धुलिखेल/आन्तरिक राजस्व कार्यालय, काभ्रेले आर्थिक वर्ष २०८२÷०८३ मा वार्षिक राजस्व लक्ष्यको ७२.२७ प्रतिशत मात्र संकलन गरेको छ ।
कार्यालयका अनुसार वार्षिक ६ अर्ब १५ करोड ३३ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ४ अर्ब ४४ करोड ७१ लाख ८ हजार रुपैयाँ संकलन भएको हो । धुलिखेल अन्र्तगत रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला पनि पर्छन । २०८३ असार महिनामा मात्रै १ अर्ब २८ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ८७ करोड ८६ लाख ४ हजार रुपैयाँ संकलन भएको छ, जुन मासिक लक्ष्यको ६८.४७ प्रतिशत हो । आन्तरिक राजश्व कार्यालय धुलिखेलले आयकर शीर्षकमा वार्षिक ३ अर्ब ४ करोड ६१ लाख ४२ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब २३ करोड ७८ लाख २७ हजार रुपैयाँ संकलन भई ७३.४६ प्रतिशत प्रगति गरेको छ ।
ब्याज करतर्फ १ अर्ब ९० करोड ९६ लाख १ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ४५ करोड १२ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ७६ प्रतिशत उपलब्धि हो । घरबहाल करतर्फ भने अपेक्षाकृत कमजोर देखिएको छ । घरबहाल स्थानीय सरकारले संकलन गरेकाले आन्तरिक राजश्व कार्यालयमा कम देखिएको हो । आर्थिक वर्ष २०८३÷०८४ मा आयकर, मू.अ.कर, अन्तशुल्क लगायतमा विगत वर्षहरुमा दाखिला गर्नुपर्ने बक्यौतामा छुट सुविधाको कारण राजस्व उल्लेख्य बढ्ने अपेक्षा छ । विगत वर्षहरुमा विभिन्न कारणहरुबाट सिर्जना भएको बक्यौतामा ब्यापक छुट सुविधा आर्थिक विधेयक २०८३ ले ल्याएको हुँदा करदाताहरुको उल्लेख्य सहभागिता भई राजस्व संकलनमा उल्लेख्य सुधार हुने अपेक्षा आन्तरिक राजश्व कार्यालयले लिएको छ ।









