अन्तर्राष्ट्रिय बाल दिवस विश्वभर मनााईदै छ। नेपालमा पनि बालबालिकाहरुको संरक्षणका लागि विभिन्न समयमा ऐन कानून जारी भएका छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालले बालबालिकाहरुको संरक्षणका लागि सन्धि सम्झौतामा हस्ताक्षर समेत गरेको छ। तीन तहका सरकार पछिल्लो समय बालबालिकहरुको संरक्षण, प्रबद्र्धन तथा भविष्य उज्वल बनाउन कृयाशील छन्। सरकारलाई सहयोग गर्न विभिन्न संघ संस्थाहरुले बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका छन्। तर पनि बालबालिकाहरु सहज र सरल रुपले विद्यालय जान पाउने, विद्यालय गएका बालबालिकाहरुले निर्धक्क अध्ययन गर्न पाउने र अध्ययन गरेका बालबालिकाहरुको भविष्यका लागि राज्यले संरक्षण गर्ने विषयमा कार्यहरु हुन सकेका छैनन्। विकट जिल्लाहरुमा तथा विकट स्थानीय सरकारहरुले बालबालिकाहरुलाई शिक्षा समेत उपलब्ध गराउन नसकेको सन्दर्भमा प्रदेश र संघ सरकारले बालबालिकाहरुको हकमा नयाँ कदम चाल्नु जरुरी छ।
काभ्रेपलाञ्चोक जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्ने तयारी गरे पनि सम्भव भएको छैन। केहि स्थानीय सरकारले आफ्नो पालिकालाई बालमैत्री घोषणा गर्ने गरी कार्य गरिरहेका छन्। जिल्लाको पहिलो बालमैत्री वडा पनौती नगरपालिका वडा नम्वर १२ भूमिडाँडा हो। दोश्रो धुलिखेल नगरपालिकाको वडा नम्वर १० शारदा बतासे हो। त्यसपछि लगातार धुलिखेल र पनौतीले अन्य वडाहरुलाई बालमैत्री घोषणा गरी सिङ्गो नगरलाई नै बालमैत्री वडा घोषणा गर्ने तयारीमा जुटेका छन्। धुलिखेल नगरपालिकाका ६ वटा वडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालमैत्री वडा घोषणा गरिसक्नु भएको छ। केहि वर्ष भित्रै धुलिखेलका सबै वडाहरु बालमैत्री हुनेछन्। जहाँ बालबालिकाहरुले सहज रुपले विद्यालय जान, आफ्ना विषयमा खुलेर नीति निर्माण तहमा राख्न, बालविवाह हुन नदिन, बालबालिकाहरुलाई हुने अमानवीय ब्यवहार रोक्ने कार्यहरु गरिरहेका छन्। बालक्लब गठन पछिको बालबालिकाहरुको कृयाशीलताले अभिभावकहरु समेत सचेत भएका छन्। अभिभावकहरु सचेत भएपछि त्यो टोल, त्यो गाउँ र त्यो वडा बालमैत्री हुनेछ। बालबालिकाहरुको सुरक्षाका लागि भएका सरकारी प्रयासलाई परिवारबाट संरक्षण हुनु जरुरी छ।
अन्तराष्ट्रिय रुपमा प्रत्येक बर्षको नोभेम्बर २० तारिखमा बाल दिवस मनाउने गरिएको छ । कोरोना भाईरसको महामारीले विश्वमा बालबालिकाहरु थप जोखिममा परेका छन्। विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्य केहि समय पछि धकेलिएको छ। संयुक्त राष्ट्रिय संघद्वारा १९५४ नोभेम्बर २० तारिखमा विश्व भरिका बालबालिकाहरुको आधारभूत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरिएको थियोे। जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभूत अधिकार समेत तोकिएको थियो। बालबालिकाहरुका सबै अधिकार संरक्षणका लागि पहिले उनिहरुलाई नै संरक्षण गर्नु जरुरी छ। सबै स्थानीय तह बालबालिकाहरुको हकमा उति नै सक्रिय र चनाखो हुनु जरुरी छ।





