महामारी फैलिएका बेला बजारमा मुल्य बृद्धि गर्ने ब्यवसायीहरुको सदावहार नीति हो। अभावमा धेरै मूल्य लिएर सामाग्री विक्री गर्दा धेरै फाईदा हुने भएकाले ब्यवसायीहरुले संकटमा पनि मूल्य बृद्धि गरि नै रहेका हुन्छन्। सरकारले महामारीका बीच अत्यावश्यक सेवालाई सहज बनाएको छ। सहज बनाईएको अत्यावश्यक सेवालाई संकटमा पनि चर्काे मूल्य बृद्धि गर्ने ब्यवसायीहरुलाई सरकारले कारवाही गरेको छैन। अनुगमन तिब्र बनाउन नसक्दा सरकारी निकायलाई झुक्याउँदै ब्यवसायीहरुले सामानमा चर्काे मूल्य लिन थालेका हुन्। ब्यवसायीहरुले खरिद गरेको र विक्री गरेको विलको अनुगमन मात्रै गर्ने हो भने कालोबजारी गरेको प्रमाण भेट्टाउन टाढा जानु पर्दैन।
अघिल्लो साता काभ्रेको बनेपामा बजार अनुगमन भयो। सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको टोलीले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्र्तगत कारवाही गर्ने चेतावनी दिएको थियो। लामो समय देखि जारी निषेधाज्ञाका कारण अधिकांश क्षेत्र प्रभावित बनेको छ। सबै क्षेत्रको समस्या उस्तै उस्तै छ। बजार खुल्ला नहुँदासम्म कुनै क्षेत्रले पनि सहजता पाउन सक्दैन। अहिले पनि महामारी नियन्त्रण भईसकेको छैन। संक्रमण फैलँदो अवस्थामा छ। दोश्रो चरणको संक्रमणले धेरै नोक्सानी पु¥याएको छ। नागरिकहरुको जीउधनको रक्षा गर्न नसक्दा ब्यवसाय रहँदा पनि अर्थ हुँदैन। सरकारको प्राथमिकतामा पनि स्वास्थ्यको दृष्टिकोणले पहिलो नागरिकहरुको रक्षार्थ निषेधाज्ञा नै रहेको छ। आर्थिक वर्षको अन्त्य तिर भएको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्र नै चलायमान हुन सकेको छैन। मुलुकको आर्थिक बृद्धि गर्ने लक्ष्यमा पनि कमी आएको छ। यस्तो विषम् परिस्थितिमा पनि ब्यवसायीहरुले खाद्यान्नको मूल्यमा गरेको बृद्धि मानवीयता विरोधी पनि हो।
बजारमा अहिले चामल, तेल, दाल, गेडागुडी लगायतका सामाग्रीहरुको मूल्य आकाशिएको छ। मूल्य आकाशिनु पर्ने कुनै कारण छैन। निर्वाध सञ्चालन भएका यातायातका साधनहरुको भाडामा बृद्धि भएको छैन। महिनौ अघि गोदाम गरिएका खाद्य पसलहरुले लकडाउन अवधीमा मूल्य बृद्धि गरेको भन्दै उपभोक्ताहरुसँग चर्काे मूल्य असुलेका छन्। बनेपाका होलसेल पसलहरुमा पनि फरक–फरक मूल्य कायम गरिएको छ। उनीहरुको भाषामा फरक–फरक सामान हो तर एकै स्थानबाट आएको चामलको मूल्य पसल नै पिच्छे फरक–फरक छ। निषेधाज्ञाको अवधी पारेर ब्यवसायीहरुले २५ केजी चामलमा १ सय ८० रुपैया होलेसेल रेट बढाएका छन्। होलसेलमा १ सय ८० बढ्ने भन्या उपभोक्ताहरुकोमा पुग्दा ३ सय रुपैयाँसम्म बृद्धि हुनु हो। सहज अवस्थामा पनि ब्यवसायीहरुले मुलुक असहज परिस्थितिमा भएको अवस्थामा गरेको मूल्य बृद्धि अपराध सरह हो। हरेक उयपभोक्ता गुनासो गर्न सक्ने अवस्थामा छैनन् र हुँदैनन् पनि। यस्तो अवस्थामा ब्यवसायीहरुले अवसर मात्रै हेर्ने होईन मानवीय संवेदना राखेर काम गर्नु जरुरी छ। विशेष अवस्थामा विशेष सहयोग प्राप्त गर्ने ब्यवसायीहरु आफैले मूल्य बृद्धि रोक्न अग्रसर हुँदै भएको मूल्य बृद्धिलाई तत्काल सम्बोधन गर्न जरुरी छ।





