एसईई २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १६ माध्यमिक विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय ५१ जना परीक्षामा सहभागी भएका मध्ये २ हजार ३ सय ९५ जना अनुत्तिर्ण भए । देशभरका विद्यालयहरुको अवस्था यो वर्ष त्यस्तै देखियो । जिल्लामा रहेका दर्जनौ विद्यालयहरुको अवस्था पनि यो वर्ष त्यस्तै देखियो । शैक्षिक गुणस्तर सुधार गर्न सबै क्षेत्रको सक्रियता आवश्यक छ । सामुदायिक विद्यालयका थुप्रै समस्याहरु छन् । विद्यालय परिवार एक्लैले उक्त समस्या समाधान गर्न सक्दैन । स्थानीय सरकार समस्याबाट पन्छन मिल्दैन । विद्यालयमा विषय शिक्षक छैनन् । विद्यार्थीहरुले शैक्षिक सत्र सकिन लाग्दा समेत शिक्षक प्राप्त गर्न सक्दैनन् । यस्तो अवस्थामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई गाली गरेर मात्रै विद्यालयको शैक्षिक गुणस्तर सुध्रने अवस्था छैन । शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक, शिक्षक, विद्यालय, समुदाय र तीन तहकै सरकारको समन्वय आवश्यक छ ।
सरकारले धेरै वर्ष पछि पहिलो पटक सबै विषयमा पुरक परीक्षा दिने ब्यवस्था गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड बृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा संचालन गर्नेछ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट विहान ६ बजे देखि ७.५५ सम्म र साँझ साँढे ४ देखि साँढे ६ बजेसम्म कक्षा शुरु हुनेछ । नेपाल टेलिभिजनबाट अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषय विहान पढाई हुनेछ । त्यस्तै साँझ सामाजिक, विज्ञान, गणित र अंग्रेजी विषयको अध्ययन हुनेछ । रेडियो नेपालबाट गणित, सामाजिक, विज्ञान र अंग्रेजी विषयको अध्ययन हुनेछ । ग्रेड बृद्धिका लागि परीक्षा दिनेहरुले उक्त समयमा कक्षा लिन सक्नेछन् । सामुदायिक तर्फका २ र नीजि तर्फका १६ गरी १८ विद्यालयका विद्यार्थीहरु शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ मा रहेको सामुदायिक विद्यालय बुद्ध हिमालय र बनेपा ६ मा रहेको संस्कृत विद्यालय नैमिषारन्यबाट सहभागि विद्यार्थी शतप्रतिशत उत्तिर्ण भए । जिल्लाको शहरी क्षेत्र मानिएको बनेपा, पाँचखाल, ग्रामिण क्षेत्रका महाभारत, खानीखोला, बेथान्चोक, भुम्लु लगायतका पालिकाका विद्यालयहरुबाट विद्यार्थी शुन्य उत्तिर्ण भएका छन् । जिल्लाको खानीखोला गाउँपालिका ८ वटा मध्ये ५ वटा विद्यालय शुन्य भएका छन् । गाउँपालिका भित्रका १ सय ४८ जना विद्यार्थी मध्ये १७ जना मात्रै पास भएका छन् । १ सय ३१ जना फेल भएका छन् । कुल प्रतिशत ११.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । भुम्लु गाउँपालिकामा बागदेवी मावि शुन्य विद्यार्थी उत्तिर्ण । ८ जना सहभागी थिए । बेथान्चोकको चक्रज्योती मावि शुन्य विद्यार्थी उत्तिर्ण । १२ जना थिए । बेथान्चोक गाउँपालिकाका १० मध्ये अधिकांश विद्यालयको परीक्षाफल कमजोर रह्यो । महाभारत गाउँपालिकामा ज्योती माविमा शुन्य विद्यार्थी उत्तिर्ण भए । बनेपा नगरपालिकामा रहेको काभ्रे बहिरा विद्यालयका सबै विद्यार्थी फेल भए । पाँचखाल नगरपालिकाको दुधेश्वर माविका विद्यार्थी शुन्य भए ।
जिल्लाबाट ८० र सो भन्दा माथी ९० भन्दा कम उपलब्धी प्रतिशतमा स्वीकृत अंक ३.६–४.० ल्याउने ३ सय ९५ जना छन् । उत्त उर्तिण प्रतिशतलाई अत्युत्तम मानिन्छ । त्यस्तै ७० र सो भन्दा माथी ८० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.२–३.६ ल्याउने १ हजार १ सय ५९ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्कृष्ट मानिन्छ । त्यस्तै ६० र सो भन्दा माथी उपलब्धी प्रतिशतमा स्विकृत अंक २.८–३.२ ल्याउने १ हजार २ सय ६६ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्तम समुह भनिन्छ । त्यस्तै ५० र सो भन्दा माथी ६० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक २.४–२.८ ल्याउने ६ सय ८० जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई सन्तोषजनक मानिएको छ । ४० र सो भन्दा माथी ५० भन्दा कम २.०–२.४ ल्याउनेहरु ४९ जना छन् । उक्त समुहमा उत्तिर्ण हुनेहरुलाई ग्राहा भनिन्छ । त्यस्तै ३५ र सो भन्दा माथी ४० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक १.६–२.० ल्याउनेहरु कोहि छैनन् । उक्त समुहलाई आधारभुत मानिएको थियो भने ३५ भन्दा कम ल्याउनेहरुलाई नन ग्रेडिङ्गमा राखिएको छ ।





