बनेपा/रोटरी ई क्लब नमोबुद्ध ३२९२ ले तेस्रो स्थापना दिवस मनाएको छ । कार्यक्रममा निर्देशिका विमोचन तथा विभिन्न ब्यक्तिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला गभर्नर मनोनीत अमित गिरी रहेका थिए । कार्यक्रममा क्लबको नयाँ निर्देशिका विमोचन गरिएको थियो । उक्त निर्देशिकामा क्लबका गतिविधि, उद्देश्य, पदाधिकारी, सदस्य तथा आगामी योजनाबारे जानकारी समेटेको छ । अतिथिहरूले निर्देशिका विमोचन गर्दै रोटरीले समाजमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा र्पुयाउँदै आएको योगदान प्रसंसा गरेका थिए ।
उक्त अवसरमा सञ्चालन गरिएका विभिन्न सामाजिक परियोजनाका सहयोगी संस्था, रोटरीका सञ्चालक प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि अमित गिरीले रोटरीको मूल मन्त्र लाई आत्मसात गर्दै समुदायमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने कार्यमा सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । क्लबका सदस्य सचिव दिनेश मानन्धरले रोटरीका सामाजिक अभियानहरू समुदायका लागि प्रेरणादायी रहेको बताए ।कार्यक्रमका सभापति तथा अध्यक्ष शोभा नर्कर्मीले गत वर्षका उपलब्धि, आगामी कार्ययोजना तथा सामाजिक उत्तरदायित्वका बारे बताएकी थिईन् । नर्कर्मीले रोटरीको सेवा भावना, नेतृत्व विकास र सामाजिक परिवर्तनका अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।
कार्यक्रममा सचिब टासीलाम डोल्माले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, रोटरीकर्मी तथा सामाजिक ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









