2026 April 16/ 08:50: 54pm

    जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको धुलिखेल नगरपालिकालाई बधाई तथा शुभकामना। नेपालकै छैटौं बालमैत्री नगर घोषणा गरी धुलिखेलले विकास र समृद्धका लागि बालबालिकाहरुलाई पहिलो आधार बनाउने निर्णय र तयारीका कारण अन्य पालिकाहरुको पनि अगुवा बनेको छ धुलिखेल। पनौती नगरपालिकाको वडा नम्वर १२ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको थियो। त्यसलगत्तै धुलिखेल नगरपालिकाको वडा नम्वर १० लाई जिल्लाकै दोश्रो बालमैत्री वडा घोषणा गरिएको थियो। बालमैत्री वडा, टोल, नगर घोषणा पछिको चुनौती त्यसको निरन्तरता हो। बाल क्लबहरु, अभिभावक, बालबालिकाहरु, विद्यालय, शिक्षक तथा सरोकारवाला निकायहरुको सक्रियता आवश्यक छ। 
    नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ तथा कार्यान्वयन कार्यविधि, २०६८ जारी गरी बालमैत्री स्थानीय शासन प्रणाली प्रबद्र्धन गरिरहेको छ। स्थानीय निकायहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका तथा बालबालिकासँग सरोकार राख्ने संघ संस्थाहरुको सहभागिता र भूमिका सुनिश्चित गरी बालमैत्री लगानी प्रणाली स्थापित गर्ने लक्ष्य लिएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को दफा २१ मा तोकिएका ३९ वटा न्यूनतम सूचकहरु प्राप्त गर्ने स्थानीय तहले आपूmलाई बालमैत्री स्थानीय सरकार घोषणा गर्न सक्ने अधिकार प्रदान गरेको छ। सोहि अधिकार अनुसार धुलिखेल नगरपालिकाले बालमैत्री नगर घोषणा गरेको हो। बालमैत्री स्थानीय शासन बाल अधिकार सम्बन्धी समग्र पक्षको प्रवद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारण हो। 
    धुलिखेल नगरपालिकाको हरेक वडाहरुमा बालमैत्री पार्क निर्माण, एक घर एक धाराको अभियान, प्रारम्भिक बालविकास केन्द्रको सुधार, प्रत्येक बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय भर्ना अभियान, विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य ब्यवस्थापन समितिमा बाल क्लबका प्रतिनिधिको अनिवार्य प्रतिनिधित्व हुने कानुनी व्यवस्था, जन्मदर्ताको अभियान, विद्यालयमा छात्र र छात्राहरुको लागि अलग अलग शौचालय निर्माण, बालश्रम न्यूनीकरण, बालविवाह निषेध लगायतमा सबै सुचकहरु पूरा गरेको छ। धुलिखेल नगरपालिका गतिविधिहरुबाट बालमैत्री घोषणा गर्न योग्य पालिकाको संख्या थपिनु जरुरी छ। बालमैत्री वडा घोषणा समेत हुन नसकेका अन्य पालिकाहरुका लागि चुनौती र अवसर दुवै छ। स्थानीय सरकार निर्वाचित भएको चार वर्षसम्म यस्ता विषयमा जनप्रतिनिधिहरुले ध्यान दिन नसकेका पालिकाहरु पनि छन्। पूर्वाधार निर्माण मात्रै नभई यस्ता विषयमा पनि स्थानीय सरकारले ध्यान दिनु पर्छ। जिल्लाकै नाम उच्च राखेकोमा धुलिखेल नगरपालिकालाई बधाई तथा शुभकामना।