2026 April 16/ 08:51: 55pm

तीनवटा नगरका नागरिकहरुलाई २४ सै घण्टा गुणस्तरीय खानेपानी खुवाउने सपना केहि महिना भित्रै पूरा हुने भएको छ। तत्कालीन समयमा जनप्रतिनिधि विहिन अवस्थामा पनि तीनवटा नगरपालिका भित्रका नागरिकहरुलाई संयुक्त प्रयासबाट एउटै योजनामा बुन्दै खानेपानी खुवाउने सपना बोकेर शुरु भएको एकीकृत खानेपानीको अन्तिम परिक्षण भईरहेको छ। उक्त परिक्षण सकिए लगत्तै नागरिकहरुको घर घरमा खानेपानी उपलब्ध गराउने गरी तयारी गरिएको छ। जनप्रतिनिधिहरु निर्वाचित भए देखि नै तीनै तहमा भएको प्रयासले खानेपानीका विरुद्ध लागेको शक्ति कमजोर बन्न पुग्यो। अझै अवरोध नभएको होईन र छैन पनि तर जनप्रतिनिधिहरुको अथक प्रयास र निरन्तरको प्रयास सार्थक बनेको छ। 
बनेपा नगरपालिकाको धनेश्वर ट्याङ्की र मगरगाउँ नजिक रहेको आजाद स्कूल सँगैको ट्याङ्कीमा एकीकृत खानेपानी आईपुगेको छ। केहि सातामै धुलिखेलमा रहेको पानी ट्याङ्कीमा पुग्नेछ। पनौतीका सबै ट्याङ्की र पाईप लाईनको परिक्षणसँगै बनेपामा उक्त खानेपानी आईपुगेको हो। काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले केहि साता भित्रै तीनै नगरमा खानेपानीको परिक्षण सम्पन्न हुने गरी कार्य भईरहेकाले द्रुत गतिमा कार्य गर्न निर्देशन दिनु भएको छ। खानेपानीको परिक्षण सकिए लगत्तै घर घरमा पानी पु¥याउने योजना बनेको छ।  परिक्षण पछि पानी वितरण लगायतका अन्य प्रशासनिक संरचनाका काम गर्ने योजना बनेको हो। खानेपानी संस्थान तथा यसअघि वितरण गरिएका खानेपानीका धाराहरु मार्फत खानेपानी वितरण गरिने तयारी गरिएको छ। जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका जनताहरुलाई शुद्ध, गुणस्तरीय र अविच्छिन्न रुपमा खानेपानी उपलब्ध गराउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ। आयोजना सम्पन्न भएपछि बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रमा अनुमानित १ लाख ३९ हजार ४ सय २२ जनताले २४ सै घण्टा शुद्ध खानेपानी प्राप्त गर्नेछन्। अविच्छिन्न रुपमा चौविसैं घण्टा खानेपानी उपलव्ध भए पछि तीनवटै नगरपालिकाका नगरवासीहरुको जनस्वास्थ्य र सरसफाईमा सुधार आई जीवनशैलीमै आमूल परिवर्तन आउने छ। 
नेकपा एमालेले तत्कालीन अवस्थामै तीन नगर बनेपा, धुलिखेल र पनौतीका नागरिकहरुलाई थप समृद्ध बनाउन काठमाडौं उपत्यका पछि राजधानी नजिकको उपयुक्त र बैभवशाली आवासीय शहरको रुपमा विकास गर्ने गरी योजना बनाएको थियो । सोहि योजना अनुसार एकीकृत खानेपानी योजना शुरु भएको हो। झण्डै डेढदशक पछि उक्त आयोजना सम्पन्न हुने चरणमा पुगेको हो। खानेपानीको मुहानहरुबाट दैनिक प्रति सेकेण्ड ७७. ७३ लिटर पानी प्राप्त हुने छ। नेपाल खानेपानी गुणस्तरले तोकेको मापदण्ड अनुसारको शुद्ध र गुणस्तरीय खानेपानी वितरण गरिने छ।