कोरोना भाईरस फैलनु अघिसम्म दैनिक हजारौंको संख्यामा बैदेशिक रोजगारमा जाने नेपालीहरु थिए। कोरोना भाईरसले बैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा कमी आए पनि स्वदेश फर्कने र श्रम क्षेत्रमा रोजगार गुम्ने क्रम बढेको छ। जतिबेला श्रम गुमिरहेको छ त्यतिबेला सरकारले साना तथा घरेलु उद्योगहरु, लघु उद्यमहरु तथा स्वआर्जन गर्न सक्ने खालका उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ। सरकारी लम्मेतानका कागजात मिलाउने झण्झटिलो प्रकृया, बैकिङ्ग झण्झट तथा उत्पादनलाई बजारसम्म पु¥याउन नसक्ने वर्तमान अवस्थाको अन्त्य गर्न अधिकारसम्पन्न स्थानीय सरकारले गतिला योजनाहरु तयार गर्नु जरुरी छ। नागरिकहरुलाई आत्मनिर्भर बनाउन सर्वप्रथम सिपको जरुरी छ। सिप सिकेसँगै प्रविधिको सहजता, स्थानीय आवश्यकता अनुसारको उत्पादन र बजारीकरण, बजारीकरण अभाव भएका बेला स्टोरेज तथा अन्यत्र खपत गर्न सकिने अवस्थामा मुल्य कायम गरी राहत उपलब्ध गराउनेतर्फ स्थानीय सरकार सक्रिय हुनु जरुरी छ। जबसम्म साना तथा घरेलु उद्योगहरुलाई संरक्षण गर्न सक्दैनांै तबसम्म मुलुकले खोजे जस्तो आर्थिक समृद्धि हासिल गर्न कठिन छ।
जिल्लाको एक वर्षको तथ्याङ्कले पनि त्यहि देखाउँछ। आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार १ सय ४८ वटा उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा विभिन्न प्रकृृतिका उद्योगहरु दर्ता भएका छन्। उत्पादनमुलक, कृषि तथा वन, उर्जामुलक, खनिज जन्य, निर्माण, पर्यटन, सेवामूलक, विज्ञान तथा प्रविधि सम्बन्धीका उद्योगहरु कार्यालयमा दर्ता गर्न सकिन्छ। जसमध्ये उर्जामुलक, खनिजजन्य, निर्माणसँग सम्बन्धित उद्योगहरु कार्यालयमा दर्ता भएका छैनन्। सबैभन्दा भन्दा कम विज्ञान तथा सूचना प्रविधि उद्योग ५ वटा दर्ता भएका छन्। उत्पादनमुलक क्षेत्रमा साना उद्योगका रुपमा ब्यक्तिगत तर्फ ७१ वटा उद्योग दर्ता भएका छन् भने प्राली तर्फ १४ र सामुहिक फर्मका रुपमा ९ वटा गरी ९४ वटा दर्ता भएका छन्। उद्योगमा साना उद्योग, घरेलु उद्योग र लघु उद्यम अन्र्तगत ब्यक्तिगत, सामुहिक र प्रालीमा उद्योग दर्ता गर्न सकिने ब्यवस्था छ। कृषि तथा वन तर्फ १० वटा लघु उद्यम दर्ता भएका छन्। साना उद्योगतर्फ ५ सय २ वटा उद्योग ब्यक्तिगत तर्फ दर्ता भएका छन्। त्यस्तै ३६ वटा सामुहिकतर्फ र २६ वटा प्रालि तर्फ दर्ता भएका छन्। ५ सय ७४ वटा उद्योग कृषि तथा वन तर्फ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनु भयो। एक आर्थिक वर्षको उद्योग दर्ताका आधारमा नेपालमै श्रम तथा रोजगारका क्षेत्रमा नागरिकहरु सक्रिय हुन थालेको देखाउँछ। बागमती प्रदेश सरकारले विगत वर्षहरुमा विभिन्न कारणबाट नविकरण हुन नसकेका उद्योगहरुलाई प्रकृया पु¥याएर नविकरण तथा नामसारी गर्न खुल्ला गर्ने निर्णयले नयाँ दर्ता र नविकरणको संख्या बराबरी जस्तै हुन थालेको छ।
पर्यटन तर्फ लघु उद्यममा एउटा उद्योग ब्यक्तिगत तर्फ दर्ता भएको छ। साना उद्योग तर्फ १ सय ७९ वटा ब्यक्तिगत उद्योग दर्ता भएका छन् भने १० वटा सामुहिक र ५ वटा प्रालि तर्फ गरी १ सय ९५ वटा उद्योग दर्ता भएका छन्। लकडाउनका बीचमा खासै काम नभए पनि पर्यटन वर्ष २०२० लाई लक्षित गरी पर्यटनसँग सम्बन्धित रहेर उद्योगहरु दर्ता भएका थिए। कोरोना भाईरसका कारण उद्योगहरु दर्ता हुने क्रम मात्रै रोकिएको छैन भएका उद्योगहरु पनि संचालनमा आउन सकेका छैनन्। कोरोना भाईरसले खस्किएको अर्थतन्त्र, खस्किएका उद्योगहरुको संरक्षण गर्ने र नागरिकहरुलाई आत्मनिर्भर बनाउने तर्फ तीनै तहका सरकार कृयाशील हुन आवश्यक छ।





