मुलुक निर्माण र संघीयताको अभ्याससँगै तीन तहका सरकारहरुले निर्माण गर्ने ऐन तथा कानुनहरु हरेक नागरिकहरुले आफु, आफ्नो परिवार र समाज तथा समुदायका लागि अभिभावकत्व ग्रहण गर्ने खालको हुनुपर्छ । निर्माण गरिएका कानुनहरुमा भएका त्रुटी, त्रुटी पछि ब्यक्त गरेका अभिब्यक्तिहरुले पनि समुदायका ब्यक्तिहरुलाई थप पीडित बनाएको छ। विशेषगरी अपाङ्गता भएका ब्यक्तिहरुका समस्या र समस्या समाधानका लागि बनेका ऐन, कानुन र पूर्वाधारहरु निर्माण गर्न तीन तहकै सरकारले गरेको प्रयास सहनिय छ। अझै पुगेको छैन, समेटिएको छैन। भएका प्रयासहरुलाई समर्थन गर्दै भएका त्रुटीहरुलाई सच्याउँदै जानुपर्छ।
अपाङ्गता भएका बालिका र महिलाहरु नातेदार, छिमेकीहरुबाट सहयोग गर्ने वाहानामा थप चपेटामा परेका छन्। जिल्लाको तथ्याङ्कमा पछिल्ला केहि वर्षमा अपाङ्गता भएका महिला र बालिकाहरु बलात्कृत भएका ७ वटा जाहेरी प्रहरीकोमा दर्ता भएका छन्। अपाङ्गता भएका ब्यक्तिहरुको आफ्नै पीडा त छँदैछ पीडा माथी पीडा थपिने गरी आफन्तबाट बलात्कृत हुनुपर्दा झनै संकट थपिएका छन्। एकातिर सरकारले बनाएको मापदण्ड अनुसार राज्यको सुविधा नपाएको गुनासो छ भने पाएकाहरुले पनि परिवार, समाज तथा राज्यका निकायहरुबाट सहयोग पाउन नसकेको गुनासोलाई सरकारका निकायहरुले सम्बोधन गर्नु जरुरी छ।
राज्यले प्रदान गर्ने सुविधा सहज रुपमा प्राप्त गर्न कार्यविधि बाधक भएको अनुभव जनप्रतिनिधि आफैले गरेका छन्। जिल्लामा अपाङ्गता सम्बन्धी काम गर्ने १६ वटा संस्था छन्। अधिकांश संस्थाहरुको गुनासो अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले प्रदान गरेको सुविधा उपलब्ध गराउन कार्यविधि बाधक भएको हो। नेपालको संविधानले मौलिक हकको धारा १८ मा समानताको हक, धारा ३८ मा महिलाको हक, धार ४३ मा सामाजिक सुरक्षाको हकको ब्यवस्था गरे पनि कार्यान्वयनमा समस्या रहेको नेपाल अपाङ्ग संघ जिल्ला महासचिव पम्फा पुर्काेटीले बताउनु भयो। फरक फरक अपाङ्गता भएका ब्यक्तिहरुको समस्या अलग अलग रहेको उहाँले बताउनु भयो। सबै समस्या समाधान गर्न तीनै तहका सरकारले चासो दिनुपर्ने अपाङ्गता क्षेत्रमा काम गर्ने अधिकारर्मीहरुको धारणा छ समग्र विषयमा पीडितहरुलाई न्याय हुने खालको कानुन निर्माण, भएका कानुनहरुको कार्यान्वयन तथा अधुरा र अपुरो कानुनहरुलाई संशोधन गरी अपाङ्गता क्षेत्रमा भएका प्रगतिहरुलाई अझै ध्यान दिनु जरुरी छ। नीति र संरचनामा ध्यान दिन सकियो भने विस्तारै ब्यक्तिहरुले गर्ने ब्यवहारमा परिवर्तन सम्भव छ।





