2026 October 17/ 05:39: 49am

तीन वर्षमा १४ सय रोपनीको गाँजा नष्ट, लागु औषध सम्वन्धी मुद्दा बढोत्तरी 
     धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अवैध लागूपदार्थ नियन्त्रण तथा गाँजा खेती फँडानी अभियानलाई तीव्र पारेको छ । कार्यालयले सार्वजनिक गरेको तीन वर्षे विवरण अनुसार जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा लगाइएका सयौँ रोपनी अवैध गाँजा खेती नष्ट गर्न प्रहरी टोली निरन्तर सक्रिय छ ।  
    प्रहरी उपरीक्षक रबिन कार्कीद्वारा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १६९ पटक सञ्चालित अभियानमा ९११ जना प्रहरी परिचालन गरी ४४५ रोपनी क्षेत्रफलमा फैलिएको २ लाख ७३ हजार ८९२ वटा गाँजाका बोट नष्ट गरिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०८१÷०८२ मा ३०६ जना प्रहरी टोलीले ३८ पटक अभियान चलाएर १५२ रोपनी जग्गाको ७८ हजार ८९४ वटा बोट फँडानी गरेको थियो । 
    गत आर्थिक वर्ष २०८२÷०८३ मा भने गाँजा खेती नष्ट गर्ने क्रम थप बढेको छ । उक्त वर्ष ७७९ जना प्रहरी जवान तथा अधिकृतहरू १५१ पटक परिचालन भई ५१७ रोपनी क्षेत्रफलमा लगाइएको ३ लाख ८० हजार ६१ वटा गाँजाका बोट फँडानी गरेका थिए । चालु आर्थिक वर्ष २०८३÷०८४ को हालसम्मको अवधिमा मात्रै ५०७ जना प्रहरी परिचालन गरी ९६ पटक अभियान चलाइ सकिएको छ ।  यस क्रममा ३६१ रोपनी जग्गामा फैलिएको २ लाख ७७ हजार ९७४ वटा गाँजाका बोट फँडानी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रशासनले लागूपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि ’हटस्पट’ पहिचान गर्ने, प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र जनचेतना फैलाउने रणनीति अपनाइएको बताएको छ । साथै, लागूपदार्थ सम्बन्धी दर्ता भएका मुद्दाहरू फर्छयौट भई पेन्डिङ नरहेको प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए । 
    गाँजा फडानीसँगै प्रहरीले लागू औषध नियन्त्रण, रोकथामलाई प्राथमिकता राखेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० वटा, आर्थिक वर्ष २०८१/०८२ मा ६ वटा, आर्थिक वर्ष २०८२/०८३ मा ३६ वटा र चालु आर्थिक वर्ष २०८३/०८४ को हालसम्म ६ वटा मुद्दा दर्ता भएका छन् । उत्पादन र तथा सञ्चय गरेको अभियोगमा आ.व. २०८०/०८१ मा कुनै मुद्दा दर्ता भएन । आ.व. २०८१/०८२ मा ३ वटा, आ.व. २०८२÷०८३ मा ३ वटा र चालु आ.व.मा १ वटा मुद्दा दर्ता भएको छ । कारोबार, ओसारपसार र बिक्री वितरण अभियोगमा आ.व. २०८०/०८१ मा २ वटा, आ.व. २०८१/०८२ मा २ वटा, आ.व. २०८२/०८३ मा ११ वटा र चालु आ.व. मा २ वटा मुद्दा दर्ता भएका छन् ।