2026 April 16/ 10:46: 32pm

    कोभिड १९ को संक्रमण भईरहेको छ। संक्रमण दर स्थिर देखिए पनि निधन हुने क्रम बढ्न थालेको छ। अस्पताल पुग्ने क्रम पनि बढिरहेको छ। भिडभाड बढिरहँदा संक्रमण बढ्नु स्वभाविक मानिए पनि ब्यक्तिहरुको हेलचेक्राई संक्रमणको प्रमुख कारण बनिरहेको छ। अझै केहि क्षेत्र पूर्ण रुपमा बन्द छन्। विशेषगरी शैक्षिक क्षेत्र बन्द हुँदा देशभरका लाखौं बालबालिकाहरु शिक्षाबाट बञ्चित छन्।केहि विद्यालयहरुले अनलाईनको माध्यमबाट शिक्षा प्रदान गरे पनि प्रभावकारी हुन सकेको छैन। होटल ब्यवसाय, सैलुन तथा पार्टी प्यालेसहरु पनि बन्द छन्। लामो दूरीका सार्वजनिक यातायातहरु पनि संचालनमा आउन सकेका छैनन्। अन्य थुप्रै क्षेत्र संचालनमा आए पनि शुरु हुन सकेका छैनन्। यस्तो विषम परिस्थितिमा ब्यक्तिको ज्यान बचाउनु राज्यको पहिलो दायित्व हो।
    तत्कालीन केपी ओली नेतृत्वको सरकारले शुरु गरेको सबै नागरिकलाई खोप पु¥याउने अभियान शुरु भईरहेको छ। यो अभियानलाई निरन्तरता दिन छिमेकी देश चीन लगायतका मुलुकहरुबाट अनुदान पनि उपलब्ध भएको छ भने नेपाल सरकारले बजेटमै खोप खरीद गर्न २६ अर्ब भन्दा धेरै रकम विनियोजन गरेको छ। यस्तो अवस्थामा नागरिकहरुलाई संक्रमण हुनै नदिने तर्फ सरकारको ध्यान गएको छ भने अर्काेतर्फ संक्रमण भए पछिको उपचारमा विशेष जोड रहेको छ। संक्रमण रोक्न भएका प्रयासहरुका बाबजुत पनि संक्रमित ब्यक्तिहरुको उपचारमा विशेष चासो र ब्यवस्थापन जरुरी छ। अस्पतालमा उपचारार्थ विरामीहरुलाई विभिन्न औषधी खरिदमा भएको महङ्गी तथा अन्य रोगसँग सम्बन्धित रहेर हुने खर्च धान्न धौ–धौ छ। त्यसकारण पनि ब्यक्तिले कोभिडका क्रममा लाग्ने शतप्रतिशत खर्च सरकारले ब्यहोर्न सके न्युन आए भएका ब्यक्तिहरुलाई सहज हुन सक्छ।
    कोभिड संक्रमण भई निको भएका विरामीहरुलाई विभिन्न खालका रोगहरु देखिन थालेका छन्। कोभिड संक्रमण भई निको भएका विरामीहरुमा ब्लाक फंगस अर्थात कालो ढुसी रोग देखा पर्न थालेको छ। नेपालमा ब्लाक फंगसका संक्रमित विरामीहरुको संख्या २५ नाघिसकेको छ। पोस्ट कोभिडका विरामीहरुलाई ब्लाक फंगस मात्रै नभई अन्य रोगहरु पनि देखा पर्न थालेका छन्। कोभिड निको भए पछि ब्यक्तिहरुले झनै हेलचेक्राई गरेका छन्। खानपान तथा रहनसहनमा ध्यान दिन नसक्दा अन्य रोगहरु देखा पर्न थालेका छन्। पोस्ट कोभिड पछिको समस्या बल्झन थालेपछि स्वास्थ्यकर्मीहरुले सचेत रहन गरेको अनुरोध आम नागरिकहरुले पालना गरी थप संक्रमणको जोखिमबाट बचाउन पर्छ। आफु पनि बचौं र अरुलाई बचाआंै। महामारीबाट बच्न सकिएको अवस्थामा अन्य पेशा ब्यवसाय सामान्य मान्नु पर्छ।