असोज १०–१२ मा परेको अविरल वर्षात्का कारण काभ्रेपलाञ्चोक जिल्लाका विशेषगरी पनौतीको रोशी क्षेत्र, बेथान्चोक र रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुग्यो । अन्य पालिकाका वडाहरुमा पनि क्षति हुन गएको छ । मुलतः खानी र पानी धेरै भएका क्षेत्रमा यो वर्षको वर्षात्ले धेरै क्षति बनाएको छ । नागरिकहरुको उठिबास लागेको छ । केहि नागरिक सुकुम्बासी बनेका छन् । राज्यका निकायले क्षतिको मुल्यांकन गर्न सकेको छैन । नागरिकहरु त्यहि क्षतिबाट पानीको पाईप बगाउँदा काकाकुल बन्न पुगेका छन् । सदरमुकाम धुलिखेलमा पानीको हाहाकार छ । त्यहि पानी ध्वस्त बनाउने, बस्ति माटो बनाउने खानी र खानीजन्य सामाग्री उत्पादन गर्ने क्रसरहरु राति राति संचालनमा आउन थालेका छन् । पनौतीबाट दर्जनौं टिपरहरु राति राति राजश्व विना दौडन थालेका छन् । स्थानीय सरकारको समेत मौन समर्थनमा शुरु भएका खानीहरु संचालनमा आँखा चिम्लिएका स्थानीयहरु पानी नियमित गर्न अवरोधको डंका पिटिरहेका छन् । यहि बेला जिल्लाले गठन गरेको वातावरणविद् सहितको टोलीले काभ्रेपलाञ्चोक जिल्लामा तत्काल खानी संचालन गर्न नहुने सुझाव पेश गरेको छ ।
दर्ता तथा नवीकरण भएर मापदण्ड पुगेका खानी तथा क्रसर उद्योगहरुको सम्बन्धमा थप स्थलगत अध्ययन गरेर प्राविधिक प्रतिवेदनका आधारमा निरन्तर सञ्चालन गर्ने वा संचालनमा रोक लगाउने निर्णय गर्न भुगर्भविद् तथा वातावरणविद्हरुले सुझाव दिएका हुन् । मापदण्ड नपुगेका र दर्ता नभई संचालनमा रहेका खानी तथा क्रसर उद्योग संचालनमा कडाईका साथ रोक लगाउन सुझाव दिएको छ । यो सुझाव कागजमा मात्रै सिमित हुनेछ । यसअघि पटकपटक अनुगमन गरी खानी तथा क्रसरले पु¥याएको असर र त्यसबाट हुन सक्ने जोखिमका बारेमा राज्यका निकायहरुले जानकारी पाएको भए पनि निर्वाध संचालन हुँदा अहिलेको विपत्ति निम्तिएको हो । विपद् प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि वातावरणीय दृष्टिकोणबाट तीन तहका सरकारले गर्नु पर्ने १९ बुँदे सुझाव दिएको छ । जसलाई अल्पकाल र दीर्घकाल रुपमा अलग बनाईएको छ । कस्ता समस्या, कुन निकायले कति समय भित्र पुरा गर्नु पर्ने अवस्था छ ? त्यसका बारेमा पूर्ण विवरण उपलब्ध गराईएको छ । सुझावलाई कागजी रुपमा लिईने र ब्यवहारमा कार्यान्वयन नगर्ने पुरानै रोगका कारण हरेक वर्ष यस्ता विपदका घटनाहरु बढिरहेका छन् ।
‘अधिकांश खानी उद्योगले भिरालो जमिन खन्दा सो स्वीकृत खानी योजना बेन्चिङ्ग, संवेदनशील खस्न लागेको जमिनको सतह हटाई जमिन पुन प्राप्ती लगायतका कार्य गरेका छैनन् । अधिकांश क्रसर उद्योगहरुले माटो, वालुवा छानेर खोलाको छेउमा थुपारेको बाढी आउँदा सो मिसिएर थप लेदो बनी बाढीको सतह बढाउन, धार परिवर्तन गर्न, नदी कटान र नदीको चौडाई बढाउन सहयोग पु¥याएको छ । विगत ३० वर्ष यता पानी कम पर्ने, परे पछि निरन्तर र ठूलो पर्ने, बाढी पहिरो जाने, तातो बढेको, बालीनाली पाक्ने सिजन अगाडी सरेको जस्ता जलवायु परिवर्तनका असरहरुसँग मिल्ने असरहरु बुझिएको र मौसमजन्य विपद्मा जलवायु परिवर्तनको भूमिकाका सन्दर्भमा थप अध्ययन गर्न समितिले सुझाव दिएको छ । प्रकोप पूर्व अनुमानको वेवास्ता, भिरालो भौगोलिक अवस्था, असावधानीपूर्वक प्राकृतिक श्रोतको दाहेन, वातावरणीय मापदण्ड पूरा नगरी संरचना निर्माण एवं अब्यबस्थित मानव बस्ति रहेका कारण विपद्मा धेरै क्षति हुन पुगेको निष्कर्ष अध्ययन टोलीको छ ।
प्राविधिक, वातावरणीय, भौगोलिक, राजनैतिक, सामाजिक आर्थिक आयाम र जलवायुजन्य विपद र समस्याले सृजना गरेका असर मुख्य कारण मानेको छ । काभ्रेपलाञ्चोक जिल्लामा २०८१ असोज १० देखि १३ सम्म आएको अविरल भारी वर्षाका कारण ठूलो, बाढी, पहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा ठूलो क्षति भएको सन्र्दभमा प्रमूख समस्याको पहिचान, त्यसको कारण र प्रभाव पहिचान गरी आगामी दिनमा यस्तो जलवायुजन्य विपद् आउन नदिन चाल्नुपर्ने कदमका सन्दर्भमा भूगर्भविद्, वातावरणविद्ले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो ।





