आजभोलि दैनिक मान्छे हराएका सूचनाहरु सार्वजनिक हुन थालेका छन्। विश्वमा अहिले २५ प्रतिशत ब्यक्तिहरु मानसिक रोगका शिकार छन्। २५ प्रतिशत ब्यक्तिहरु मानसिक रोगका लागि तयारी अवस्थामा छन्। प्रारम्भिक अनुसन्धानले ब्यक्तिहरुमा हरेक दिन मानसिक तनाव बढ्न थालेको छ। ब्यक्तिले मन चलाउन सकेको छैन। मनलाई नियन्त्रणमा राख्न मान्छे विवश हुन थालेको छ। विवश मान्छेका कथाहरु कति छन् कति। मान्छे जब विरक्तिन पुग्छ तब घर, समुदाय र समाज छाडेर वेपत्ता हुने गरेका छन्। तीन तहकै सरकारले विकास निर्माणको पूर्वाधार सँगै ब्यक्तिका मनहरु बुझ्ने कार्यक्रम ल्याउनु जरुरी छ। समाज खल्बलिन थालेको छ। खल्बलिएको ब्यक्तिबाट समाजको निर्माण कसरी हुन्छ ?
ब्यक्ति किन हराउँछ ? हराएको ब्यक्ति कहाँ जान्छ ? फर्कन्छ वा फर्कदैन ? फर्कियो भने त्यो सूचना प्रहरीकोमा पुग्छ कि पुग्दैन ? कुन उमेर समुह देखि कुन उमेरसम्मको ब्यक्ति हराउने गरेको छ ? सर्वत्र चासो र चिन्ताको विषय बन्न पुगेको छ। प्रहरी भन्छ ब्यक्तिमा आएको नैराश्यताका कारण ब्यक्तिले घर परिवार, समाज सबै छाडेर एकान्त रोज्न पुग्दो रहेछ। कसैले घर छाडेर हराए पछि आत्महत्या गरेका छन् भने केहि सकुशल फर्किएका छन्। केहिको अझै अत्तोपत्तो छैन। हराएर भेटिएका ब्यक्तिहरुको अनुभूतिले भन्छ समाज, घर परिवार र समुदायबाट विरक्त लागेर वेपत्ता हुँदा पनि मर्न सकिएन ? मृत्यु सहज हुन थालेको छ। प्रहरीको अध्ययनले भन्छ हराएका ब्यक्तिहरु कुनै न कुनै मानसिक समस्याका कारण घर छाडेर निस्कने गरेका छन्। केहि फर्कन्छन् भने केहि फर्कन्न। फर्किएकाहरुको सोधपुक्षका क्रममा उनिहरु जीवनबाट हार खाएका कारण बेपत्ता हुने गरेका छन्।
जिल्लाका विभिन्न स्थानबाट पाँच आर्थिक वर्षमा ८ सय ६१ जना हराएका छन्। प्रहरीको रेकर्ड अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा १ सय २८ जना हराएका थिए। जसमध्ये महिला ९० जना, पुरुष ९, बालक ९ र बालिका २० जना छन्। आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ८५ जना हराए। जसमध्ये महिला १ सय १६ जना, पुरुष १६, बालक १६ र बालिका ३७ जना छन्। आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ११ जना मानिस हराएका छन्। महिला १ सय १७, पुरुष १३, बालक १५ र बालिका ६६ जना हराएका छन्। पाँच वर्षको बीचमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७४÷०७५ मा मानिस हराएको प्रहरी तथ्याङ्कले देखाउँछ। २०७६÷०७७ मा १ सय ७० जना हराएका छन्। जसमा महिला ८२, पुरुष ३७, बालक १४ र बालिका ३७ जना रहेका छन्। गत आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ६७ जना हराएका छन्। जसमध्ये ८८ जना महिला, ४० जना पुरुष, ३ बालक र ३६ बालिका रहेका छन्। प्रहरी, समुदायको साझेदारीमा पहिले ब्यक्तिलाई हराउने वातावरण नै बन्न नदिने तर्फका कार्यक्रम संचालन गर्न जरुरी छ। जब ब्यक्ति हराउँछ त्यस पछि सोच्ने भन्दा पनि ब्यक्तिलाई शुरु देखिकै वातावरणका बारेमा, उसका चाहना र इच्छाका बारेमा, उसको चिन्ता र तनावका बारेमा परिवारले सोच्नु जरुरी छ।





