केपी ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेश मार्फत विस्थापित गरी बनेको गठबन्धन अन्र्तगतको शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको निम्ति माखो मार्न सकेको छैन। कतिसम्म भने साढे २ महिना वितिसक्दा समेत सरकार संचालनका लागि आवश्यक पर्ने मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको सरकारले नागरिकहरुका दैनिक आवश्यकताका आधारभूत विषयमा समेत ध्यान दिन सकेको छैन। स्वचालित रुपमा मूल्य समायोजन हुँदै आएको पेट्रोलियम पदार्थको मुल्य दुई पटक बृद्धि भईसकेको छ। केपी ओली हुँदा सरकारले बढाएको भन्दै आलोचना गर्ने गठबन्धन सरकारका कार्यकर्ताहरु चुपचाप छन्। सरकारको गति र मति देख्दा उनि निकटकै कार्यकर्ताहरु पनि चुँ गर्न सकेका छैनन्।
संविधान दिवसको अवसरमा वितरण गरिएका पदक लज्जास्जनक छन्। मरेका बाबु, विरामी श्रीमतीलाई समेत पदक उपलब्ध गराएर सिङ्गो आन्दोलन र नागरिकहरुको अपमान गरिएको छ। जन्माउनु नै महत्वपूर्ण कार्य हो भन्दै वितरण गरिएका पदकहरुले राष्ट्रको नोक्सानी भएको छ। सिङ्गो मुलुक बदनामी हुने गरी कारागारमा रहेका गम्भीर प्रकृतिका अपराधमा सजायँ भोगिरहेका कैदीहरुको कैद मिनाहा गरिएको छ। तर नामावली गोप्य राखिएको छ। छिमेकी देश भारतका सुरक्षाकर्मीले नेपाली नागरिक खोला तरिरहेका बेला तुईन काटिदिएर हत्या गरिएको घटनामा चुँ समेत बोल्न सकेको छैन सरकार। हुँदै नभएको सिमा विवादलाई विवाद देखाएर कसैलाई खुशी पार्ने नाममा सरकारले एकपछि अर्काे गलत सन्देश दिने कार्य गर्दै गईरहेको छ। खेतीपातीको मुख्य समयमा फेरी पनि रसायनिक मलको अभाव शुरु भएको छ। अस्थीरता, अराजकता, मुल्य बृद्धि जस्ता घटनाहरु बढेका छन्। शेरबहादुर देउवा प्रधानमन्त्री हुने वित्तिक्कै मुलुक सलल पानी बगेजस्तो समृद्धिको बाटोमा जान्छ भनेर कुर्लनेहरु अहिले चुपचाप छन्।
राष्ट्र गठबन्धनको निजी कम्पनी जस्तो बनेको छ। विभिन्न देशमा राजदूतहरु खाली गराईएको छ। आफै नियुक्ति गर्न सक्ने मन्त्री त नियुक्ति गर्न नसकेका बेला भएका राजदुत हटाएर अर्काे निकम्मा काम गरेको छ। केपी ओलीले कार्यकर्ता भर्ति गरे भनेर भूमि आयोग खारेज गरेको देउवा सरकारले आफ्नै कार्यकर्तालाई नयाँ नाममा आयोगको प्रमुख बनाएका छन्। भन्ने एउटा गर्ने अर्काे गठबन्धन सरकारले विकसका १ हजार ५ सय आयोजनामा बजेट कटौती गरी नागरिकको विकासको चाहनामा तुषारापात गरिदिएको छ। कार्यकर्ता पोस्ने गरी सहकारीलाई फेरी बदनाम बनाउने गरी १० करोडसम्मको विना योजना काम दिने निर्णय गरेको छ। अबैद्य सम्पत्तिलाई श्रोत देखाउन नपर्ने गरी कालो धनलाई सेतो बनाउने बजेटमै ब्यवस्था गरेको छ। नेपाली काँग्रेस, नेकपा समाजबादी, नेकपा माओवादी यस्तै अपराधपूर्ण कार्य गर्न गठबन्धनमा छन्। उनिहरुको चासो केवल सत्ता हो। पद हो। नेपाल र नेपालीको भविष्यसँग यिनीहरुको कुनै साईनो देखिएको छैन। जनता भन्न थालेका छन् पटक–पटक अक्षम भएका देउवाले पुनः मुलुक अधोगतिमा लैजान शुरु गरेका छन्।





