2026 May 26/ 03:03: 57pm

         राष्ट्रिय जनगणना २०७८ ले सङ्कलन गरेका विभिन्न तथ्यांकहरु क्रमश सार्वजनिक भईरहेका छन् । नेपालको इतिहासमा पहिलो पटक तथ्यांक संकलनमा प्रयोग भएका विधी, संघीय संरचना अनुसारको बनोट र नयाँ नयाँ तथ्यमा तथ्यांक कार्यालयले विवरणहरु प्रकाशन गरिरहेको छ । पछिल्लो चरणमा नागरिकहरुको जीवनस्तरसँगै उनिहरुले प्रयोग गर्ने आवास तथा उनिहरुको सुविधायुक्त सुचकमा प्रयोग गरिएका प्रविधि तथा बस्तुहरुका बारेमा जिल्लाका १३ वटै पालिका र वडा
          स्तरको तथ्यांक सार्वजनिक भएको हो । काभ्रेपलाञ्चोक जिल्ला संघीय संरचनामा जानु अघि ८७ गाउँपालिका र ३ वटा नगरपालिकामा विभाजन थियो । केहि पालिकाहरु बढ्ने र घट्ने क्रम पनि थियो । संघीय संरचनामा साविकका गाविसहरुलाई जोडेर गाउँपालिका र नगरपालिका बनाईएको छ । केहि गाविसहरु वडाका रुपमा चिनिएका छन् भने केहि गाविसहरुलाई दुईवटा वडा बनाईएको छ । जसो गरे पनि नागरिकहरुले प्राप्त गर्नु पर्ने सेवा र सुविधा अझै सहजै स्थानीय तहबाट प्राप्त गर्न सकेका छैनन् । 
    स्थानीय तहहरुले माथिल्ला सरकारहरुले बनाउनु पर्ने कानून नबनाउँदा सहजै सेवा प्रदान गर्न सकेका छैनन् । तथ्यांक हरेक सरकार तथा हरेक क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार हो । त्यहि महत्वपूर्ण आधारलाई सहज बनाउने गरी राष्ट्रिय तथ्यांक कार्यालयले वडागत रुपमा विभिन्न सुचकहरु संकलन गरी सार्वजनिक गरिरहेको छ । नागरिकहरुले प्रयोग गर्ने घरको बनोट संरचना र किसिम जसअन्र्तगत जग, पर्खाल, छानो, भुई आँदि, खानेपानीको मुख्य स्रोत, खाना पकाउन र बत्ती बाल्न प्रयोग हुने इन्धन, शौचालयको सुविधा र अन्य घरायसी सम्पत्तिको आधारमा देशका विभिन्न भू–भागमा बसोबास गर्ने परिवारलाई पाँच बराबर भागमा विभाजन गरी सम्पन्नताको पन्चमक निर्धारण गरेको छ । सूचक निर्माण गर्दा घरायसी उपभोग, साधन तथा सुविधामा न्यून पहुँच भएका पहिलो (तल्लो २० प्रतिशत) वर्गमा र साधन तथा सुविधामा सहज पहुँच रहेका परिवार पाँचौ (माथिल्लो २० प्रतिशत) वर्गमा पर्ने गरी गरिएको थियो । उक्त वर्गिकरणले देशका सवै परिवारलाई समान २० प्रतिशतमा विभाजन गर्ने हुनाले तल्लो देखि माथिल्लो तहसम्मका पाँचै भागमा २० प्रतिशत नै परिवार भएको देखिन्छ । समग्र देश भरिका परिवारलाई समान पाँच भागमा वितरण गर्दा काभ्रेपलाञ्चोक जिल्ला तथा पालिकामा भएका घर परिवार कुन तहमा रहेका छन् र तीनको अवस्था कस्तो छ ? त्यसका बारेमा विश्लेषण गरिएको छ । 
    राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा न्यून आर्थिक अवस्था भएका तल्लो वर्गमा १५.७ प्रतिशत परिवार रहेका छन् भने माथिल्लो वर्गमा १८.२ प्रतिशत परिवार रहेका छन् । मध्यम वर्गमा २२.०१ प्रतिशत परिवार रहेको देखिन्छ । पालिकागत रुपमा न्यून आर्थिक अवस्था भएको परिवार सबैभन्दा धेरै खानीखोला गाउँपालिकामा ४२.८ प्रतिशत रहेको देखिन्छ भने त्यसपछि क्रमशः भुम्लु गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिकामा ३७.७ %, ३७.६ %, ३२.५ % परिवार रहेको देखिन्छ । सबैभन्दा कम बनेपा नगरपालिकामा २.२३ %, धुलिखेल नगरपालिकामा ५.४८ %, पनौती नगरपालिकामा ५.७६ प्रतिशत, मण्डन देउपुर नगरपालिकामा ८.६७ %, पाँचखालमा ९.१५%, अनि न्यून आर्थिक अवस्था भएका पालिकामा चिनिन्छन् ।  माथिल्लो वर्गमा सबैभन्दा धेरै परिवार बनेपा नगरपालिका (४३.७ प्रतिशत) रहेको छ भने त्यसपछि धुलिखेल नगरपालिका ३०.३ प्रतिशत, पनौती नगरपालिका २७.२ प्रतिशत तथा पाँचखाल नगरपालिकामा १८.१ प्रतिशत रहेको देखिन्छ । 
    पहिलो पाँच वर्षको अवधी पूरा गरेका स्थानीय तहहरु मध्ये केहिले आफ्नो अवस्थामा सुधार गरेका छन् । दोश्रो पटक निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल चलिरहेको छ । यो अवस्थामा विपत्ति तथा विभिन्न कारण सोचे जस्तो नागरिकहरुको जीवन सहज छैन । तर पनि नागरिकहरुको सम्पन्नतामा पहुँच पुग्न सकेको छैन । यो अवस्था सुधार्न तीन तहकै सरकार र सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्दै कार्यक्रमहरु योजनागत रुपमा कार्यन्वन गर्नु आवश्यक छ ।