2026 April 17/ 02:32: 56am

    जनगणना २०७८ को प्रारम्भिक नतिजामा देशभरको नतिजा घट्दो देखिएको छ। जनसंख्या बृद्धिदर कम हुनुमा चेतनाको विकास, बसाई सराईसँगै सन्तान उत्पादनमा चेतना, बैदेशिक रोजगार लगायतका कारण देखिएका छन्। केहि वर्ष अघिसम्म नेपालमा प्रति परिवार ७ जनासम्म सन्तान हुने गरेको तथ्याङ्क छ। अहिले सरदर एउटा परिवारमा ४ जनाको संख्या देखिएको छ। यसले पनि जनसंख्या बृद्धि कम भएको देखाउँछ। काभ्रेपलाञ्चोक जिल्लाको हकमा ०. ३९ प्रतिशतले तथ्याङ्क घटेको छ। जिल्लाको कूल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ। जसमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन्। लैङ्गिक अनुपातका आधारमा ९७. ३४ प्रतिशत रहेको छ। २०६८ सालमा भन्दा १५ हजार ५८ जना कम भएका छन्। यसले नीति निर्माणमा पनि सचेत गराएको छ। 
    शहरी क्षेत्रमा बसोबास बृद्धि हुन थालेको छ। बनेपा, धुलिखेल र पनौती नगरपालिकामा अपेक्षा भन्दा धेरै जनसंख्या बृद्धि भएको छ भने बाँकी १० वटा पालिकामा जनसंख्या घटेको छ। बनेपामा सबैभन्दा धेरै १२ हजार १ जना थप भएका छन् भने पनौतीमा ५ हजार ४ सय ८३ थप भएका छन्। धुलिखेलमा ४ हजार २१ जना थप भएका छन्। जनसंख्या थप नहुँदै बनेपा धेरै जनसंख्या भएको पालिकाका रुपमा चिनिएका थियो। घरधुरी र परिवार र जनसंख्याका हिसाबले बनेपा पुनः ठुलो नगरपालिकाका रुपमा चिनिएको छ। बनेपा पछि पनौती र धुलिखेलमा क्रमशः जनसंख्या बृद्धि भएको छ। खानीखोला जिल्लाकै कम जनसंख्या भएको पालिकाका रुपमा चिनिएको छ। भौगोलिक रुपले विकट मानिएको खानीखोलामा ७ वटा वडा छन्। पछिल्लो तथ्याङ्क अनुसार १२ हजार ३ सय ७५ रहेको छ। १४ हजार ३ सय ९८ बाट घटेर त्यति भएको हो। बसाई सर्ने क्रम बढिरहेका छ। २ हजार २३ जना १० वर्षमा कम भएका छन्। केहि पालिकाहरुमा मतदाता भन्दा जनसंख्या कम देखिएको छ। ब्यक्ति आफु बसाई सराई गर्न नचाहने तर अन्यत्र बसोबास गरिरहेका कारण त्यस्तो देखिन गएको हो। 
    भुम्लु, चौरीदेउराली र तेमाल गाउँपालिकाका नागरिकहरुको जनसंख्या भन्दा धेरै मतदाता रहेको छ। अक्सर बसोबास गर्ने स्थानबाट हरेक नागरिकको गणना हुँदा स्थायी बसोबास गरेको स्थानबाट गणना नभएको हो। २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो। २०५८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८५ हजार ६ सय ७२ थियो। त्यतिबेला ०. १ प्रतिशतले घटेको थियो। जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन्। जबकी भुकम्पको राहत लिनेहरुको संख्या ९० हजार भन्दा धेरै घर धुरी रहेको छ। परिवार संख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। परिवारको औसत आकार ३. ९४ रहेको छ। जनघनत्व २६३ रहेको छ। जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसंख्या अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन्। प्रतिशतका आधारमा ०. ९० रहेको छ। अहिले घर परिवारको संख्या पनि २०६८ को तुलनामा बढेको छ। भुकम्पको बेला नागरिकहरुले अनुदान लिन बढाएको घर संख्या जिल्लाको हकमा बढेको देखिएको छ।