2026 August 28/ 11:27: 59pm

        शंखु/धुलिखेल नगरपालिका वडा नम्बर १२ मा वडा कार्यालयले गरिरहेको सेवा प्रवाह र विकास निर्माण कार्यको समिक्षा गरिएको छ । 
        वडा अध्यक्ष मोहनप्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्क तामाङ, कार्यपालिका सदस्य कमला काफ्ले वडा सदस्य विभा रम्तेल, रमेश तामाङ, वडा सचिव सुनिता शर्मा, विद्यालयका प्रधानाध्यापक, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना मदानी बिट अनलाईनका सह–सम्पादक विकास तिमल्सिना लगायत वडावासीको उपस्थिती रहेको थियो । 
          कार्यक्रममा वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, महिला तथा बालबालिका सशक्तीकरण, जेष्ठ नागरिक कल्याण, युवा लक्षित कार्यक्रम, धार्मिक तथा सांस्कृतिक संरक्षण, दलित उत्थान तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । वडा कार्यालयले शुसासन, पारदर्शिता, मितव्ययिता र झण्झट रहित सेवालाई प्राथमिकता दिएको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले नागरिकमैत्री, छिटो र प्रभावकारी सेवाका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले विकास निर्माणका कार्य गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिएर काम गरिरहेको र निरन्तर अनुगमन भइरहेको बताए । वडा अध्यक्ष लामिछानेले समग्र विकास निर्माणका काम बारे जानकारी गराएका थिए । उनका अनुसार सडक तथा यातायात पहुँच विस्तारअन्तर्गत २ हजार १६६ मिटर भन्दा बढी सडक ढलान गरिएको छ । १ हजार ६४ मिटर पक्की नाला (ड्रेन) निर्माण गरिएको छ । ३ दशमलव ५ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ५ सय मिटर सडक स्तरोन्नति तथा नयाँ ट्रयाक निर्माण गरिएको छ । आवश्यक स्थानहरूमा सिँढी निर्माण, सडक बत्ती जडान गरी उज्याला र व्यवस्थित सडक बनाइएको छ । प्रत्येक महिना सुगर, पीपी तथा फास्टिङ परीक्षण सेवा सञ्चालन गरिएको छ । बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको छ । धुलिखेल–१२ मा करिब ७० प्रतिशत कृषि योग्य भूभागमा ८१ प्रतिशत वडावासीले कृषि पेशा अंगालेका छन् । सुन्तला, आलु, दुधको पकेट क्षेत्रको रुपमा परिचित यो क्षेत्रबाट हरेक वर्ष करिब ५ करोड बराबरको सुन्तला तथा ३ करोड जतिको आलु बिक्रि वितरण हुने गरेको छ । दैनिक २०००–२५०० लि. दुध उत्पादन गर्ने यस क्षेत्रका कृषकहरूले आलु, धान, गहँु, कोदो, मकै, फापर पनि उत्तिकै मात्रामा उत्पादन गर्दै आर्थिक अवस्थामा सुधार गरेको पाइन्छ । 
          कृषि आधुनिकीकरण तथा किसानको आयवृद्धिका लागि बगैँचा सुधार, एक घर एक टनेल कार्यक्रमअन्तर्गत टनेल वितरण , कृषि यान्त्रीकरण, पशुपालन प्रवद्र्धनका लागि बाख्रा पाठी, उन्नत जातका बोका र पाडो वितरण गरिएको छ । माटो परीक्षण तालिममा कृषकलाई सहभागी गराइएको छ । माटो सुधारका लागि चुना, निलोतुथो, फलफूल तथा तरकारीका बिरुवा र बीउ वितरण गरिएको छ । दूधमा अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । प्रत्येक वर्ष पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लम्पी लगायत खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । पशुविमा कार्यक्रम, कृषक अवलोकन भ्रमण तथा आलु सुपरजोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमलाई प्राथमिकता दिई विभिन्न क्षेत्रमा खानेपानी धारा निर्माण गरिएको छ । साविक वडा नं। ६ र ७ का २४० घरधुरीमा धारा निर्माण गरिएको छ । पिप्ले क्षेत्रमा १५० घर, एक्लेखेत–शंखेश्वरी क्षेत्रमा १८५ घर तथा छाप क्षेत्रमा ६४ घरमा एक घर एक धारा निर्माण गरिएको छ । 
        महिला सशक्तीकरण तथा सीप विकासका लागि वडा कार्यालयले क्षमता विकासका काम गरिरहेको कार्यपालिका सदस्य कमला काफ्लेले बताइन् । उनका अनुसार अचार बनाउने तालिम, डल तथा ब्याग बनाउने तालिम, क्रिस्टल माला बनाउने तालिम, सिलाइ–कटाइ–बुनाइ तालिम सञ्चालन गरिएको छ । ८ जनालाई सिलाइ मेसिन वितरण गरिएको छ । एडभान्स तालिमसहित थप ८ जनालाई सिलाइ मेसिन वितरण गरिएको छ । मखमलको जुत्ता बनाउने तालिमसमेत सञ्चालन गरिएको छ । जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । यात्रु प्रतीक्षालय ३ वटा निर्माण गरिएको छ । युवालाई लक्षित गरी ड्राइभिङ सिकाइ, जिम सामग्री वितरण, योग अभ्यास, बारिस्ता तथा होटल कुक तालिम सञ्चालन गरिएको छ । सडकमा रहेका बेवारिसे तथा अलपत्र मानवहरूको उद्धार गरी मानव कल्याण आश्रममा राख्ने व्यवस्था मिलाइएको छ । जनप्रंतिनिधिको योजना, स्थानीयको माग अनुसार छिटो, प्रविधिमैत्री र पारदर्शि रुपमा सेवा प्रवाह गरिरहेको वडा सचिव सुनिता शर्माले बताइन् ।