2026 April 16/ 06:49: 28pm

    काभ्रेपलाञ्चोक जिल्लामा काठमाडांै विश्वविद्यालयको स्थापनाले प्राप्त अवसर नेपालकै गौरवपूर्ण बनेको छ। धुलिखेल अस्पतालको स्थापनासँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा काभ्रे जिल्लाले प्राप्त गरेको अवसरलाई थप निर्माण हुने संरचनाले अझै मजबुत बनाउनेछ। राजधानीसँग जोडिएको तर विकासमा बत्ति मुनिको अँध्यारो भए जस्तो पछाडि पर्दै आएको काभ्रेपलाञ्चोक जिल्लामा २०७४ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र तीन तहकै सरकारले गौरवका आयोजनामा ध्यान दिन थालेका छन्। गौरवका थुप्रै आयोजनाहरु मध्ये आगामी तीन वर्ष भित्रै संचालनमा आउने गरी निर्माण शुरु भएको प्रतिरक्षा विश्वविद्यालय हो। बनेपा नगरपालिका वडा नम्वर १४ मा निर्माण हुन लागेको उक्त विश्वविद्यालयको निर्माण कार्य शुरु भएको छ। यसले जिल्लाको विकासमा थप आयाम थप्ने निश्चित छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्राप्त हुने जिल्लाको गौरवपूर्ण इतिहासलाई प्रतिरक्षा विश्वविद्यालयले थप सहयोग पु¥याउने छ। 
काठमाडौ विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (संचालनमा आउन बाँकी), प्रतिरक्षा विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यलाय, सुरक्षण मुद्रण केन्द्र, एयरपोर्ट निर्माण, पाँचखालमा खानेपानी, इन्द्रावती परियोजना लगायतका गौरवका आयोजनाहरु शुरु भएका छन्। यसअघि विकास निर्माणका लागि केन्द्रिय तहमा पहुँच कम भएका कारण जिल्लामा गौरवका आयोजनाहरु शुरु हुन सकेका थिएनन्। विगत तीन वर्ष देखि काभ्रेजिल्लाका विभिन्न स्थानहरुमा गौरवका परियोजना संचालन भएका छन् भने बनेपामा अन्तराष्ट्रिय कला केन्द्र निर्माण लगायतका महत्वपूर्ण परियोजनाहरु निर्माण शुरु भएका छन्। प्रतिरक्षा विश्वविद्यालयको अलावा बासुकी थुम्कीमा पर्यटन केन्द्र, हिले जलजले, गोसाईस्थान, चण्डेश्वरी र धनेश्वर क्षेत्र, नासिकासाँगा, विकटेश्वर, भक्तेश्वर नाला उग्रचण्डी जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रको स्तरोन्नती गर्ने कार्य प्रारम्भ भएको छ। तीन वर्ष भित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी (एनडीयू) सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढेको छ। विश्वविद्यालयमा प्रधानमन्त्री कूलपति, रक्षामन्त्री सहकूलपति र प्रधासेनापति उप–सह–कूलपति रहने गरी अन्य विभागीय ढाँचा प्रस्ताव गरिएको छ। 
प्रतिरक्षा विश्वविद्यालयमा अमेरिका, बेलायत, चीन, सिंगापुर, पाकिस्तान, बंगलादेश, मलेसिया लगायतका देशमा प्रतिरक्षा विश्वविद्यालयहरू छन् भने भारतमा पनि यसखालको विश्वविद्यालय प्रस्तावित छ। भारतमा मद्रास विश्वविद्यालय अन्तर्गत प्रतिरक्षा कलेज छ। त्यहाँ पनि विश्वविद्यालय बन्ने चरणमा छ। ‘हामीकहाँ अध्ययन अनुसन्धानका लागि केन्द्रहरूको अभाव छ।  भू–राजनीतिक र रणनीतिक तवरमा नेपाल  महत्वपूर्ण स्थानमा छ। मुलुकमा रणनीतिक विषयमा अध्ययन आवश्यक पर्ने भएकाले नेपाली सेनाको रेखदेखमा संचालन हुने गरी विश्वविद्यालयले थिंक ट्यांकको काम गर्नेछ। सेनाको निगरानीमा रहने भएपनि मुलुकको आवश्यकता हो भन्ने भावना सहित सिंगो संगठनले काम गरिरहेको छ। 
    प्रतिरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पाठ्यक्रमको मस्यौदा निर्माण, विश्वविद्यालय अन्तर्गतका महाविद्यालय, अध्ययन र अनुसन्धान केन्द्र तथा शैक्षिक विभागहरुको ढाँचा निर्धारण लगायत काम भईरहेको छ। मुलुकको सुरक्षासँग जोडिएको उक्त विद्यालयले त्यस क्षेत्रको मात्रै नभई समग्र मुलुककै विकासमा थप योगदान पु¥याउने निश्चित छ। यसलाई अवसरका रुपमा बदल्न स्थानीयहरुको सहयोग र समन्वय आवश्यक छ।