2026 November 20/ 02:57: 42am

    बनेपा/नेपालीहरूको महान् चाड शुभ दीपावलीको अवसरमा हाचीको जापानी भाषा तथा संस्कृति केन्द्र, बनेपाको आयोजनामा देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । हाचिको परिवारले बनेपाको चारदोवाटो, गोदामचोक, बसपार्क, नाला दोवाटो, विद्युत्त प्राधिकरण अगाडी, तीनधारा हुँदै बनेपाको रेडक्रस पोखरी अगाडी गणेस्थानचोकमा आएर देउसी भैलो कार्यक्रम समापन गरेको हो । 
    नेपाली मौलिक संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले देउसी–भैलोसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममार्फत विद्यार्थीहरूमा सामाजिक जिम्मेवारी, अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको संस्थाका प्रिन्सिपल आशिष लामाले बताए । 
    हाचीकोले जापानी भाषा तथा विभिन्न सीप विकाससम्बन्धी तालिम प्रदान गर्नुका साथै विद्यार्थीलाई मौलिक संस्कार, संस्कृति र नैतिक मूल्य–मान्यतासहितको शिक्षा प्रदान गर्दै आएको सन्देश कार्यक्रमले दिएको छ । कार्यक्रम सफल बनाउन विद्यार्थी, हाचीको परिवारका सदस्य, स्थानीय समुदाय, व्यवसायी, शुभचिन्तक तथा विभिन्न व्यक्तित्वहरूको महत्वपूर्ण सहयोग रहेको केन्द्रले जनाएको छ । केन्द्रले शिक्षा पाठ्यपुस्तकको ज्ञान र व्यावसायिक सीपमा मात्र सीमित नभई आफ्नो संस्कार, संस्कृति, सामाजिक जिम्मेवारी र मानवीय मूल्य–मान्यतालाई आत्मसात् गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको जनाएको छ । आगामी दिनमा पनि नेपाली मौलिक पहिचानको संरक्षण गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने रचनात्मक तथा उदाहरणीय कार्यक्रमलाई निरन्तरता दिने हाचीको परिवारले प्रतिबद्धता व्यक्त गरेको छ ।