देशभर संगठित र झाँगिदै गएको तस्करीमा राजनीतिक संलग्नता र संरक्षण देखिन थालेको छ । अझ दलका नेताहरु नै तस्करीमा संलग्न हुन थालेको घटनाले आम सर्वसाधारणमा दलहरुले भन्दै आएको सुशासन, पारदर्शिता र भ्रष्टाचार शुन्य समाजको परिकल्पना बोलीमा मात्रै हो कि भन्ने आशंका बढेको छ । काभ्रेपलाञ्चोक जिल्लाका केहि नेताहरु पनि तस्करीमा संलग्न भएका घटना पुष्टि भएका छन् । दलका नेताहरुकै संरक्षण र उनिहरुकै संलग्नताले दल, दलको नेता बन्न गरिएको अभिष्ट, राजनीतिक दलमा प्रवेश तथा सक्रियता नै किन ? भन्ने छर्लङ्ग बनाएको छ । सुन तस्करी प्रकरणमा नेताहरुको सक्रियता, छट्टपहाट, पक्राउ तथा अन्य घटनाले दलका नेताहरु कुनै न कुनै तरिकाले तस्करीमा संलग्न भएको पुष्टी भएको हो ।
सत्ताको चरम दुरुपयोग गर्दै मलद्वारमा समेत सुन लुकाएर ल्याउने गिरोहका मुख्य नाईके विकास योञ्जन गौशालाबाट पक्राउ परेका छन् भने तेमालका थर्कमान भनिने कान्छा लामालाई सुन तस्करी अभियोगमा भएको अनुसन्धान पछि धरौटीमा छाड्ने आदेश भएको छ । दुबै जना नेपाली काँग्रेसका नेता हुन् । थर्कमान जिल्ला सदस्य हुन् भने विकास युवा नेता हुन् । यस अघि विभिन्न लुटपाटमा पनि नेताहरु संलग्न भएको सार्वजनिक भएको छ । नेपाली काँग्रेस काभ्रेका जिल्ला कार्य समिति सदस्य कान्छा भनिने थर्कमान लामालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवि) ले पक्राउ गरेको थियो । उनी ६१ किलो सुन प्रकरणमा संलग्न भएको अभियोगमा सिआईविले पक्राउ गरि अनुसन्धान गरिरहेको थियो । अदालतले उनलाई ९६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । १० वर्ष अघि कान्छा सहितका केहि ब्यक्तिहरु लुटपाटमा संलग्न भएको अभियोगमा समेत पक्राउ परी केहि दिनको हिरासत पछि छुटेको प्रहरी रेकर्डमा उल्लेख छ । थर्कमानले सुन तस्करीमा संलग्न भई विक्री वितरणमा सहयोग पु¥याएको अभियोग थियो । नेपाली काँग्रेसमा पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ पर्नेहरुको संख्या बढ्न थालेको छ । तस्करीको ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पु¥याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको थियो । तर सुन तस्करी सम्वन्धी छानविन आयोगले दिएको सिफारिसमा प्रहरीले गरेको अनुसन्धान बायस देखिएको भन्दै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो ।
मलद्वारमा सुन लुकाएर तस्करी गर्ने गिरोहका मुख्य नाईके काभ्रे महाभारत गाउँपालिका गोकुल घर भएका विकास योञ्जनलाई १० महिना पछि प्रहरी परिसर काठमाडौको विशेष टोलीले पक्राउ गरेको हो । नेताहरुकै कारण आफु फसेको बताउने गरेका विकास योञ्जनलाई प्रहरीले विभिन्न स्थानमा खोजी गरिरहेको थियो । सुन तस्करी गरी ल्याउने गरेका उनले बनेपाका विभिन्न स्थानमा भुमिगत शैलीमा सुनलाई पगालेर विक्री गर्ने गरेका थिए । सुन ल्याउन र सुनको तस्करीमा लगानीका लागि विकासले नेताहरुको साथ र सहयोग लिएका थिए । प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरुले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका १५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको थियो । पक्राउ परेका भरियाका साथबाट ९६० ग्राम सुन सहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी बरामद गरेको थियो । केहि थान चेक बरामद भएका थिए । उक्त गाडी र मोटरसाईकल दुवै विकास योञ्जनले प्रयोग गर्ने गरेका थिए । उनका सवारी साधनहरु नेताहरुले पनि प्रयोग गर्दै आएका थिए । नेताहरुको तस्करीमा संलग्नता र संरक्षणले राजनीति भनेको यस्तै कार्यका लागि हो कि भन्ने देखाएको छ ।





