धुलिखेल/अपाङ्गता भएका व्यक्तिलाई समाजले बारम्बार ‘विशेष क्षमता भएका व्यक्ति’ भनेर सम्बोधन गर्ने गरेकोप्रति मेरुदण्ड पक्षघात संघ काभ्रेका महेश्वर थापाले प्रश्न उठाएका छन् ।
अपाङ्गता हुनु कमजोरी नभएको भन्दै उनले अपाङ्गता भएकै कारण व्यक्तिलाई छुट्टै ‘विशेष’ पहिचान दिनुभन्दा समान अधिकार, अवसर, पहुँच र सहभागितामा जोड दिनुपर्ने बताएका छन् । थापाले प्रत्येक व्यक्तिमा आफ्नै क्षमता, प्रतिभा, सीप र सम्भावना हुने भएकाले अपाङ्गता भएका व्यक्तिलाई ‘विशेष क्षमता’ भनेर अलग रूपमा सम्बोधन गर्नुभन्दा समान व्यवहार र अवसर सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘हामीलाई विशेष व्यवहार होइन, समान अधिकार चाहिन्छ । हामीलाई दया होइन, समान अवसर चाहिन्छ । सहानुभूति होइन, सहभागिता र सम्मान चाहिन्छ’– थापाले भनेका छन् । उनका अनुसार खेलकुद, शिक्षा, रोजगारी, सामाजिक जीवन तथा मनोरञ्जनलगायतका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले अन्य नागरिकसरह समान अवसर र पहुँच प्राप्त गर्नुपर्छ । त्यसका लागि समाजको सोचसँगै संरचना, नीति र व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिको दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै अधिकारमा आधारित समावेशितालाई व्यवहारमा लागू गर्नुपर्ने थापाको जोड छ । पहुँचयुक्त भौतिक संरचना, सेवा तथा अवसरको सुनिश्चितताले अपाङ्गता भएका व्यक्तिलाई समाजको मूलधारमा समान रूपमा सहभागी गराउन सहयोग पुग्ने उनले बताएका छन् । ‘अब शब्द मात्र होइन, सोच पनि बदलौँ । ‘विशेष क्षमता’ भनेर अलग नबनाऔँ। समान अधिकार, अवसर र पहुँचयुक्त समावेशिता दिएर सक्षम बनाऔँ’– थापाले आग्रह गरेका छन् । उनले ‘समावेशिता दया होइन—अधिकार हो, समान अवसर उपकार होइन-अधिकार हो’ भन्ने सन्देशसहित अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरेका छन् । – मेरुदण्ड पक्षघात संघ काभ्रे









