नेकपा एकीकरण भएको लामो समय भई सक्दा समेत केन्द्रिय कमिटी बाहेकका अन्य कमिटीहरुको कार्य हुन सकेको छैन। पोलिटब्युरो, प्रदेश, विभाभागीय र जिल्ला कमिटीहरुको काम पनि अघि बढ्न सकेको छैन एकता नै नभएका कमिटीहरुमा आउने फुट र पार्टीका गतिविधिहरुले मुलुकको हित गर्ने अभियानमा कसरी सक्रिय हुन सक्छ ? एकता के का लागि थियो ? मुलुकको समृद्धका लागि वा नेताहरुको ब्यवस्थापनका लागि मात्रै ? स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी अलग अलग ढंगबाट निर्वाचनमा होमिएका थिए। पार्टीको कृयाशिलता पनि थियो। सांगठिनक अभ्यास र अवसरहरु पनि थिए। नागरिकहरुलाई पार्टीहरुको प्रतिस्पर्धाले फाईदा नै पु¥याएको थियो। तर प्रदेश र संघको निर्वाचनमा भएको कार्यगत एकता पछि पार्टीै एकीकरणसम्म पुगेको भए पनि त्यसले मूर्त रुप पाउन नसक्दा मुलुकले फाईदा भन्दा अवरोध र संकट ब्यहोर्ने हो कि भन्ने चिन्ताले सताएको छ ?
नेकपामा दुई अध्यक्ष छन्। एक अध्यक्षले सरकारको नेतृत्व गरिरहेका छन् भने अर्का अध्यक्षले पार्टीको। एकले अर्काेलाई हस्तक्षेप नगर्ने, एकले अर्काेलाई सहयोग गर्ने पार्टीको निर्णय कार्यान्वयन नहुँदै पुनः पार्टी भित्र सत्ताकै कारण विवाद निम्ताएर विश्वलाई हसाउँने खेलमा नेताहरु किन सक्रिय छन्? केपी ओली नेतृत्वको सरकारले छिमेकी देश भारतले अतिक्रमण गरेको सिमानाको जमिन फिर्ता ल्याउने कुटनीतिक पहल गरेको छ। नक्सा जारी गरिसकेको छ भने त्यसले पारेको दूरगामी प्रभाव र राष्ट्रियताबाट आत्तिएका नेकपा भित्र र बाहिरका शक्तिहरुले सरकारलाई असफल बनाउने खेल खेलिरहेका छन्। २०७६ चैत्र देखि मुलुक संकटमा छ। नागरिकहरु संकटमा छन्। नागरिकहरुको जीवनरक्षाका लागि नेताहरु छलफलमा बसेका छैनन्। बरु सामाजिक सञ्जालमा गुट उपगुटका पक्षमा लेख्ने, भेला गर्ने र प्रधानमन्त्रीलाई चारैतिरबाट घेरा हालेर कमजोर बनाउने र नेकपा भित्र बलिया हुँदै गएका धमिराहरुलाई मलजल पु¥याउने काम गरिरहेका छन्। सरकारले गर्ने नियुक्ति, सरुवा, बढुवा वा अन्य अवसरका पदमा बाहेक नेताहरुको ध्यान अन्यत्र जान सकेको छैन। पार्टी कमिटी बनाउने, भेला गर्ने, अधिबेशन गर्ने र महाधिबेशनसम्म जाने रोडम्यापलाई कुन चाँहि नेताले पालना गरेको छ ?
पटक पटक सत्ताकै लागि झगडा गरिरहने हो भने तल्लो तहसम्म आईनपुगेको एकीकरण अन्त्य भएकै राम्रो हुन्छ। भन्ने बेला नेकपा एउटै हो भन्ने ब्यवहार चाँहि हिजोकै नेकपा एमाले र माओवादीको रहिरहने हो भने त्यस्तो एकता जरुरी छैन र आवश्यक पनि हुँदैन। त्यसले मुलुकका लागि समृद्धि होईन संकट मात्रै निम्तिने निश्चित छ। आगामी निर्वाचनमा भागवण्डा गर्नुपर्ने, कार्यकर्ता र नेता बराबर हुने, जनता र कार्यकर्ता नेताको टाउकोको संख्या उति हुने अनि भागबण्डा चाँहि बराबरी चाहिने यस्ता एकीकरणका अप्ठ्यारा विषयमा शुरुमै छलफल भई निश्कर्षमा पुग्न सकिएन भने आगामी निर्वाचनहरुमा एकीकरण बलका लागि होईन भएको बल र शक्ति छिन्नभिन्न हुनका लागि मात्रै उपयुक्त हुन्छ। त्यसैले अहिले केपी ओलीलाई असहज पार्ने, अप्ठ्यारो बनाउने भन्दा पनि अर्का अध्यक्ष प्रचण्डले पार्टीका सबै कामलाई तल्लो तहसम्म पु¥याउने र आगामी महाधिबेशनबाट पार्टीको नेतृत्व सम्हाल्नेतर्फ ध्यान दिई मुलुक, पार्टी र जनताको पक्षमा एकजुट हुनुको विकल्प छैन। सत्ताको झिनाझम्टीमा अल्झिरहने हो भने जनताले नेकपाका लागि दिएको दुई तिहाई बेकार हुनेछ। नेताहरुको समयमै ध्यान जान सकोस्।





