स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । स्वस्थ जीवनका लागि रोग लागेपछि उपचार खोज्नु मात्र पर्याप्त हुँदैन, रोग लाग्नै नदिन अपनाइने सावधानी, सन्तुलित आहारविहार, नियमित योग तथा प्राकृतिक जीवनशैली पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । यही मान्यतालाई आत्मसात् गर्दै अघि बढेको आयुर्वेद सेवाको मूल भावना हो– ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, मेरो स्वास्थ्य मेरै हातमा र हाम्रो स्वास्थ्य हाम्रै हातमा ।’
काभ्रेपलाञ्चोक जिल्लाका आठवटा स्थानीय तहमा सञ्चालन भइरहेका आयुर्वेद सेवा तथा कार्यक्रमले नागरिकलाई परम्परागत चिकित्सा पद्धति र स्वस्थ जीवनशैलीप्रति सचेत बनाउने सकारात्मक प्रयास गरिरहेका छन् । जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रस्तुत विवरणले आयुर्वेद सेवाको पहुँच विस्तार हुँदै गएको देखाएको छ । धुलिखेल, मण्डनदेउपुर, रोशी, पनौती, बेथानचोक, भुम्लु र पाँचखाललगायतका स्थानीय तहमा सञ्चालित कार्यक्रमले नागरिकलाई निःशुल्क औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, स्तनपायी आमाका लागि दुग्धवर्धक औषधि, योग, पञ्चकर्म, शिरोधारा तथा जीवनशैली व्यवस्थापनजस्ता सेवा उपलब्ध गराउँदै आएका छन् ।
केही आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रले शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गर्नु उत्साहजनक पक्ष हो । कतिपय केन्द्रले सीमित स्रोतसाधनका बाबजुद उच्च प्रगति हासिल गरेका छन्। विद्यालय आयुर्वेद तथा योग शिक्षा, घरभेट कार्यक्रम, स्थानीय जडीबुटीको पहिचान तथा संरक्षण र ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनका गतिविधिले आयुर्वेद सेवालाई उपचारमा मात्र सीमित नराखी जनस्वास्थ्य र समुदायको जीवनशैलीसँग जोड्ने प्रयास गरेका छन् । तर प्रगतिको तथ्यांकले मात्र सेवाको वास्तविक गुणस्तर मापन गर्न सकिँदैन । नागरिकले सहज रूपमा सेवा पाएका छन् कि छैनन्, आवश्यक औषधि समयमै उपलब्ध छन् कि छैनन् र उपचार तथा परामर्श प्रभावकारी छ कि छैन भन्ने विषय अझ महत्वपूर्ण हुन् । जिल्लाका अधिकांश आयुर्वेद केन्द्रमा पर्याप्त जनशक्ति, औषधि, भवन, उपकरण, कम्प्युटर, इन्टरनेट तथा आवश्यक बजेटको अभाव देखिनु चिन्ताको विषय हो। सेवा विस्तारको लक्ष्य राख्ने तर त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन नगर्ने हो भने कार्यक्रमको प्रभावकारिता अपेक्षाअनुसार हुन सक्दैन ।
आयुर्वेद नेपालको मौलिक चिकित्सा ज्ञान, परम्परा र प्राकृतिक स्रोतसँग जोडिएको महत्वपूर्ण स्वास्थ्य पद्धति हो । स्थानीय स्तरमा पाइने जडीबुटीको पहिचान, संरक्षण, वैज्ञानिक उपयोग र प्रवद्र्धन गर्न सके यसले स्वास्थ्य सेवामा योगदान पु¥याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ । तर जडीबुटीको उपयोग गर्दा वैज्ञानिक अध्ययन, गुणस्तर, सुरक्षित प्रयोग र प्रमाणमा आधारित उपचार पद्धतिलाई प्राथमिकता दिन आवश्यक छ। परम्परागत ज्ञानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग समन्वय गर्दै अघि बढाउनु आजको आवश्यकता हो । यसका लागि स्थानीय तहले आयुर्वेद कार्यक्रमलाई सामान्य प्रशासनिक दायित्वका रूपमा मात्र नहेरी नागरिकको आधारभूत स्वास्थ्य सेवाको महत्वपूर्ण अंगका रूपमा लिनुपर्छ । आवश्यक बजेट विनियोजन, दक्ष जनशक्तिको व्यवस्था, औषधिको नियमित आपूर्ति, उपयुक्त भवन तथा उपकरणको उपलब्धता सुनिश्चित गरिनुपर्छ। साथै, सेवा प्रवाहको नियमित अनुगमन, उपलब्धिको वस्तुनिष्ठ मूल्यांकन र नागरिकको प्रतिक्रियालाई योजनामा समेट्नुपर्छ ।
जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीले विगतका उपलब्धि र कमजोरी पहिचान गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि योजना निर्माण गर्ने अवसर प्रदान गरेको छ । कार्यसम्पादनमा उत्कृष्ट धुलिखेल आयुर्वेद औषधालय र भुम्लु गाउँपालिकास्थित नागरिक आरोग्य केन्द्रलाई गरिएको सम्मानले अन्य संस्थालाई पनि प्रतिस्पर्धात्मक र परिणाममुखी सेवा प्रवाहका लागि प्रेरित गर्न सक्छ । तर उत्कृष्टताको मूल्यांकन गर्दा खर्च प्रतिशत र भौतिक प्रगतिसँगै सेवाग्राहीको सन्तुष्टि, उपचारको गुणस्तर र सेवाको पहुँचलाई पनि आधार बनाउनुपर्छ । अन्ततः आयुर्वेद सेवाको सफलता कार्यक्रम सञ्चालन र बजेट खर्चमा मात्र होइन, नागरिकको स्वास्थ्य व्यवहारमा आएको सकारात्मक परिवर्तन र सहज, सुरक्षित तथा गुणस्तरीय सेवाको उपलब्धतामा निर्भर हुन्छ । ‘मेरो स्वास्थ्य मेरै हातमा’ भन्ने नारालाई व्यवहारमा उतार्न राज्य, स्थानीय तह, स्वास्थ्यकर्मी र नागरिक सबैको साझा जिम्मेवारी आवश्यक छ । आयुर्वेद सेवाको विस्तारसँगै यसको गुणस्तर, विश्वसनीयता र प्रभावकारितामा जोड दिन सके मात्र स्वस्थ नागरिक, स्वस्थ समाज र समृद्ध जिल्लाको लक्ष्य हासिल गर्न सकिन्छ ।









