काभ्रेपलाञ्चोक जिल्लाको विकास नयाँ मोडलमा प्रवेश गरेको छ। केहि वर्ष अघिसम्म सडक सञ्जाल नजोडिएको जिल्ला अब सुरुङ्ग हुँदै जलमार्गमा प्रवेश गरेको छ। जिल्लाका १३ वटै पालिकामा सडक सञ्जाल जोडिएको छ। गाउँपालिकाको केन्द्र पुग्ने मुख्य सडक कालोपत्रेका लागि तयारी गरिएको छ। कालोपत्रेसँगै अन्य पूर्वाधार निर्माणको कार्य शुरु भएको छ। आगामी आर्थिक वर्षका लागि समेटिएका महत्वपूर्ण योजनाले काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धि योजनाबद्ध ढंगबाट अघि बढेको पुष्टि हुन्छ। भक्तपुर–रवि–पाँचखाल सुरुङमार्ग, गोदावरी–मानेदोभान–पनौती सुरुङ्गमार्ग, दोलालघाट–चतारा जलमार्ग महत्वपूर्ण आयोजना हुन्। बनेपा नगरपालिका वडा नम्वर १० मा फिल्म सुटिङ स्टुडियो, डाँडापारी, कोशिपारी, रोशी र तेमाल क्षेत्रमा कागती उत्पादन जिल्लाको आर्थिक समृद्धको अर्काे आयाम हो।
अरनिको राजमार्ग धुलिखेल देखि चार लेन, काभ्रे भ्याली स्मार्ट सिटी र मण्डन शहरी पुर्वाधार महत्वपूर्ण आयोजना भित्र पर्छन्। चालु वर्षमा शुरु भएका पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, साँगामा प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण केन्द्र, करिडोर, खानेपानी, सडक, सिंचाई, ढल प्रशोधन, काभ्रे भ्याली स्मार्ट सिटी, धुलिखेलसम्म ६ लेनको सडक, ग्वार्काे कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत ट्रेल, पाँचखाल सिंचाई परियोजना मार्फत इन्द्रावतीको पानी पाँचखालमा, बुद्ध सर्किट, कोशिपारी जोड्ने चेहेरेको पुल, काभ्रे भ्याली, मण्डनदेउपुर, पाँचखाल, तेमाल, नमोबुद्ध, बेथान्चोक गाउँपालिकामा खानेपानी आयोजना जस्ता महत्वपूर्ण गौरवका आयोजनामा कार्यान्वयनको चरणमा छन्। सुरक्षण मुद्रण प्रेसको काम शुरु भएको छ।१ सय ११ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना, मादनकुँडारी मकैबारी आयोजना ३३ केभिए, पाँचखाल उपत्यका जलश्रोत आयोजना, सामुदायिक तथा ग्रामीण विद्युतिकरण अन्य तथा अधुरो ग्रामिण विद्युतिकरण प्राथमिकतामा परेका थिए। सबै योजना चालु अवस्थामा छन्।
सरकारले प्रस्तुत गरेको बजेटमा जिल्लामा रहेका १३ वटा स्थानीय तहले सुत्रका आधारमा प्राप्त गरेको बजेट मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाले प्राप्त गरेको छ। सबैभन्दा कम खानीखोलाले प्राप्त गरेको छ। बनेपाले ५० करोड ६९ लाख प्राप्त गरेको छ भने खानीखोलाले २६ करोड १६ लाख रुपैयाँ प्राप्त गरेको छ। केहि पालिकाले घटी रकम प्राप्त गरेका छन्। केहिले कार्य सम्पादनका आधारमा धेरै रकम प्राप्त गरेका छन्। जुन शिर्षकको बजेट भए पनि काभ्रे जिल्लाको इतिहासमा सबैभन्दा धेरै बजेट प्राप्त गर्ने अवसर प्राप्त भएको छ। मन्त्री धेरै भए, सांसद् धेरै भए तर पूर्व मन्त्री गोकुल बास्कोटाको कार्यकालमा भएको विकास र बजेटले इतिहासमा सधै उहाँको नाम जिल्लाबासीहरुले सम्झिरहनेछन्। बजेट विनियोजनसँगै कार्यान्वयनको चुनौती छ। उक्त चुनौतीलाई सरकारका कुनै एउटा निकायले मात्रै सम्भव छैन। सबै पक्षले आफ्नो क्षेत्रमा प्राप्त बजेटको कार्यान्वयन र सदुपयोग भयो कि भएन ? हेर्नु जरुरी छ। जे होस् योजना र बजेटले काभ्रेपलाञ्चोक जिल्लाले फड्को मारेको छ।





