बनेपा/सनातन कन्या पूजा प्रबन्ध समिति बनेपाले यसवर्ष पनि ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बृहत् कन्या पूजा गर्ने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी २०८३ भदौ १९ गते शुक्रबार कन्या पूजा गरिने समितिले जनाएको छ । समितिका अनुसार कन्या पूजाको सुरुवात वि.सं. १९५९ अर्थात् करिब १२४ वर्षअघि देवदेवतालाई मात्र पूजा गरेर पुण्य कमाउदैनन् कन्यालाई पनि पूजा गर्नुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक विश्वासबाट भएको हो । सुरुवाती समयमा १० जना कन्यालाई घरको एउटा बुईगेलबाट पूजा गरी पछि कन्याहरु बढ्दै गएपछि घर साँघुरो भई बनेपा बजारमा आई गर्दै आएको कन्या पूजा आज बनेपाको विशिष्ट साँस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ ।
कृष्ण जन्माष्टमीका दिन बनेपामा आयोजना हुने कन्या पूजामा ठूलो संख्यामा भक्तजन तथा कन्याहरू सहभागी हुने गरेका छन् । विगतका वर्ष ८ हजारभन्दा बढी कन्या सहभागी हुँदै आएका छन् । पूजाको विशेषता भनेको जात, वर्ग वा समुदायको भेदभाव नगरी सहभागी कन्यालाई समान रूपमा पूजा गरिनु हो । कन्यालाई श्रद्धा र सम्मानका साथ पूजा गरी प्रसाद तथा दक्षिणा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
समितिले कन्या पूजामा सहभागी हुने सबै भक्तजनलाई श्रद्धापूर्वक उपस्थित भई धार्मिक तथा सांस्कृतिक कार्यमा सहयोग गर्न आग्रह गरेको छ । समितिले कन्या पूजालाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई बनेपाको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्ने महत्वपूर्ण पर्वका रूपमा समेत लिएको जनाएको छ । बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको यस परम्पराले स्थानीय कला, संस्कृति र सामाजिक एकताको भावनालाई समेत बलियो बनाउँदै आएको छ । समितिका अनुसार यस वर्षको कन्या पूजा बिहान १० बजेबाट सुरु हुनेछ । पूजा कार्यक्रम बनेपा भोलाखाँटोलस्थित गणेशस्थानबाट शुभारम्भ गरिनेछ। त्यस अवसरमा भक्तजन तथा श्रद्धालुहरूलाई उपस्थित भई कन्याको पूजा तथा सम्मानमार्फत पुण्य कमाउन र ऐतिहासिक संस्कृतिको संरक्षणमा सहभागी हुन समितिले अनुरोध गरेको छ । समितिले कन्या पूजालाई व्यवस्थित, मर्यादित र सहज बनाउन भक्तजन, अभिभावक तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको जनाएको छ । ऐतिहासिक बनेपाको सांस्कृतिक सम्पदाका रूपमा विकसित हुँदै आएको कन्या पूजालाई आगामी पुस्तासम्म निरन्तरता दिन सबै पक्षको साझा भूमिका आवश्यक रहेको समितिको भनाइ छ ।
बनेपामा कृष्ण जन्माष्टमीका अवसरमा हुने कन्या पूजा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावको संगमका रूपमा परिचित छ । यस वर्ष पनि हजारौँ भक्तजन तथा कन्याको सहभागितामा पूजा भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।









