2026 April 16/ 08:51: 30pm

    २०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षति गराएका आवासहरुको पुनर्निर्माण अझै टुङ्गिन सकेको छैन। सरकारले दिएको अनुदान राहतका लागि मात्रै पुनर्निर्माणको कार्य गर्नेहरुका कारण समयमै पुनर्निर्माण टुङ्गिन नसेकेको हो। भुकम्पका कारण आवास क्षति भई पुर्ण रुपमा बस्न नमिल्ने परिवारहरुको लाभग्राहि सूचीमा नाम पर्न सकेन। पटक पटकको उजुरी, गुनासो सुनुवाई अर्थात स्थानीय सरकारको प्रयासले पनि त्यस्ता पीडितहरु अझै छुटेका छन्। जिल्लाको हकमा पनि ३० हजार घर धुरी भुकम्प पछि अलग भएको तथ्याङ्क छ। पुनर्निर्माण जति लम्ब्यायो त्यति नै समस्या देखिने र त्यस्ता ब्यक्तिहरु समेटन् नसकिने, पहिलो किस्ता लिएर बेपत्ता भएकाहरु सम्पर्कमा नआउने, लाभग्राहि सूचीमा परेकाहरु सम्झौता नगर्ने समस्याले पिरोलेको छ। यस्तो अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको तालिकालाई समयमै पूरा गरी पुनर्निर्माणको यो अवधिको कार्यभार सम्पन्न गर्नु जरुरी छ। 
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्म भूकम्पले भत्काएका निजी घरहरू पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी तयारीलाई अन्तिम रुप दिएको छ। प्राधिकरणले अहिलेसम्म घर नबनाएकाहरूले पुस १५ गते भित्र पहिलो किस्ताको रकम लिइ सक्नुपर्ने, माघ महिनाभित्र घरको जग हाल्नुपर्ने र आगामी वैशाख महिना भित्र तेस्रो किस्ताको रकम लिएर असार मसान्तसम्म घरको छानो हालिसक्नुपर्ने कार्ययोजना पालिकाहरुमा पठाएको छ। भूकम्पले भत्काएका व्यक्तिका निजी आवास पुनर्निर्माणको काम असार मसान्त अगावै सम्पन्न हुनेछन्। निजी आवास पुनर्निर्माण अन्तर्गत भत्किएका ८ लाख घर निर्माण सकिएका र बनि रहेका गरी ९२ प्रतिशत प्रगति भएको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट झन्डै ८ लाख घर भत्किएका थिए। पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा माथि जानु मुख्य उपलब्धि हो अन्य स्थानमा घर भएका र घर नबनाएका कतिपयले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ फिर्ता गरेको र बाँकी रहेकाहरूले यो आर्थिक वर्षभित्र निर्माण सक्ने योजनामा प्राधिकरणले सबै जिल्लाहरुमा तिब्रता दिएको छ। 
    स्थानीय सरकार मार्फत पहिलो किस्ता लिन बाँकी भएका, पहिलो किस्ता लिएका, दोश्रो किस्ता लिएर पुनर्निर्माण अधुरो राखेका तथा तेश्रो किस्ता लिन बाँकी रहेका लाभग्राहिहरुलाई ताकेता गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लामा ९८ हजार १९ घर परिवारको सर्भे गरिएकोमा ७८ हजार ७ सय ८५ जना लाभग्राहि सूचीमा परेका थिए। ५ हजार ७ सय ९३ घर परिवारलाई रेट्रोफिटिङ्गमा समावेश गरी जिल्लामा ८४ हजार ५ सय ७८ घर परिवार समेटिएको छ। लाभग्राहि सूचीमा परेका ७७ हजार ९ सय ३५ जनाले सम्झौता गरी पहिलो किस्ता लिईसकेका छन्। पहिलो किस्ता लिन बाँकी ६ हजार ६ सय ४३ जना अझै सम्पर्कमा छैनन्। वास्तविक भुकम्प पीडितहरु अझै समेटिन नसकेको अवस्थामा पहिलो किस्ता लिन उपयुक्त ठहर भएका ६ हजार ६ सय ४३ सम्पर्क विहिन भएका छन्। यसले पुनर्निर्माणको प्रगतिलाई कम देखाईरहेको छ। पाँच वर्षसम्म घर आवश्यक नहुने ब्यक्तिहरुलाई लाभग्राहिको सुचीबाट हटाईदै छ। स्थानीय सरकारको समेत सक्रियतामा पुनर्निर्माणको कार्य टुङ्गयाउन लागिएको हो।