लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ । विश्वमा नै लैङ्गिक हिंसा न्यूनीकरणमा शशक्त अभियान शुरु भएको छ । हरेक वर्ष हुने यस्ता अभियान र कार्यक्रम सचेतनामुलक हुने गरिए पनि अभियानकै क्रममा पनि लैङ्गिक हिंसाका घटनाहरु भईरहेका छन् । संख्यामा पनि कमि हुन सकेको छैन । नेपाल सरकारले देशभर बालश्रम, बालविवाह तथा जघन्य खालका हिंसाका घटनामा अधिकांश पुरुषहरु मात्रै देखिने गरेको बताए पनि प्रविविध, बेरोजगार तथा अन्य कारण महिलाहरुका कारण पुरुषहरु पनि उत्तिक्कै पिडामा पर्ने गरेको बताएका छन् । समलिङ्गी, तेश्रो लिङ्गी अर्थात लिंङ्गका आधारमा हुने विभेद र हिंसाका घटनामा न्यूनिकरण गर्न बालविवाह नियन्त्रण वा न्यूनीकरणमा राज्यका निकायहरु सक्रिय हुनु पर्छ ।
नेपालका दुरदराजमा विविध कारण बालविवाह हुने गरेको छ । कतै संस्कृतिका नाममा, कतै रितिरिवाजका नाममा, कतै परम्परा धान्ने नाममा बालविवाह हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिकाहरुमा पनि बालविवाहका घटनामा बढोत्तरी हुन थालेको छ । विशेषगरी महाभारत, खानीखोला, तेमाल, रोशी, चौरीदेउराली लगायतका गाउँपालिकामा हुने बालविवाह अभिभावकहरुमा समेत सचेतना कमी भएका कारण हुने गरेको छ । तर शहरी क्षेत्रमा बालमैत्री नगर तथा वडा घोषणा भएका स्थानमा पनि बालविवाह भईरहेको छ । पहिले सानैमा विवाह गर्ने चलन थियो । अहिले फेसन भएको छ । प्रविधिले बालबालिकाहरुलाई अभिभावकहरुको सहमति वेगर विवाह गरेर भाग्ने चलन बढिरहेको छ । विद्यालयमा शिक्षकहरुले बालविवाह, वालविवाहका असर र त्यसका नकारत्मक तथा कानूनी विषयमा जानकारी गराएको भए पनि सहज रुपमा बालबालिकाहरु विवाह गर्न किन अभिप्रेरित भईरहेका छन् ? राज्यका निकायहरुले यहि विषयको कारण पत्ता लगाउँदै त्यसको न्यूनीकरणका लागि अभियान शुरु गर्नु पर्छ ।
महाभारत गाउँपालिकामा वर्षेनी २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने ५० भन्दा धेरै जोडी छन् । १६ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या ३५ भन्दा धेरै छ । कक्षा ७ देखि नै बालबालिकाहरुका विवाह गरेर जाने, अध्ययन छाड्ने, कम उमेरमा विवाह गर्ने, विवाह र जन्म दर्ता नहुने समस्या त छँदै छ कम उमेरमा विवाह गर्दा देखिने स्वास्थ्य अवस्थाका बारेमा सचेत गराउँदा पनि बालविवाह कम हुन सकेको छैन । मोवाईलको प्रयोगसँगै बालबालिकाहरु कुलतमा फसिरहेका छन् । महाभारत गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय र ९ वटा आधारभुत विद्यालय छन् । १७ वटै विद्यालयबाट बर्षेनी अध्ययन छाडेर बालबालिकाहरु मोवाईलबाट भागी विवाह गर्ने गरेका छन् । विद्यालय, अभिभावक, सुमदाय र गाउँपालिका, वडा तथा विभिन्न निकायहरुको पहल जारी छ तर पनि बालविवाह न्यूनीकरण हुन सकेको छैन । हरेक वर्ष बालविवाह तथा कानुन विपरित २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने जोडीहरुको संख्या बढिरहेको छ । बालविवाह न्यूनीकरणका लागि यो वर्ष देखि बालबालिकाहरु नै परिचालन गर्न शुरु गरिएको छ । पहिलो चरणमा बालबालिकाहरुलाई बाल विवाह के हो ? बालविवाहका कारण हुन सक्ने जोखीम तथा त्यसका असरका बारेमा विद्यालय स्तरीय सचेतना कार्यक्रम, अभियान, पुरस्कार तथा कानूनी कारवाहीका बारेमा समेत सचेत गराउँदै बालविवाह रोक्ने अभियानमा सक्रिय हुनु जरुरी छ । बालविवाहका कारण भोगिरहेका ब्यवहारीक, कानूनी र सामाजिक समस्याका बारेमा समेत बालबालिकाहरुलाई समयमै सचेत गराउन सकियो भने न्यूनीकरण सम्भव छ ।





