतदाता भएका पलिकाहरुका मानिसहरु अक्सर बसोबास तत् तत् पालिकाहरुमा भन्दा पालिका वाहिर अन्यत्र (स्वदेश भित्र वा विदेशमा) धेरै भएकोले ती पालिकाहरुमा जनगणनाको जनसंख्या भन्दा मतदाता धेरै भएको हो । 
    राष्ट्रिय जनगणना २०७८ मा तथ्याङ्क संकलन गर्दा परिवारमा अक्सर बसोवास गर्ने संख्या जसको विस्तृत विवरण सोहि स्थानमा लिइएको थियो भने परिवारमा अनुपस्थित संख्या स्वदेश भित्र जसको विस्तृत विवरण स्वदेशको जुन स्थानमा हो त्यहिबाट र अनुपस्थित संख्या विदेशमा जसको केहि विवरणहरु जस्तै कुन देश गएको, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, विदेश जानुको मुख्य उद्धेश्य, विदेशमा उक्त व्यक्तिले गरिरहेको काम जस्ता विवरणहरु संकलन गरिएको थियो । त्यहि कारण स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरुको संख्या भन्दा मतदाता सूचीमा भएको संख्या धेरै भएको हो । काभ्रेपलाञ्चोक जिल्लाको कुल जनसंख्या ४ लाख ७९ हजार ५ सय २१ हो । तर गणनामा ३ लाख ६४ हजार ३९ मात्रै छ । त्यसको प्रमुख कारण भनेको नागरिकहरुले आफ्नो थातथलो छाडनु हो । मतदाता सूचीमा ३ लाख २१ हजार ३ सय १६ जना ब्यक्तिले फोटो खिचाएका छन् । विदेश जाने, देश भित्रै बस्ने र स्थायी रुपमा पालिकामा बसोबास गर्नेहरुको संख्या समेत जोड्दा काभ्रेपलाञ्चोक जिल्लाको कुल जनसंख्या ४ लाख ७९ हजार ५ सय २१ हुन जान्छ । पालिकामा सबै भन्दा धेरै चौरीदेउराली गाउँपालिकाका नागरिक जिल्ला बाहिर छन् । चौरीदेउराली गाउँपालिकामा ४ हजार १ सय ५६ घर परिवार छन् । १४ हजार ७६ जनसंख्या छ । जसमध्ये ६६ सय ६१ पुरुष, ७४ सय १५ महिला रहेको छ । स्थानीय सरकारले विकास निर्माण तथा योजना निर्माणका लागि यिनै तथ्यांकहरुलाई आधार मान्नु जरुरी छ ।