संविधान अनुसार बनेको नयाँ संहिता कानून जारी भएसँगै अदालतमा श्रीमान्हरुले श्रीमतीसँग अलग हुन पाउ भनेर मुद्दा दर्ता गर्नेहरुको संख्या बढेको छ। श्रीमतीसँग सम्बन्ध नराम्रो भई असहज परिस्थिति निर्माण भएको अवस्थामा अर्थात स्वास्नीले लोग्नेलाई मन्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा, लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्चा गरेमा, स्वास्नीलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा, स्वास्नीले परपुरुषसंग करणी गराएको ठहरेमा त्यस्ती स्वास्नीसित लोग्नेले आफ्नो सम्बन्ध बिच्छेद गर्न पाउँछ। यि बाहेकका केहि कारणहरु भए पनि यिनै कारणहरु देखाउँदै सम्बन्ध विच्छेद गर्नेहरुको संख्या थपिएको हो। सम्बन्ध विच्छेद पछिको सामाजिक असर समुदायमा देखिन थालेको छ। श्रीमान् श्रीमतीले जीवन निर्वाहका क्रममा गम्भीरता नअपनाउँदा यस्ता समस्या आउने गरेका छन्।
सम्बन्ध विच्छेदका लागि लोग्नेले अरू स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान लाउन नदिएमा वा स्वास्नीको खोज खबर नलिई हेर बिचार नराखी लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा वा स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा वा लोग्ने नपुंसक हुन गएमा वा लोग्नेलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा जबर्जस्ती करणीको महलको ३ नम्बरको दफा ६ बमोजिम लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्नेसित स्वास्नीले आफ्नो सम्बन्ध विच्छेद गर्न पाउँछिन। लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद पछि उनिहरुबाट जन्मेका सन्तान अलपत्र पर्ने गरेका छन्। कसैले सम्पत्तिका लागि सम्बन्ध विच्छेद गरेका छन् भने कसैले अन्यत्र सम्बन्ध बस्न गएकाले भएको सम्बन्ध विच्छेद गरेका छन्।
नेपालमा पछिल्लो समयमा बैदेशिक रोजगार अर्थात प्रविधिका कारण लोग्ने स्वास्नी बीचको असमझदारी बढेको छ। प्रेम अर्थात विवाह भएर आएका लोग्ने स्वास्नी बीच सामान्य विषयमा हुने विवादका कारण सम्बन्ध विच्छेद भएको छ। उनिहरुले आपूmबाट जन्मेका सन्तानलाई समेत बोझ मान्न थालेका छन्। आमासँग बस्न चाहने सन्तानलाई आमाले लिन नचाहने तथा बाबुसँग बस्न चाहने सन्तानलाई बाबुले लिन नचाहने त देखिएकै थियो तर पछिल्लो समय बाबु आमा दुबैले आफुबाट जन्मेका सन्तान राख्न नचाहे पछि उनिहरु अलपत्र पर्न थालेका छन्। बाबु आमालाई नचाहिने सन्तान किन जन्माएको ? सन्तानको समेत आँशु लाग्ने गरी नयाँ जीवन शुरु गर्ने दम्पतीहरुका लागि सम्बन्ध विच्छेद समस्याको समाधान भन्दा पनि थप पीडाको जीवन शुरु भएको महसुस हुन थालेको छ। केहि दम्पत्तिहरु सम्बन्ध बिच्छेद पछि पनि मिलेर बसेको देखिन थालेको छ। मनलागेको समयमा विवाह गर्ने, मन नलागेको बेला छाड्ने र अर्काे विवाह गर्ने संस्कृतिले समाजमा हुने अराजकता अर्थात सामाजिक सद्भाव समेत खलबलिन गई टुहुरा सन्तानले लिन सक्ने जोखिमतालाई सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ। तिनै सन्तानहरु समाजमा गलत बाटो समात्न सक्नेतर्फ सचेत हुनु पर्छ।





