धुलिखेल/श्रीकृष्ण जन्माष्टमीको अवसरमा धुलिखेल नगरपालिका–४ स्थित बखुण्डोल बुद्ध पार्कमा कृष्ण रथयात्रासहित कन्यापूजा आयोजना गरिएको छ । कार्यक्रममा चार सयभन्दा बढी कन्याको पूजा गरिएको थियो भने एक सयभन्दा बढी भक्तजनले कन्याहरुलाई पुजा गरेका थिए ।
धुलिखेल नगरपालिका–४ को संयोजनमा आयोजित कार्यक्रममा स्थानीय संघ–संस्था तथा समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले संस्कार, चाडपर्व तथा रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताए । अध्यक्ष तिमल्सिनाका अनुसार कृष्णाष्टमीको अवसरमा राधाकृष्णको पूजा–आराधना, कृष्ण रथयात्रा तथा कन्यापूजा आयोजना गरिएको हो । वडा कार्यालय परिसरस्थित बुद्ध पार्कबाट सुरु भएको रथयात्रा काठमाडौं विश्वविद्यालयको गेट हुँदै स्वास्थ्य चौकी र पानीट्याङ्कीसम्म पुगेपछि पुनः बुद्ध पार्कमा आएर समापन भएको थियो। रथयात्रामा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
बखुण्डोल बुद्ध पार्कमा ल्होछार कार्यक्रमसमेत भव्य रूपमा मनाउँदै आएको छ । कृष्णाष्टमीका अवसरमा राधाकृष्ण पूजा, कन्यापूजा र रथयात्रा आयोजना गर्न थालेको केही वर्ष भएको छ । कन्यापूजा आयोजना गर्ने परम्पराको सुरुवातसमेत वडा अध्यक्ष तिमल्सिनाले गरेका थिए । कार्यक्रममा कन्याहरुलाई विभिन्न परिकारसहित पूजा गरिएको थियो । बखुण्डोल बुद्ध पार्कमा बुद्ध, राधा र कृष्णका प्रतिमा स्थापना गर्नुको उद्देश्य पार्कको संरक्षणसँगै धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नु रहेको बखुण्डोल बुद्ध पार्क व्यवस्थापन समितिले जानकारी दिएको छ । समिति अध्यक्ष सत्यमान लामाले कोभिड–१९ महामारीका समयमा २०७७ सालमा धुलिखेल नगरपालिका, वडा कार्यालय, स्थानीय संघ–संस्था तथा समुदायको सहकार्यमा पार्कमा एकातर्फ बुद्धको प्रतिमा र अर्कोतर्फ राधाकृष्णको प्रतिमा स्थापना गरिएको बताए ।
पार्कमा माघ महिनामा ल्होछार तथा भदौ महिनामा कृष्ण जन्माष्टमी मनाउने गरी करिब छ–छ महिनाको अन्तरमा विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गर्ने परिकल्पना गरिएको वडा अध्यक्ष तिमल्सिनाले बताए । यसबाट पार्कको संरक्षणसँगै विभिन्न समुदायका संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुने विश्वास रहेको उनको भनाइ छ । देश शोकमा रहेको अवस्थामा रसुवाको त्रिशूलीमा भएको बाढी तथा दुर्घटनाका कारण ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै पनि कृष्ण जन्माष्टमी तथा कन्यापूजा कार्यक्रम सम्पन्न गरिएको व्यवस्थापन समितिले जनाएको छ । समितिले रसुवा–त्रिशूलीमा भएको घटनामा मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बुद्धको शान्ति, कृष्णको प्रेम र ल्होछारको सांस्कृतिक पहिचानले समाजमा सधैं सद्भाव, सहिष्णुता र एकता कायम राख्नु पर्ने ब्यवस्थापन समिति अध्यक्ष लामाले बताए ।









