प्रतिनिधि सभा विघटनसँगै सरकारले घोषणा गरेको निर्वाचनको तयारी शुरु भएको छ। एकातिर सरकारको निर्णय विरुद्ध सडकमा आन्दोलन जारी छ भने अर्काेतिर संसद् विघटन विरुद्ध अदालतमा बहस जारी छ। सरकारले घोषणा गरेको निर्वाचनको तयारी स्वरुप जिल्ला जिल्लामा आवश्यक कार्य शुरु भएको छ। राजनीतिक दल, प्रशासनिक निकायहरु र अन्य संयन्त्रहरु निर्वाचनको तयारीका लागि सक्रिय भएका छन्। बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेसँगै जिल्लामा त्यसको तयारी शुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले काभ्रेपलाञ्चोकले मध्यावधी निर्वाचनको तयारी स्वरुप राजनीतिक दलहरु सम्मिलित सर्वदलीय बैठक सम्पन्न गरेको छ। मध्यावधी निर्वाचनका लागि २ लाख ८२ हजार ५ सय ५५ मतदाता सुचीकृत भएका छन्। २०७४ मा २ लाख ७२ हजार २ सय ९२ मतदाताले भाग लिने अवसर प्राप्त गरेका थिए। २०७४ को निर्वाचनमा भन्दा १० हजार धेरै मतदाताहरुले मतदानमा भाग लिने भएका छन्।
मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा टुङ्गो लागिसकेको छ। २०७४ सालकै निर्वाचनमा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा नाम र केहि केन्द्र बाहेक अरु फेरबदल भएको छैन। केहि स्थान बाहेक अधिकांश मतदान केन्द्र पुरानै कायम भएको छ। २०७४ सालमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ३ सय ५० वटा मतदान केन्द्र चयन भएका थिए। १ सय ८९ वटा मतदान स्थलमा ३ सय ५० वटा मतदान केन्द्र चयन गर्ने निर्णय गरेको हो। मतदाता नामावलीमा दावी विरोध गर्ने, अद्यावधिक गर्ने निर्णय गरेको छ। पुष ५ गते देखि मतदाता नामावली थप गर्न रोक लगाए पछि जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक शुरु गरिएको हो। माघ १६ र १७ गते हरेक पालिकामा सहायक नाम दर्ता अधिकारी मार्फत मतदाता नामावली अद्यावधीक गराईनेछ। मतदाताहरुको नामावली गलत भएको भए, दोहोरो परेको भए वा अन्य केहि भएको अवस्थामा दावी विरोध गर्ने अधिकार दिईएको छ। संकलित दावी विरोधलाई माघ २४ गते निर्वाचन कार्यालयमा उपलब्ध गराउन निर्देशन दिईएको छ। मतदाताहरुलाई जिल्ला निर्वाचन कार्यालयले आफ्नो मतदातामा नामावली सहि भए नभएको हेर्न र दावी विरोध गर्न अनुरोध गरेको छ। नागरिकता बनाएसँगै मतदाता नामावलीमा फोटो खिचाउनेहरुले १८ वर्ष नपुगी मतदानमा भाग लिन पाउने छैनन्। जिल्लामा फोटो खिचाएर मतदाता सूचीमा नपर्नेहरुको संख्या धेरै छ। जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा, प्रदेश सभा चारवटा रहेका छन्। प्रत्येक प्रतिनिधि सभामा दुई दुईवटा प्रदेश सभा रहेका छन्। उक्त निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी र ३ हजार ५ सय सुरक्षाकर्मीको तयारी आवश्यक छ।
निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला स्तरीय संयन्त्र, राजनीतिक दल तथा नागरिक समाजले छलफल थालेका छन्। आन्दोलनरत दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन्। भित्रभित्रै चुनाव र बाहिर बाहिर आन्दोलन गर्ने दलहरुले कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुले पनि निर्वाचनको वातावरण बन्दै गएको पुष्टि भएको छ।





