2026 September 11/ 06:00: 44pm

    बनेपा/बनेपास्थित बेलर इन्टरनेशनल स्कुलद्वारा सञ्चालित मण्टेस्वरी किन्डरगार्डेन ‘किड्स क्यास्टल’ले बाल दिवसको पूर्वसन्ध्यामा बाल पूजा आयोजना गरी बाल दिवस मनाएको छ ।
    भाद्र २९ गते बाल दिवसका दिन हरितालिका तीजसमेत परेकाले त्यसको पूर्वसन्ध्यामा बाल पूजा आयोजना गरिएको हो । विद्यालयका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किड्स क्यास्टलकी प्रिन्सिपल सविना के. प्रजापतिले विगत १३ वर्षदेखि बाल दिवस तथा बनेपामा मनाइने कन्या पूजाको अवसर पारेर बाल पूजा आयोजना गर्दै आएको बताइन् ।
    पूजामा बालक तथा बालिकालाई संयुक्त रूपमा विद्यालयले पूजा गर्ने र अभिभावकले मायाको चिनोस्वरूप विभिन्न प्रकारका उपहार प्रदान गर्ने गरिएको उनले बताइन्। कार्यक्रममा नर्सरीदेखि यूकेजीसम्मका २ सय १० तथा कक्षा १ देखि ५ सम्मका २ सय ७५ गरी कुल ४ सय ८५ जना बालबालिकाको पूजा गरिएको थियो । सबै बालबालिकाका अभिभावक आफ्ना सन्तानसहित अन्य बालबालिकाका लागि समेत उपहार लिएर विद्यालय पुगेका थिए ।
    कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको मौलिक संस्कृति, परम्परा र संस्कारलाई निरन्तरता दिनुका साथै यसको संरक्षण तथा प्रवद्र्धनका लागि विद्यालयले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताए । विद्यालयका अध्यक्ष भोला थापाले बालबालिकालाई शिक्षासँगै संस्कार र संस्कृतिका बारेमा अभ्यस्त गराउन विद्यालयले परम्परासँग जोडिएका विभिन्न कार्यक्रम निरन्तर आयोजना गर्दै आएको बताए । कार्यक्रममा बेलर स्कुलकी प्रिन्सिपल इन्दु थापा, विभागीय प्रमुखहरू, विभिन्न क्षेत्रका व्यक्तित्व तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रम शिक्षिका सविना दाहाल गंगाईले सञ्चालन गरेकी थिइन् ।