निर्माण ब्यवसायीको गैह्रजिम्मेवारीका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थानमा पुग्ने सडक अबरुद्ध भएको लामो समय सम्म सूचारु हुन सकेको छैन। कम मूल्यमा राजधानीमा बसेर गुगलको माध्यमबाट बोलपत्र दर्ता गर्ने र कार्यस्थलमा पुग्दा ठ्याक्कै विपरीत हुने भएका कारण ब्यवसायीहरुलाई सोचेजस्तो मुनाफा नहुने भए पछि राजनीतिक पहुँच अर्थात विभिन्न कारण देखाउँदै समयमै निर्माण नगर्ने केहि ब्यवसायीहरुका कारण अधिकांश निर्माण ब्यवसायीहरु र सिङ्गो ब्यवसाय क्षेत्र नै आलोचित हुने गरेको छ। ५० करोडको लागत स्टमेट भएको योजनामा ५० प्रतिशत कममा दर्ता गर्ने निर्माण ब्यवसायीहरुले कसरी गुणस्तरीय काम गर्न सक्छन् ? त्यहि कारण समयमै योजना सम्झौता भए पनि कार्य सम्पन्न हुँदैन। डाँडापारीको महाभारत स्थित मंगलटार पिन्थली बुढाखानी तीनखुट्टे गोकुले सडकको अवस्था अहिले त्यस्तै भएको छ। ८ महिना देखि लगातार अवरुद्ध भएको सडक खुलाउन गाउँपालिकाले गरेको प्रयास समेत निर्माण ब्यवसायीकै अटेरका कारण सफल हुन सकेको छैन।
सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण उक्त सडक अवरुद्ध हुन पुगेको छ। गाउँपालिकाले सडक खुलाई नागरिकहरुको असहजतालाई सहज गरिदिन अनुरोध गरेको थियो। समयमै निर्माण कार्य सम्पन्न गरी विकास रकम फ्रिज हुन नदिन अनुरोध गरेको छ। डाँडापारीका नागरिकहरुको हिउँद वर्षात् नै मोटर चढेर सदरमुकाम आउने तथा आफुले उत्पादन गरेका उत्पादित बस्तुहरु समयमै बजार पु¥याउने सपनामा समेत सडक अबरुद्ध हुँदा तुषारापात हुन पुगेको छ। सडक सम्पर्क नै नभएर विकट मानिदै आएको महाभारत गाउँपालिकाको तिनखुट्टे देबीटार सडक खण्डको ८. ७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो। ४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो। सडकको शिल्यान्यास २०७७ असोज २० गरिएको थियो। महाभारत गाउँपालिकाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग गरेको अनुरोध स्वीकार गर्दै बजेट विनियोजन भएको थियो।
समयमै सडक निर्माण हुने हो भने महाभारतका नागरिकहरुको सडक सञ्जाल जोड्ने र नियमित रुपमा आवतजावत गर्ने सपना पुरा हुने थियो। पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धि हासिलमा थप मद्दत पुग्नेछ। तर निर्माण ब्यवसायीले समयमै कार्य सम्पन्न नगर्दा बजेट फ्रिज हुने र महाभारतबासीहरुको सपनामा तुषारापत हुने अवस्था सिर्जना भएको छ। उक्त सडकको विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण नियमित संचालन भएको सडक पनि बन्द छ। तिनखुट्टेमा नियमित सडक संचालनका लागि पक्की पुल निर्माणका लागि प्रकृया शुरु भएको छ। महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको भए पनि नियमित काम नहुँदा नागरिकहरु त्रसित छन्। निर्माण ब्यवसायीलाई निरन्तर काम गर्न, समयमै आयोजना सम्पन्न गर्न राज्यका सबै निकाय र नागरिकहरुले दबाब दिन आवश्यक छ।





