सरकारले सरकारी कामकाजका लागि सबै क्षेत्रमा राष्ट्रिय परिचयत्रपत्र नम्वर अनिवार्य गर्ने तयारी गरसँगै जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ताका लागि पहिलो चरणमा केहि जिल्लाबाट परिक्षण शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि प्रशासन कार्यालयमा बढिरहेको भिड कम गर्न वडा कार्यालयबाट सेवा दिने तयारी गरेको भए पनि आवश्यक पूर्वाधार तयार गरेको छैन । मनसुन शुरु भईसकेकाले सरकारले भने जस्तो साउन र भाद्र महिनाको नवीकरणको समयमा तोकिएका जिल्लाका नागरिकहरुले उक्त कार्य गर्न सम्भव छैन । सबै कार्य सम्पन्न गरेर लागु गर्नु पर्नेमा सरकारले पहिला घोषणा गर्ने अनि तयारी गर्ने सरकारको उल्टो गतिका कारण आम नागरिकहरुले हरेक क्षेत्रको कार्यमा दुःख ब्यहोरेका छन् ।
काभ्रेपलाञ्चोक २०७७ साल देखि शुरु भएको सरकारको फोटो सहितको विवरण उल्लेख हुने गरी वितरण गर्न खोजेको राष्ट्रिय परिचयपत्र अझै पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन । नागरिकहरुले सास्ति ब्यहोर्दै आएको उक्त अभियानको पछिल्लो शिकार सरकारले जेष्ठ नागरिकलाई बनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा २०८१ बैशाख महिनामा १ हजार २ सय १८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाए । सरकारले पहिलो चरणमा केहि जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने घोषणासँगै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा जेष्ठ नागरिकहरुको भिड लागेको हो । २०८१ जेठ महिनामा २ हजार १ सय ३३ जनाले फोटो खिचाएका छन् । बैशाख महिनामा भन्दा जेष्ठ महिनामा फोटो खिचाउनेको संख्या झण्डै दोब्बर भएको छ । असार महिनामा पनि दैनिक १ सय भन्दा धेरैले फोटो खिचाई रहेका छन् । २०८१ जेठ २० गते पछि अधिकांश दिन एक सय भन्दा धेरैले फोटो खिचाएका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उमेर घटाउँदै लगे पछि राज्यको ब्यवहार थपिदै गएको छ । कसैकसैले दोहोरो, तेहोरो समेत राज्यबाट सुविधा लिएको गुनासो आउन थालेको छ । केहि ब्यक्तिले मृत्यु भईसकेका ब्यक्तिहरुको हकमा समेत सामाजिक सुरक्षा भत्ता लिईरहेको, केहिले फरक फरक स्थान र नागरिकता नै अलग अलग बनाएर सुविधा लिईरहेको गुनासो आईरहेका छन् । सरकारले त्यस्ता दुरुपयोग रोक्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्रको नम्वर मार्फत फोटो खिचाउने क्रममा लिईने रेटिना र औंठा छापको माध्यम प्रयोग गर्ने योजना पूर्व तयारी विना घोषणा गर्दा प्रशासन कार्यालयमा दैनिक जेष्ठ नागरिकहरुको भिड लाग्ने गरेको छ ।
२०८० पौष मसान्तको तथ्यांक अनुसमार काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकाबाट ४४ हजार जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिएका छन् । जसमध्ये त्रैमासिक भुक्तानी भएको रकम ४४ करोड ५३ लाख छ । मासिक १४ करोड भन्दा धेरै रकम भुक्तानी हुने गरेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बनेपा नगरपालिकामा ४९ सय ६० नागरिकका लागि ५ करोड रकम भुक्तानी भएको छ भने सबै भन्दा कम खानीखोला गाउँपालिकाका १२ सय नागरिकका लागि १ करोड १५ लाख भुक्तानी भएको छ । केहि केहि पालिकाहरुमा सामाजिक सुरक्षा भत्ताको बेरुजु देखिन थालेको छ । मरेका ब्यक्तिहरुको खातामा रकम गईरहेको सन्दर्भमा केहि पालिकाहरुका नाममा बेरुजु देखिएको छ । सामाजिक सुरक्षा भत्तालाई ब्यवस्थित गर्न स्थानीय सरकार सक्रिय नहुँदासम्म सम्भव हुँदैन । सामाजिक सुरक्षा भत्तालाई ब्यवस्थित गर्न मृत्यु भएको एक महिना भित्र नै मृत्युको सूचना वडा कार्यालयमा दिने र त्यहिबाट अभिलेखबाट नाम हटाउने तथा घर घरमा नै भुक्तानी पाउने ब्यवस्थालाई प्रभावकारी गराउनु जरुरी छ ।





