प्रविधि, कानून र सामाजिक रुपमा उदार हुँदै गएको समाजमा सम्बन्ध विच्छेदका घटना सामान्य हुन थालेका छन्। सम्बन्ध विच्छेद गरेर ब्यक्ति खुशी छैन। समाज खुशी छैन। समाजमा त्यहि कारण हुन थालेका अपराधिक घटना, सामाजिक सद्भाव विथोलिदै ब्यक्तिको हत्या वा आफैले आफ्नो ज्यान लिने र सामुहिक हत्यासम्म पुग्न थालेको छ। काभ्रेपलाञ्चोक जिल्लाको पछिल्ला पाँच वर्षका तथ्याङ्कले त्यहि देखाउँछ। ब्यक्ति ब्यक्ति खुशी हुन सक्दैन। खुशी र राजीले राखिएका सम्बन्ध केहि वर्ष भित्रै दरार उत्पन्न हुन्छ। त्यसकारण ब्यक्तिहरु भित्रको असन्तोष, नैराश्यता र छट्टपट्टि भनिसाध्य छैन। मानसिक रोग विशेषज्ञहरुले तथ्याङ्कका आधारमा ब्यक्ति भित्रको चरम असन्तुष्टिले जन्मँदै गरेका बच्चाहरुमा समेत मानसिक रोग देखा पर्न थालेको बताएका छन्।
विवाह गरेको तीन दिनमै सम्बन्ध विच्छेद भएको छ भने विवाह गरेर परिवारसँग बसेको ६३ वर्ष पछि पनि सम्वन्ध विच्छेद गरिएको छ। उमेरका हिसाबले ७८ वर्षका जेष्ठ नागरिकले पनि सँगै बस्न नसकेको भन्दै सम्बन्ध विच्छेद गरेका छन्। यसले पनि ब्यक्ति जतिखेर पनि असन्तुष्ट हुँदा सम्बन्धमा रहन चाहँदैन भन्ने सन्देश गएको छ। पहिला पहिला सम्बन्ध विच्छेद गर्नुलाई राम्रो मानिदैन थियो। त्यहि कारण अपराध हुने गरेका थिए। अहिले सम्बन्ध विच्छेद गरे पछि थप अपराध हुने गरेको छ। सम्बन्ध विच्छेद सम्बन्धी अध्ययनका क्रममा संख्या, समुदाय, क्षेत्र, उमेर, विवाहको प्रकृति लगायतका विषय तयार गरिएको छ। तथ्याङ्कको हिसाबले जिल्लाको सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा तेमाल गाउँपालिकाका रहेका छन्। मुद्दा दर्ता भएको संख्याका आधारमा हेर्ने हो भने तेमाल सबैभन्दा धेरै र खानीखोलामा सबैभन्दा कम सम्बन्ध विच्छेद हुने गरेको देखिएको छ। जातका आधारमा ५७ प्रतिशत आदिवासी जनजाति समुदायका ब्यक्तिहरुको सम्बन्ध विच्छेद भएको छ। अन्य समुदायका ४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। उमेरका हिसाबले सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेर समूहका ब्यक्तिहरुको सम्बन्ध विच्छेद भएको छ। ५७ प्रतिशत उक्त समूहमा सम्बन्ध विच्छेद गर्नेहरु छन् भने ३१ देखि ४० वर्ष सम्मका ३२ प्रतिशत र ४० वर्ष देखि ७८ वर्षसम्मका ब्यक्तिहरु सम्बन्ध विच्छेद गर्नेमा कम छन्। पालिकाका रुपमा सम्बन्ध विच्छेद गर्नेहरुको तथ्याङ्क पनि अदालतले तयार गरेको छ।
विवाहको प्रकृतिका आधारमा प्रेम गरेर विवाह गर्ने महिलाहरु ८९. ०९ प्रतिशत छन् भने पुरुष १०. ०९ प्रतिशत छन्। विवाह गरेको ५ वर्ष देखि १५ वर्ष भित्र अधिकांश सम्बन्ध विच्छेदतर्फ उन्मुख भएको देखिएको छ। खानीखोला गाउँपालिकामा १. ८९ प्रतिशत, महाभारतमा २. २९ प्रतिशत, बेथान्चोक ३. ६८, भुम्लु ५. २७ प्रतिशत, मण्डनदेउपुर ५. ३७ प्रतिशत, चौरीदेउरालीमा ५. ३७ प्रतिशत, रोशी गाउँपालिकामा ६. ८६ प्रतिशत, तेमाल गाउँपालिकामा ७. ३६ प्रतिशत, पाँचखालमा ७. ७५ प्रतिशत, धुलिखेलमा ८. ७५ प्रतिशत, बनेपामा ९. २४ प्रतिशत, नमोबुद्धमा १०. ०४ प्रतिशत, पनौतीमा १०. ५४ प्रतिशत, र अन्य जिल्लाका १५. ६१ प्रतिशत मुद्दा दर्ता भएका छन्। सम्बन्ध विच्छेदको प्रत्यक्ष प्रभाव बालबालिकाहरुमा पर्ने गरेको छ। बालबालिकहरु कसैले राख्नै नचाहने, कुनैमा दुवैले चाहने र कुनैमा बालबालिकाहरुको चाहना भन्दा फरक हुने कारण थप असर पर्ने गरेको छ। सम्बन्ध विच्छेदका घटनामा न्यूनीकरण गर्ने अभियान संचालन गर्नु जरुरी छ।





