2026 April 17/ 02:45: 00am

    नेकपा एमालेले चितवनमा आयोजना गरेको दशौं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने नेतृत्व चयनमा गरिएको अभ्यासलाई केहिले लोकतन्त्र नभई बहुदलीय जनवादको अभ्यासमा ब्रेक लगाएको विश्लेषण गरेका छन् भने केहिले सर्वसहमति लोकतन्त्रको सुन्दर अभ्यासको पहिलो कडी भनेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध अध्यक्ष हुने योजनामा पार्टीकै उपाध्यक्ष भिम रावलले चुनौती दिएर लोकतन्त्रको अभ्यास गराएका छन्। अध्यक्ष ओलीलाई सर्वसम्मतिको नाम घोषणा गर्न लगाएर नयाँ इतिहास रच्ने प्रयास गरेको नेकपा एमाले भित्र त्यसो हुन सकेन। केहि पदहरुमा निर्विरोध भए पनि अध्यक्ष तथा अन्य केहि पदहरुमा भएको उम्मेदवारी दर्ता र निर्वाचनले एमाले सोचे जस्तो नभए पनि पार्टी भित्रको लोकतन्त्रको अभ्यासलाई झनै मजबुत बनाएको छ। 
    एमालेको महाधिवेशनमा सहभागी कार्यकर्ता, नेता तथा शुभेच्छुकहरुको सन्देश नेकपा एमाले अझै सशक्त पार्टी हो भन्ने छ। संसद्मा ठूलो दल भए पनि सत्ताको नेतृत्व गर्न नसकेको नेकपा एमालेका सामु थुप्रै चुनौती थिए र छन्। पहिलो त एमाले भित्रको एउटा समूह अलग हुँदा पनि एमालेको जनाधार कमजोर छैन है भन्ने सन्देश दिन एमाले महाधिवेशन सफल भएको छ। एमाले भित्रको आन्तरिक लोकतन्त्र अझै बलियो बनाउँदै अधिकांश स्थानमा महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत गरिएको थियो। आन्तरिक प्रतिस्पर्धा स्विकार गरे पनि समुह बनाएर प्रतिस्प्र्धामा जान पूर्णतः निषेध गरिएको थियो। जसका कारण एमाले भित्र सबै ब्यक्तिहरुले चाहे जस्तो पद प्राप्त गर्न सकेनन् होला तर पनि एमाले भित्रको एकताले आगामी दिनमा एमालेको नेतृत्वलाई जनताले विश्वास गर्ने आधार दिएको छ। एमालेले शुरु गरेको सु्खी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न महाधिवेशनमा सहभागी नागरिकहरुको एक प्रकारको खबरदारी पनि हो। दलहरुले गर्ने महाधिवेशन, महाधिवेशनको ब्यवस्थापन र महाधिवेशन पछि नेतृत्वका बारेमा गरेको ब्यवस्थाका कारण एमाले महाधिवेशन ऐतिहासिक भएको महसुस गरिएको छ। देश तथा विदेशमा पनि एमालेको महाधिवेशनले सकारात्मक सन्देश दिएको विश्लेषकहरुको बुझाई छ।
    एमालेको पछि राप्रपाले महाधिवेशन गर्दैछ। राप्रपा पछि नेपाली काँग्रेसले पटक पटक सारिरहेको महाधिवेशन गर्ने तयारी गरेको छ। फेरी महाधिवेशन तालिका नै परिवर्तन गरिसकेको अवस्था छ। आगामी केहि महिना भित्र नै देशमा स्थानीय तहको निर्वाचन गर्नु जरुरी छ। निर्वाचन अघि पार्टीहरुका कमिटीहरु अद्यावधिक गर्ने र संविधान तथा कानून अनुसार राजनीतिक दलहरु नवीकरण हुनुपर्छ। त्यसकारण पनि राजनीतिक दलहरुले आन्तरिक लोकतन्त्रलाई ब्यवस्थित गर्दै अधिबेशन र महाधिवेशन गरिरहेका छन्। त्यहि महाधिवेशनलाई दलहरुले आफ्नो हैसियत नाप्ने कडीका रुपमा लिएका छन्। निरन्तर दलहरुको सक्रियताले मुलुकको नेतृत्व गर्ने ब्यक्तिको सशक्तिहरुण, निखारता र क्षमता बृद्धि हुनेछ। पार्टी भित्र हुने आन्तरिक प्रतिस्पर्धामा समेत उ सफल भए पछि उसले नागरिकहरुको नेतृत्वको तयारी गर्नेछ। जसले गर्दा आफै भित्रको जिम्मेवारीपनलाई फराकिलो बनाउनेछ। निरन्तर चलिरहेका महाधिवेशनहरुले सबै दल भित्रको आन्तरिक लोकतन्त्रलाई अझै मजबुत बनाउन जरुरी छ।