मुलुक राजनीतिक संक्रमणको चक्रब्युहमा छ। स्थायीत्व, शान्ति र समृद्धिको चाहनामा नागरिकहरुले पाँच वर्षका लागि मतदान गरी सरकार निर्माणको जनादेश दिएको भए पनि अहिले सरकार गठन र विघटनको खेल शुरु भएको छ। संघ र प्रदेश सरकारमा भएको अस्वभाविक चलखेल स्थानीय तहमा देखिन थालेको छ। स्थानीय तहमा पनि दल रोज्न पाउने अध्यादेशको अस्थिरताले मुलुक फेरी अर्काे संकटमा फस्ने त्रास बढेको छ। केपी ओली नेतृत्वको सरकारले कानूनमा भएको विषयलाई नै र का स्थानमा वा राखी जारी गरेको अध्यादेशका विरुद्ध कुर्लनेहरु नै अध्यादेश ल्याएर नेकपा एमाले फुटाउन कम्मर कसेर लागे। त्यहि काम आफूले गर्दा राम्रो अरुले गर्दा नराम्रो भन्ने प्रवृत्तिले मुलुक अस्थिरता तर्फ उन्मुख भयो। अस्थिरताका कारण प्राकृतिक सम्पदा तथा पुरातत्वको संरक्षण पनि हुन सकेको अवस्था छैन।
विश्व सम्पदा सूचीमा प्रस्तावित पनौती नगरपालिकाको प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिदै त्यसको प्रचारप्रसार सम्बद्र्धनमा पनौती संग्राहलयलाई अझै ब्यवस्थित बनाउन जरुरी छ। इन्द्रेश्वर महादेव मन्दिर परिसरमा राखिएको पनौतीको संग्राहलयलाई नगरपालिकाले अझै ब्यवस्थित बनाउने र पनौतीको चिनारीलाई विश्वमै फैलाउने गरी कार्य भए पनि परिणाममा त्यस्तै देखिएको छैन। ऐतिहासिक सामाग्रीहरुको संकलन र त्यसको ब्यवस्थापनमा नगरपालिकाले संग्राहलयलाई ब्यवस्थित बनाउन सहयोग गरेको छ। हरेक पालिकाहरुले आफ्नो क्षेत्रमा भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक संरक्षणका बारेमा चासो ब्यक्त गर्नुपर्ने भए पनि त्यसो भएको छैन। धुलिखेल नगरपालिकाले धुलिखेलमा संग्रहालय निर्माणको शुरुवात गरेको छ। संग्राहलयको ब्यवस्थापनका लागि आन्त्रिक र बाह्य पर्यटकहरुको प्रवेश शुल्कलाई प्रमुख श्रोतका रुपमा विकास गर्ने उद्देश्यले गरिएको तयारीमा कोभिड १९ को प्रभाव परेको छ । विद्यार्थी सहुलियत, आन्तरिक पर्यटक र विदेशीहरु मध्ये सार्क मुलुक र सार्क मुलुक बाहिरका पर्यटकहरुका लागि अलग अलग शुल्क राखिएको छ। त्यहि शुल्कका आधारमा संग्राहलयलाई ब्यवस्थित बनाउने र नियमित गर्ने योजनामा कोभिड १९ कै कारण असर पु¥याएको छ। जिल्लाको पहिलो संग्राहलयका रुपमा पनौतीको संग्राहलयलाई लिन सकिन्छ। धुलिखेल नगरपालिकाले धुलिखेलको ऐतिहासिकता र प्राचीनतासँगै पुरातत्व सम्पदाको संरक्षण गर्ने उद्देश्यले संग्राहलय निर्माणको कार्य शुरु गरेको हो।
पनौतीको संग्राहलयमा १२ बर्षे मकर मेला, ब्रम्हायणी मन्दिर, संकटा जात्रा, काठको मूर्ति, मयुर नाच, ढुङ्गे धारा, नेवारी सम्पदा, कृष्णको मूर्ति, देवी नाच लगायतका सम्पदाहरुको जानकारी गराउने आशयका सामानहरु राखिएका छन्। यी सम्पदाहरुको संरक्षण हुन सके कला र संस्कृतिको धनी देश आन्तरिक र बाह्य पर्यटकहरुका लागि पनि आकर्षक बन्न सक्छ। संस्कृति र सम्पदा नासिदै र मासिदै गएको अवस्थामा संग्राहलय निर्माण र संरक्षणमा विशेष ध्यान दिनु जरुरी छ।





