2026 May 26/ 03:03: 15pm

असोज १०–१२ मा परेको भिषण वर्षाबाट जिल्लामा साना ठुला गरी दुई सय भन्दा धेरै खानेपानी आयोजनामा १ अर्ब भन्दा धेरै क्षति पुगेको छ । महत्वपूर्ण र गौरवपूर्ण आयोजना ध्वस्त भएका छन् । ध्वस्त आयोजना पुनर्निर्माणका लागि संघ र प्रदेश सरकारले अझै निर्णय गरेका छैनन् । आयोजनामा भएको अन्योलका कारण नागरिकहरु खानेपानी उपभोगबाट बञ्चित भईरहेका छन् । स्थानीय सरकारले २०७४ सालमा नै घोषणा गरेका थिए ‘हरेक नागरिकहरुको घरघरमा धारा पु-याउँछौं । एकघर एकधारा निर्माण गर्नेर्छाै ।’ धेरै हदसम्म स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त बाचा पुरा गरेका छन् । तर प्रकृतिका सामु कसैको केहि लागेन । सम्पन्न भएका कयन आयोजना ध्वस्त भए । क्षतिग्रस्त भए । केहि संरचना टुटफुट भए । तर कहिले बन्छन् ? अझै यो प्रश्नको उत्तर नागरिकहरु, स्थानीय तह र सरोकारवाला निकायले भन्न सकिरहेका छैनन् । 
    धुलिखेल नगरपालिकामा चार दशक अघि ल्याएको खानेपानी आयोजनामा विपत्तिका कारण असर पा¥यो । शिक्षा, स्वास्थ्य, पर्यटन, सरकारी कार्यालयहरु, नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न क्षेत्रमा संकट देखियो । खानेपानी आयोजना सम्पन्न गरी उद्घाटनको मिति तोकिएका आयोजना ध्वस्त भई शुन्यमा पुगेका छन् । जिल्लामा १ सय ९८ आयोजनामा क्षति पुगेको छ । ८४ करोड १२ लाख ६२ हजार रुपैयाँ उक्त आयोजनामा क्षति पुगेको छ । इन्टेक, पाईप लाईन, ईलेक्ट्रिक वर्कस् लगायतका अन्य पूर्वाधारहरुमा क्षति पुगेको छ । प्रदेश अन्तर्गतका १ सय ३४ वटा आयोजनामा क्षति पुगेको छ । स्थानीय सरकार र संघ सरकारले संचालन गरेका केहि आयोजनाहरु यो सूचीमा छैनन् । नाल्दुम, गोकुले तथा दाप्चा काशिखण्ड आयोजनामा पुगेको क्षतिले आयोजनाको भविष्य अन्योलमा परेका छन् । तत्कालै संघ र प्रदेश सरकारले बजेट उपलब्ध गराउन सकेका छैनन् । जिल्लामा १ सय ३४ वटा आयोजनाका लागि पाईप वितरण गरिएको थियो । जसका लागि संघ सरकार मार्फत २३ वटा आयोजनामा ४६ हजार १ सय मिटर पाईप वितरण भएको छ भने प्रदेश सरकारको तर्फबाट १ सय ११ आयोजनामा ७८ हजार २७ मिटर पाईप वितरण गरिएको छ । ७८ किमी प्रदेश र संघले ४६ किमी पाईप उपलब्ध गराएको छ । युनिसेफ मार्फत २ हजार सेट आपतकालिन सामाग्री वितरण गरिएको थियो । प्रति सेटमा मग, बाल्टिन, हाईजेनिक किट, पियुष र विल्चिङ्ग पाउडर रहेको थियो । धुलिखेलमा १३, पनौतीमा १८, भुम्लुमा ५, मण्डनदेउपुरमा ३, बनेपामा ४, नमोबुद्ध ११, बेथान्चोकमा २६, तेमालमा १, पाँचखालमा २, रोशीमा ८, चौरीदेउरालीमा १ वटा आयोजनामा पाईप उपलब्ध गराईएको हो । महाभारत र खानीखोलामा तत्काल पाईप पठाउन सकिएको थिएन । 
    जिल्लामा काभ्रे एकीकृत खानेपानी, पाँचखाल एकीकृत खानेपानी, तेमाल बृहत खानेपानी र नमोबुद्ध नगरपालिकामा संचालित आयोजनाहरुमा करोडांैको क्षति पुगेको छ । यी सबै आयोजना संघ सरकारले दातृ निकाय मार्फत संचालन गरिरहेको छ । प्रदेश सरकारले संचालन गरेका पनि महत्वपूर्ण आयोजनाहरुमा क्षति पुगेको छ । महाभारत, बेथान्चोक, पनौती, धुलिखेल खानेपानी उपभोक्ता समिति लगायतका महत्वपूर्ण आयोजनामा पुगेको क्षतिमा अझै पुर्ननिर्माण हुन सकेको छैन । यी सबै आयोजना संचालन भई पहिलाकै अवस्थामा आउन कति समय लाग्छ ? बजेट कसरी ब्यवस्थापन हुन सक्छ ? चुनौती नै चुनौतीमा तीन तहका सरकार छन् । यसको मार नागरिकहरुले भोगिरहेका छन् ।