2026 July 19/ 12:25: 31am

जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय समुदायमा परेको छ । जलवायु परिवर्तनका कारण नागरिकहरुले थातथलो छाड्नु पर्ने परिस्थिति सिर्जना हुँदै गएको छ । पानी पर्दै नपर्ने अनि परे पछि अनियन्त्रित भई भु–क्षय गराउने क्रम बढेको छ । जिल्लाका विभिन्न स्थानमा अर्थात देशका विभिन्न भु–भागमा परेको वर्षाले क्षति गराएको छ । कतै धेरै पानी पर्ने, कतै पानी नै नपर्ने हुँदा कृषकहरुलाई समस्या परेको छ । वातावरण जोगाउन बृक्षारोपण गर्ने, आगलागी नियन्त्रणका लागि युवा सहितको सहभागितामा दक्ष जनशक्ति र श्रोत साधनको ब्यवस्थापन गर्न, वातावरण मैत्री संरचना निर्माण गर्न, खण्डवृष्टि, अतिवृष्टी र अनावृष्टीमा ध्यान दिन तीन तहका सरकार सक्रिय हुनु आवश्यक छ । 
    चौरीदेउराली गाउँपालिकामा २०३८ साल पछि २०८१ सालमा ठुलो पानी प¥यो । २०३८ साल पछिको ठुलो पानी परेको अहिले देखें । खडेरी पनि लामो समय भयो । २०८० भाद्र २२ गते परेको पानी २०८१ असार २२ गते मात्रै पानी प¥यो । साउन १० गतेसम्म सबै गाउँ बगायो । लामो समय पानी नपरेको जमिनमा अनियन्त्रित वर्षात् हुँदा थप क्षति पुगेको अध्यक्ष गौतमले बताए । माघ महिना देखि शुरु भएको डढेलो जेष्ठ महिनासम्म लाग्यो । आगो र घामबाट सुकेको जमिनमा परेको पानीले जमिन बग्यो । लामो समय खडेरी हुँदा स्थानीयहरुले आफ्नै बारी छेउमा बालेको आगोले बगैंचा नष्ट हुन पुग्यो । खेति प्रणालीमा असर पु¥यायो । हिउँदमा खेती गरौ पानी नआएका कारण उब्जनी हुँदैन, वर्षात्मा आएको पानीले क्षति पु¥याउँछ । जलवायु परिवर्तन विपद्को सूचीमा राख्न, त्यससम्बन्धि तीन तहकै सरकारले कानून बनाउन र नागरिकहरुको जीवन रक्षा गर्न आवश्यक छ । 
    भुकम्प, कोरोना, जलवायु परिवर्तनले वर्षातमा बाढी पहिरो र हिउँदमा खडेरी तथा डढेलो, चट्याङ्ग लगायतबाट पुगेको क्षति न्यूनिकरण गर्न, जंगली जनावरले दिएको दुःख र हैरानी कम गर्न नीति तथा कार्यक्रम प्रष्ट उल्लेख गरेर जलवायु अनुकूलन कार्यक्रम शुरु गर्न जरुरी छ । हिउँदमा लागेको आगोका कारण करोडौं रुपैयाँका उत्पादन नष्ट भएका छन् । आगो नियन्त्रणका लागि प्रयत्न हुन सम्भव भएन । १० महिना पछि १० दिन परेको पानीले पु¥याएको क्षतिका बारेमा आँकलन नै गर्न नसकिने परिस्थिति छ । हिउँदमा करोडौ रकम खर्चेर सडक खन्यो, वर्षात्मा खन्न भन्दा सोहोर्न र ब्यक्तिका घरहरु जोगाउन धेरै बजेट खोज्नु पर्ने अवस्था आउन थालेको छ । नागरिकहरुलाई यो संकटबाट कसरी मुक्त गराउन सकिन्छ ? हामी विकास गरिरहेका छौं कि विनाश ? विकास, विनाश अनि बुद्धि आउन लागेको हो ?’ जलवायु अनुकुलन विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न, विकास, विनाश पछि बुद्धि आउने विषयलाई कम गर्न, वातावरण मैत्री संरचनामा स्थानीय सरकार एक्लैले प्रयत्न गर्न सम्भव छैन । त्यसैले नागरिकहरुको जीवन रक्षाका लागि, स्थानीयस्तरमा नै नागरिकहरुको बसोबासलाई टिकाई रहन पनि जलवायु अनुकूलनका कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । 
    जिल्लाको बेथान्चोक, चौरीदेउराली गाउँपालिकामा विभिन्न संघ संस्था मार्फत शुरु गरिएको यस्ता कार्यक्रमहरुलाई स्थानीय सरकारले अपनत्व ग्रहण गर्दै प्रदेश र संघ सरकारले समेत ध्यान दिनु पर्छ । तब मात्रै विश्वमा देखिएको जलवायु परिवर्तन पछिको संकटमा नेपालले शुरु देखि नै आफुलाई अनुकूलन बनाउँदै अघि बढ्न सम्भव छ ।