2026 April 16/ 08:50: 54pm

    नेपालमा थुप्रै आयुर्वेद सम्बन्धी अध्ययन, अध्यापन र औषधीहरुको उत्पादन शुरु भएको छ तर पनि यसको प्रयोग र प्राथमिकतामा परेको छैन। नेपालका वन जंगलहरुमा प्राप्त हुने जडिबुटीहरुलाई असंख्य रोगका प्रतिरोधात्मक औषधीका रुपमा लिन सकिन्छ । नेपाल र छिमेकी देश भारत तथा अन्य मुलुकहरुबाट औषधीहरु आयात नहुँदा, प्रविधिको विकास नहुँदा उहिलेको पुस्ताले यिनै जडिबुटीहरुलाई औषधीको रुपमा प्रयोग गरेर जीवन निर्वाह गरेका थिए। पछिल्लो समय प्रविधिको विकास र विस्तारसँगै नेपालमा भएका जडिबुटीहरुलाई उद्योगका रुपमा विकास गरी त्यसलाई दैनिक जीवनमा प्रयोगमा ल्याउने र रोग प्रतिरोधात्मक बनाउने कार्य हुन सकेको छैन। जडिबुटी तथा आयुर्वेद औषधीलाई प्राथमिकतामा राखिएको छैन। नेपाल सरकारले अस्पताल खोल्न, औषधी कारखाना तथा अन्य क्षेत्रमा गरिरहेको लगानी आयुर्वेदतर्फ बढाउनु जरुरी छ। कोभिड १९ को अवसरमा नेपालकै जडिबुटीहरु प्रतिरोधात्मक क्षमता बढाउन प्रभावकारी बनेको छ। त्यसकै आधारमा पनि सरकारले आयुर्वेदतर्फ विशेष बजेट र प्राथकिता दिनु जरुरी छ।
    यतिखेर कोरोना महामारीले घर आँगनमा हुने हरेक खालका जडिबुटीहरु स्वास्थ्यबर्धक छन् भन्ने पुष्टि गरेको छ। एक घर एक कोरोना संक्रमित जस्तै भएको अवस्थामा प्रत्येक ब्यक्तिहरुलाई आयुर्वेद आवश्यक र प्रभावकारी भएको छ। काभ्रेपलाञ्चोक जिल्लामा जिल्ला आयुर्वेद कार्यालयले कोरोना संक्रमितहरुका लागि पटक पटक आयुर्वेद औषधीहरु वितरण ग¥यो। जसले संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत ग¥यो। आयुर्वेद औषधीहरु हस्तान्तरणका साथै आयुर्वेदको माध्यमबाट योग, ध्यान र प्राणायम सिकाएको छ। गत आर्थिक वर्षको चार महिनामा मात्रै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाबाट मात्रै ३ सय ३६ जनाले कोभिडसँग सम्बन्धित रहेर सेवा लिएका छन्। जिल्लामा धुलिखेल, बनेपा, मंगलटार लगायतका क्षेत्रमा आयुर्वेदका कार्यालयहरु छन्। जसबाट कोभिडसँग सम्बन्धित रहेर ब्यक्तिको क्षमता बृद्धि गर्ने, कोभिडका लक्षणहरुसँग मिल्ने रोगका आयुर्वेद औषधीहरु प्रयोग गर्दा कोभिड सजिलै जित्न सकिएको संक्रमतिहरुको अनुभुति छ। कोभिड १९ को हालसम्म कुनै पनि औषधी फेला नपरेका कारण आयुर्वेद औषधीहरु गुर्जाे लगायतका महत्वपूर्ण आयुर्वेदले कोभिड नियन्त्रणमा सहज भएको छ।     
    आयुर्वेद कार्यालयले क्वारेन्टिनहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी तथा मनोसामाजिक परामर्श तथा योग सेवा उपलब्ध गराउँदै आएको छ। नागरिकहरुलाई थप सेवा उपलब्ध गराउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ओपिडि सेवा मात्र भएकाले त्यसलाई विस्तार गरी उपचार सेवा विस्तार गर्नु आवश्यक छ। सेवाग्राहिहरुले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र नागरिकहरुको सेवामा विस्तार गर्न ओपिडि सेवासँगै विरामीहरु भर्ना गरेर उपचार गराउनु आवश्यक छ। महामारीमा सबैलाई स्वास्थ्य मापदण्डको उचित रुपमा अभ्यास गराउने कार्य तथा नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच गराउन, निजी आयुर्वेद स्वास्थ्य संस्थाको संचालन अनुमतिको लागि मापदण्ड नभएको, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको ओपिडि सेवालाई अस्पतालको रुपमा विकास गर्न, जिल्ला भित्रका सबै सरकारी तथा अन्य निकायबीच समन्वय गरी एकीकृत कार्ययोजनाका साथ महामारी विरुद्ध लड्न जरुरी छ। महामारीका बेला विरामीहरु आयुर्वेद सेवाका लागि अस्पताल हुन सक्ने वातावरण बनाउन प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य संस्थाहरुको थप विकास गर्नु जरुरी छ।