झण्डै एक वर्ष पछि नेपाल सरकारले विश्वभरी फैलिएको कोभिड १९ विरुद्धको खोप अनुदानमा प्राप्त गरी नागरिकहरुका लागि उपलब्ध गराएको छ। हरेक नागरिकहरुका लागि कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारले पहल गरिरहेको छ। दक्षिण एशियामै नेपाल दोश्रो मुलुक बन्दै आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न खोप उपलब्ध गराउने राष्ट्रका नाममा गनिएको छ। खोपको प्रयोग र सु्निश्चितताले आम नागरिकहरुमा आशा जगाएको छ। झण्डै २ हजार नागरिकहरुले यहि रोग प्रमुख कारण बन्दै ज्यान गुमाएका छन्। दैनिक संक्रमणको दर घटे पनि परिक्षण गराउने र उपचार गराई घरमै बस्ने नागरिकको संख्या घटिरहेको छ। सरकारले पहिलो चरणमा उपलब्ध गराएको खोपले सर्वसाधारणलाई मात्रै नभई मुलुकका हरेक क्षेत्रलाई तरंगित र उत्साहित बनाएको छ।
काभ्रेपलाञ्चोक जिल्लामा कोभिड विरुद्धको खोप धुलिखेल अस्पतालबाट पहिलो चरण माघ १४ गतेबाट शुरु भएको छ भने मेथिन्कोट अस्पतालबाट दोश्रो चरणमा पहिलो डोजको खोप शुरु भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक तथा अस्पतालमा कार्यरत सुरक्षागार्ड, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाईएको छ। उक्त समूहमा पर्ने जिल्लामा ३ हजार ५ सय ८१ जनालाई पहिलो चरणको खोप लगाईएको छ। धुलिखेल अस्पतालबाट खोप कार्यक्रम शुरु भएको थियो ।
भौगोलिक हिसावका कारण जिल्लामा दुई स्थानबाट खोप लगाउन शुरु गरिएको हो। खोप पछि उत्पन्न हुन सक्ने असरलाई न्युनीकरण गर्न समयमै उपचार गराउन अस्पतालले गर्ने ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको छ। जिल्ला संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खोप सामाग्री अस्पतालमा हस्तान्तरण गरी सुरक्षित रुपले खोप लगाउन र लगाएका ब्यक्तिहरुलाई सुरक्षित राख्न भनिएको थियो। जिल्लामा सरकारी तहका स्वास्थ्यकर्मी ७ सय ४९, निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वंसेविका ९ सय ५५ जना, सरसफाईकर्मी १ सय ११ जना, एम्बुलेन्स चालक ४४ जना र शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालमा खटिने सुरक्षागार्ड गरी १ सय २६ जनालाई खोप लगाउने गरी सूचिकृत गरिएको थियो।
खोप लगाउनु पूर्व स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, मेथिन्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तरिकाका बारेमा प्रशिक्षण दिएको थियो। यसले खोपमा खटिने स्वास्थ्कर्मीहरुलाई थप हौसला प्रदानका साथै अन्य तयारीमा सहजता थपेको थियो। खोप प्रदायकहरुले कस्तो अवस्थामा खोप नलगाउने, कस्तो अवस्थामा लगाउने भन्ने विषयमा जानकारी लिएका कारण खोप अभियानमा सहजता प्राप्त भयो। नियमित खोप वा औषधीका कारण एलर्जी, गर्भवती वा बच्चालाई दुध चुसाउने आमाहरुलाई उक्त खोप लगाईएन। देब्रे पाखुरामा लगाईएको खोप पछि केहिलाई सामान्य ज्वरो आए पनि अस्पतालमा भर्ना हुने गरी नआएकाले खोप प्रभावकारी र सफल भएको निश्कर्ष निकालिएको छ। सरकारको उक्त प्रयासलाई धन्यवाद दिदै बाँकी खोपहरुका लागि तत्काल पहल गर्नु जरुरी छ। प्रधानमन्त्रीले भनेझै सबै नागरिकहरुलाई खोप उपलब्ध गराउने गरी सरकारी निकायले कार्य गर्नु जरुरी छ।





